महाकवि लक्ष्मीप्रसाद देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो। त्यही मिति लक्षित गर्दै मैतिदेवीस्थित लक्ष्मीप्रसाद देवकोटा निवास (कविकुञ्ज) उद्घाटनको तयारी हुँदैछ।
गत वर्ष संग्रहालय बनाउने नाममा नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा अचानक उनको पुरानो घर भत्काइँदा विवाद र आलोचना आएको थियो। संग्रहालय बनाउने नाममा प्रतिष्ठानले संग्रहालयजत्तिकै बहुमूल्य घर भत्काएको भन्दै धेरैले 'देवकोटा बित्दाजत्तिकै पीडा भएको' महसुस गरेको भनेका थिए।
त्यस बेला भवन भत्काउँदा जतिले आलोचना र गाली गरे, अब भवनको स्वरूप पहिलेजस्तै आएकाले यो पटक ताली बजाउने र प्रशंसा गर्ने प्रतिष्ठानको दाबी छ।
'हामीले बनाएको घरले पुरानो घरको मर्म बोकेको छ। यो घर देखेपछि साहित्यलाई माया गर्ने सबै खुसी हुनेछन्,' प्रतिष्ठानका सचिव जगतप्रसाद उपाध्यायले भने, 'पहिले चित्त दुखाउनेहरूलाई पनि अब गुनासो गर्ने ठाउँ रहला जस्तो लाग्दैन।'
प्रतिष्ठानका उपकुलपति जगमान गुरुङका अनुसार मैतिदेवीको घर देवकोटाले १९९० सालमा किनेका थिए। उनी जन्मेको घर भने पुतलीसडकस्थित हालको कुमारी हलनजिकै छ।
पशुपतिको महास्नान गुठीको नाममा रहेको जग्गामा मोहीको हक पाएपछि देवकोटाले यहाँ घर बनाएका हुन्। यही घरमा उनले आफ्ना लेखनका सिर्जनशील वर्षहरू बिताएका थिए।
१६ वर्षअघिसम्म त्यहाँ देवकोटाको परिवार बस्दै आएका थिए। यसलाई प्रतिष्ठानले दुई करोड ५० लाख रूपैयाँमा किनेर मोहियानी हक आफूमा ल्याएको हो। हक आफ्नो भएपछि प्रतिष्ठानले कामको सुरूआत नै भवन भत्काएर गर्यो।
यो भवन भ्रमण गरेर सबलीकरणको सम्भावना भएको सल्लाह दिएर आएका विज्ञहरूसमेत यो घर भत्किँदा आश्चर्यमा परेका थिए। संस्कृति संरक्षणकर्मी एवं पुराना भवनहरू संरक्षण गर्दै आएका रवीन्द्र पुरीले भवन भत्किनुभन्दा करिब डेढ वर्षअघि प्रतिष्ठानका प्राज्ञहरूलाई सबलीकरण गर्ने सल्लाह दिएका थिए।
एकाएक घर भत्किएको खबर थाहा पाएपछि उनले आश्चर्य र आक्रोशको भावमा सेतोपाटीसँग भनेका थिए, 'करिब ८० वर्ष पुरानो देवकोटाको त्यो घर अलिकति पनि यताउता नभएको मलाई सम्झना छ। बांगोटिंगोसमेत थिएन। डकर्मीको भाषामा भन्दा घन्टीसमेत मिल्ने (९० डिग्री) अवस्थामा थियो।'
१२ आना एक दाम क्षेत्रफलमा फैलिएको यो घरमा जहाँ पाइला टेक्यो त्यहीँ भासिने अवस्था आएको र सबलीकरणको सम्भावना नदेखेपछि भत्काउन परेको प्रतिष्ठानका सचिव उपाध्याय बताउँछन्।
'उहाँहरूले सबलीकरण गरेर बनाउँछु त भन्नुभएको थियो तर नेपाल सरकारको सार्वजनिक खरिद ऐन नियमावली र आर्थिक कार्यविधि हेर्दाखेरि कसैलाई सिधै तोकेर दिने स्थिति रहेन। टेन्डर प्रक्रियाबाट प्रतिस्पर्धामा जानैपर्ने अवस्था थियो,' उनले भने।
संग्रहालय बनाउने नाममा भवन भत्काएपछि प्रतिष्ठानलाई मुद्दा परेको थियो। सर्वोच्च अदालतले गत असोज १४ गते पत्रचार गर्दै प्रतिष्ठानलाई भनेको थियो, 'महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर 'कविकुञ्ज' को पुरानो फोटोको आधारमा भुइँतलासहित तीनतले पाखे-छाने मौलिक वास्तुशैलीमा परम्परागत निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गर्न/गराउनु हुन विभागीय निर्णयानुसार अनुरोध गरिन्छ।'
त्यहीअनुसार निर्माण गर्ने सहमतिमा यो घर प्रतिष्ठानले बनाउने अनुमति पाएको थियो।
हामीले बाहिरबाट झट्ट हेर्दा कविकुञ्जको पुरानै स्वरूपमा यो घर निर्माण भएको देखिन्छ। भुइँतलासहितको तीनतले छानेशैलीमा बनेको यो घर बिकोएमके जेभी निर्माण कम्पनीले करिब सात करोड ११ लाख रूपैयाँमा बनाइरहेको छ।
भवन निर्माणको काम सकिएपछि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयका रूपमा कविकुञ्ज सर्वसाधारणको पहुँचमा पुग्ने प्रतिष्ठानले बताएको छ। यो भवनलाई संग्रहालयका रूपमा कसरी सर्वसाधारणसम्म पुर्याउने भन्नेमा प्रतिष्ठानले अवधारणा पनि बनाएको छ।
घरको ठ्याक्कैअगाडि देवकोटाको पूर्ण कदको शालिक राखिनेछ। यसका लागि प्रतिष्ठानले मूर्तिकारलाई जिम्मेवारी दिइसक्यो। अहिले यहाँ मूर्ति अड्याउन तयारी अवस्थामा रहेको फलामे डन्डी देख्न सकिन्छ। देवकोटा प्रकृतिप्रेमी भएकाले रूख–बिरूवासहितको बगैंचा अनि पानीको छाँगोजस्तो बनाउने तयारी हुँदैछ।
देवकोटालाई सरस्वतीको प्रतीक मान्दै संग्रहालयको भुइँतलामा सरस्वतीको प्रतिमा हुनेछ। यो तलामा श्रव्यदृश्य सामग्री राख्ने योजना छ। प्रतिष्ठानका अनुसार यी सामग्री देवकोटाबारे हुनेछन्।
भारतको दिल्लीको एक भेलामा देवकोटाले बसेर 'पागल' कविता वाचन गरिरहेको फोटो भेटेपछि प्रतिष्ठानले दुरुस्तै देखिने शालिक पनि बनाउन लगाएको छ। त्यसलाई भुइँतलाको श्रव्यदृश्य कक्षमा राख्ने वा दोस्रो तलाको पाण्डुलिपि कक्षमा राख्ने भन्नेबारे भने अझै अन्योल भएको सचिव उपाध्याय बताउँछन्। यही तलामा आगन्तुकहरूले रिसेप्सन र प्रतिक्षालय भेट्नेछन्।
पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका भाँडाकुँडाहरू, लगाएका लुगाहरू र अन्य सामग्रीहरू राखिनेछन्। भवन निर्माणक्रममा यहाँ जाँतो भेटिएको थियो। त्यसलाई पनि यहीँ राखिनेछ।
त्यसमाथिको तलामा देवकोटाले आफ्नो जीवनकालमा लेखेका कविता, खण्डकाव्य, समालोचना, भूमिका, अनुवाद लगायत जति पनि सामग्री छन्, ती राखिनेछन्। त्यसबाहेक उनका प्रकाशित–अप्रकाशित कृतिका पाण्डुलिपि पनि त्यहाँ हुनेछन्।
'देवकोटा जहाँ जानुहुन्थ्यो, जे फेला पार्नुहुन्थ्यो त्यसैमा लेखिहाल्नुहुन्थ्यो। केही नभेटे चुरोटको खोलमा पनि लेख्ने उहाँको स्वभाव थियो,' प्रतिष्ठानका सचिव उपाध्यायले भने, 'उहाँले लेख्नुभएका सामग्री संकलनका निम्ति उहाँका नातागोता, परिवारका साथसाथै साथीभाइ जोसँग छन्, हामीलाई उपलब्ध गराइदिन सूचना पनि जारी गरिसकेका छौं।'
त्यसबाहेक यो तलामा देवकोटा बारेमा भएका अनुसन्धान र थेसिस सामग्री राखिनेछन्।
तेस्रो तला बुइँगल भएकाले त्यहाँ करिब बीस/तीस जना मान्छे अट्ने ठाउँ छ। त्यसलाई प्रवचन वा अन्तर्क्रिया कक्ष बनाउने उपाध्याय बताउँछन्। उनका अनुसार यो भवन निर्माण गर्दा भक्तपुरे इँटा, सुर्खी, चुना र काठ प्रयोग भएको छ।
सर्वोच्चको अन्तरिम आदेशअनुसार भवन बनाउँदा प्रयोग गर्न मिल्ने इँटा र झ्याल राख्न भनिएको थियो। भवनमा कतैकतै पहिले भएका भवनका पुराना झ्यालहरू पनि देख्न सकिन्छ। पहिलेको भवनमा प्रयोग भएको इँटा भने काँचो भएकाले त्यति धेरै प्रयोग गर्न नसकिएको उपाध्यायले बताए।
भवनको बाहिरी मोहडामा मौलिकता देखिए पनि भित्री संरचनामा भरपुर आधुनिकीकरण भएको छ। भवनमा एसी र लिफ्ट निर्माण गर्न संरचना तयार भइसक्यो। त्यसका साथै सिमेन्ट पनि भरपुर प्रयोग भएको देख्न सकिन्छ। यो पुरातत्व विभागको मापदण्डभित्र पर्दैन।
सचिव उपाध्यायले भवन बलियो र भूकम्प प्रतिरोधी र सुविधा सम्पन्न बनाउन ती सामाग्री राख्नुपरेको बताए। अपांगता भएका व्यक्तिहरूका लागि अनुकूल बनाउन र सबैको पहुँचमा पुर्याउन भवनमा लिफ्ट राखिएको उनको भनाइ छ।
'हामी संग्रहालय निर्माणको लगभग अन्तिम चरणमा छौं। सर्वसाधारणका लागि छिटै खुला गर्न हामी आतुर छौं,' उपाध्यायले भने।
तस्बिर र भिडिओ- नवीनबाबु गुरुङ/सेतोपाटी