येँया पुन्ही (इन्द्रजात्रा) को अवसरमा हरेक वर्ष हामीले यसिं (लिंगो) तानेको, उठाएको र ढालेको देख्दै आएका छौं। एक सातासम्म चल्ने इन्द्रजात्रा हनुमानढोकामा यसिं उठाएपछि मात्र सुरू हुन्छ।
त्यही यसिंका लागि चाहिने रूख लिन सोमबार बिहान ९ बजेर १७ मिनेटको साइतमा मानन्धर समुदाय ‘वन यात्रा’ का लागि भक्तपुरको नालातर्फ निस्किएका छन्। येँया पुन्हीमा गाडिने यसिं बन्दोबस्तको जिम्मा मानन्धर गुठीलाई छ। यही गुठीले हरेक वर्ष भक्तपुर, नालाको सल्लाघारीबाट रूख काटेर ल्याउँछन्। यसपालि रूख काट्न मंगलबार राति ८ बजेर ९ मिनेटको साइत जुरेको छ।
पहिले–पहिले रूख काट्ने मान्छे हिँडेरै जान्थे। अचेल गाडी चढेर जाने छुट छ। बेलुका पूजाआजा गरेर बोकाको बलि चढाएपछि साइत पारेर रूख काट्ने चलन छ।
रूखलाई भक्तपुरदेखि तानेर अष्टमीको दिन नगर प्रवेश गराइन्छ। नगर प्रवेश गरेपछि डोरी बाँधेर द्वादशीको दिन हनुमानढोका दरबारअगाडि यसिं उठाइन्छ। त्यसपछि आधिकारिक रुपमा इन्द्रजात्रा सुरू हुन्छ। योपटक यसिं उठाउने साइत भाद्र २२ गते बिहान ७ बजेर १७ मिनेटमा छ।