झापा, दमकमा अनलायन गेमिङमार्फत नेपालमा प्रतिबन्धित 'वान एक्सबेट' एपद्वारा पैसाको हारजित हुने खेल खेल्ने र खेलाउने चार जना पक्राउ परेका छन्। दमकको एक कल्सलटेन्सी सञ्चालकहरूसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार सार्वजानिक गरेको हो।
प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरूलाई सात दिन निगरानी गरी प्रमाणका आधारमा पक्राउ गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ पर्नेमा दमक–८ मा रहेको पद्मा इन्टरनेसनल कन्सलटेन्सीका सञ्चालक स्थानीय २५ वर्षीय सतप्रकाश साह र दमक नगरपालिका–७ का २७ वर्षीय राजु श्रेष्ठ छन्। साहको अनलाइन भुक्तानी प्रदायक एकाउन्टबाट ८० लाख रूपैयाँ कारोबार भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने अरू दुई जना- योर्स कम्युनिकेसन एन्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउँपालिका–२ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर, दमकका सञ्चालक दमक–८ बस्ने ३३ वर्षीय राजु लिम्बू रहेको प्रहरीले जनाएको छ।
गोप्य सूचनाका आधारमा एक नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरको आरआइटी समूह, जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले उनीहरूलाई भदौ ३ गते दमकबाट पक्राउ गरेको हो।
पकाउ पछि प्रहरीले प्रतिबन्धित खेलबारे अनुसन्धान गरेको थियो।
'हाम्रो अनुसन्धान र थप प्रमाण जुटेपछि पक्राउ परेका सबैलाई सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हौं,' जिल्ला प्रहरी कार्यालय, झापाका डिएसपी बसन्त पाठकले भने।
पक्राउ परेको यो समूहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रूपमा अनलाइन गेमिङमार्फत प्रतिबन्धित वान एक्सवेट एपद्वारा पैसाको हारजित हुने गरी खेल खेलाएको प्रहरीको आरोप छ। उनीहरूले अनधिकृत रूपमा अन्य व्यक्तिको नागरिकताबाट सिमकार्ड झिक्ने र सोही सिमबाट सट्टाबाजीका लागि चाहिने रकम प्राप्त गर्न अनलाइन भुक्तानी सेवामार्फत् कारोबार गरेको प्रहरीले जनाएको छ।
पद्मा इन्टरनेसनल कन्सलटेन्सीमा आउने विद्यार्थीका लागि आवश्यक कागजातमा विभिन्न सरकारी कार्यालयको छाप, जनप्रतिनिधिको छाप, सरकारी कार्यालयको नक्कली लेटरप्याड र एसइईको प्राप्तांक समेत परिवर्तन गर्ने गरेको पनि अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले प्रयोगमा ल्याइएका २७९ थान, प्रयोग नभएका ४५ थान सिम, १९ थान मोबाइल र चार वटा ल्यापटप बरामद गरेको छ। यसका साथै अंग्रेजीमा 'प्रजापति सापकोटा, वार्ड चेयरमेन, दमक-२' लेखिएको छाप १ थान, 'हेडटिचर' लेखिएको छाप १ थान, डिकबहादुर गुरुङ लेखिएको छाप १ थान बरामद गरेको छ।
यस्तै 'संखुवासभा, मादि नगरपालिका वडा नम्बर-३' भनेर अंग्रेजीमा लेखिएको छाप, 'नेपाल सरकार, शिक्षा मन्त्रालय' लेखिएको, नेपालको निशानछाप, 'नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड' लेखिएको, 'ग्लोबल एजुकेसन एकेडेमी' लेखिएको र 'नेपाल आर्मी रेकर्ड अफिस-२०४३' लेखिएको छाप पनि एक/एक थान बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेको यो समूहलाई मुलुकी अपराध संहिता-२०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय, झापा र जिल्ला अदालत, झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ।