शुक्रबार साँझ आमाको हात समातेर ११ वर्षीय रविन तिवारी घर फर्किंदै थिए। आफन्तको घर पुगेर फर्किंदा पोखरामा मुसलधारे पानी बर्सिरहेको थियो। उनीहरू सडक किनारका बाटो हिँडिरहेका थिए।
सडक किनारका नाली ढकनीले छोपिएका थिए। उनीहरू त्यही ढकनीले छोपेको नालीमाथि हिँडिरहेका थिए। सडकमा बगेको खोलाले ढकनी ढाकिएको थियो। पोखरामा निर्माण गरिएका नाली वर्षाको पानी थेग्न सक्ने छैनन्।
हिँड्दाहिँड्दै पोखरा–१६ स्थित दीपको ओरालोमा रविन चिप्लिए। वर्षाको भेलले नालीको ढकनी देखिएको थिएन। उनले टेकेको ठाउँ ढकनी रहेनछ, उनी नालीमा खसे।
‘अरू ठाउँमा नालीका ढकनी थिए, त्यही ठाउँमा रहेनछ,’ वडाध्यक्ष अमृत तिमिल्सनाले भने, ‘रविन चिप्लिएर नालीमा खसे, नालीले बगाएर करिब १० मिटर टाढा पुर्याएछ।’
नालीमा खसेका रविनलाई वर्षाको भेलले ठेलिएको नालीभित्र लग्यो, भित्रभित्रै बगाएर अन्यत्रका नाली आउने ठाउँभन्दा तल पुर्याएको तिमिल्सनाले बताए।
नालीमा बेपत्ता भएका रविनलाई करिब २ घण्टापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले फेला परेको थियो। नालीले करिब १० मिटर तल झाडीमा रविनको शव फेला परेको उनले बताए।
वडाध्यक्ष तिमिल्सनाका अनुसार उक्त स्थानमा सडक डिभिजन कार्यालयमार्फत् सडक अस्फाल्ट कालोपत्रे र नाली बनाउने काम भइराखेको छ।
शिव शक्ति इन्फो प्रालि भरतपुरले ठेक्का लिएको उक्त आयोजना गत आर्थिक वर्षमै सकिनुपर्ने थियो। तर ठेकेदारले समयमा काम गरेनन्, सडक डिभिजन कार्यालयले समयसीमाभित्र काम सक्न लगाएन।
‘ठेकेदार कम्पनीको म्याद सकिएको रहेछ, हामीले सडक डिभिजन कार्यालय गएर ठेकेदारलाई कारबाही गर्न माग गरेका छौं,’ तिमिल्सनाले भने।
ठेकेदार कम्पनीले समयमै काम गरिदिएको भए अहिले रविनको ज्यान जाने थिएन।
समयसीमाभित्र काम नगरेका ठेकेदारले अहिले म्याद थप्ने वर्षाका बेला काम गरेजस्तो गरिरहेका छन्। जबकि, कालोपत्रदेखि नाली ढलानका काम यो वर्षामा गर्न नमिल्ने प्राविधिकहरूको भनाइ छ।
पोखराका नालीले मान्छे बगाएको यो पहिलो घटना होइन। यसअघि २०७४ असोजमा लामाचौरका ५६ वर्षीय कृष्णबहादुर थापाको पनि नालीमा डुबेर ज्यान गएको थियो। सोही वर्ष कात्तिकमा पोखरा १९ का पिजन पुन मोटरसाइकलसहित नालीमा खसेका थिए।
इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पश्चिमाञ्चल क्याम्पसनजिकै नालीमा खसेर बेपत्ता भएका पिजनको शव फेला परेको थियो।
यसरी बर्सेनि पोखराका नालीले ज्यान लिँदासमेत लापरबाही गर्ने ठेकेदार कम्पनी र सम्बन्धित सरकारी अधिकारीलाई कुनै कारबाही हुन सकेको छैन।
यस्तै, लापरबाहीले रविनको ज्यान गएपछि स्थानीयले केहीबेर दीपनजिकै सडक अवरूद्ध पारेका थिए।
‘सरकारी अधिकारीको लापरबाही होइन भने समयमा काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्न हामीले अनुरोध गर्यौं,’ वडाध्यक्ष तिमिल्सनाले भने, ‘सडक डिभिजन कार्यालय उल्टै ठेकेदार कम्पनीलाई म्याद थप्न लागिपरेका छन्।’
यसबारे प्रतिक्रिया लिन खोज्दा सडक डिभिजन कार्यालय कास्कीका प्रमुख पारसमणि हमाल सम्पर्कमा आउन चााहेनन्।
पोखरामा विकास निर्माणका काम गर्दा सरकारी निकायबीच समन्वयसमेत हुँदैन। अहिले पोखराको सडकमा महानगरपालिका, प्रदेश र संघीय सरकारको लगानीमा अस्फाल्ट बनाउने काम भइरहेको छ।
अस्फाल्ट प्रविधिमा सडक कालोपत्र भइसकेको ठाउँमा खानेपानी आयोजनाले सडक खनेर छाडेका छन् भने नेपाल टेलिकमले फेरि कालोपत्रे सडक खनेर तार बिच्छ्याउने काम गरिराखेका छन्।
यसअघि तत्कालीन मेयर मानबहादुर जिसीले अस्फाल्ट कालोपत्र गर्नुअघि नै खानेपानीको पाइपलाइन विस्तार गर्न र टेलिकमलाई तार बिच्छ्याउन पटक/पटक अनुरोध गरेका थिए। उनले सरकारी कार्यालयहरूसँग विकासका काममा समन्वय गर्न वडा नम्बर १९ का तत्कालीन वडाध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा सहजीकरण समिति नै गठन गरेका थिए।
सहजीकरण समितिका तत्कालीन संयोजक पौडेलले सरकारका निकायहरू एकले अर्कोलाई नटेर्ने प्रवृत्ति आफुले पाएको बताए।
‘सरकारी कार्यालयका हाकिमहरू हामी त अर्कै हो जस्तो व्यवहार गर्थे,’ उनले अनुभव पोखे, ‘कसैले पनि समन्वय गरेर काम गर्न चाहेनन्।’
त्यतिबेला अस्फाल्ट कालोपत्र गर्न लागिएको सडकमा खानेपानीको पाइपलाइन विस्तार र टेलिकमको तार छिटो बिच्छ्याउन अनुरोध गरेका थिए।
टेलिकम र सडक डिभिजनका प्रमुखले मौखिक रूपमा प्रतिबद्धता जनाए पनि काम नगरेको उनले बताए।
‘तीन तहका सरकारबीच पनि राम्रो समन्वय छैन, सरकारी कार्यालयहरू पनि समन्वय गर्नै चाहँदैनन्,’ उनले भने, ‘एउटा बनाउँदै जाने, अर्कोले भत्काउँदै जाने प्रवृत्ति नरोकिँदा सर्वसाधारणले दु:ख पाए।’
जनप्रतिनिधिदेखि कार्यालय प्रमुखहरू एकले अर्कोले नटेर्ने अटेरी प्रथा हटाउन नसक्दासम्म सुधार हुन नसक्ने पोखराका नागरिक अगुवा रामबहादुर पौडेलले बताए।
उनले दुर्घटनाका जिम्मेवार व्यक्तिसँग जवाफदेहिता खोज्नुपर्ने समेत माग गरेका छन्।
‘बालकको ज्यान जानेगरी नालीको ढकन खुला राख्ने व्यक्तिले घटनाको जिम्मेवारी लिनुपर्छ, यस्ता व्यक्ति कानुनी कारबाहीको दायरामा आउनुपर्छ,’ उनले भने, ‘होइन भने सर्वसाधारणले दु:ख पाइराख्नुपर्छ।’
यो पनि:
'जिन्दगीभरको कमाइ एकै छिनको पहिरोले पुरिदियो'