मंगलबार तीजको दिन वीरेन्द्रनगर-१० चक्रपथ नजिकै पठानटोलका केही घरपरिवार मिलेर नाचगान गर्दै थिए। संयुक्त रूपमा खाना खाने कार्यक्रम पनि थियो। उनीहरूले दिउँसैदेखि तीज मनाइरहेका थिए।
नाचगान गर्दै बसेका मानिसहरूको ध्यान नजिकैको चक्रपथतिर खासै गएन। केही मिटरपर एक युवकको हत्या भएको खबर उनीहरूले सामाजिक सञ्जालबाट मात्रै थाहा पाए।
मंगलबार साँझ वीरेन्द्रनगर-१० का २१ वर्षीय रोशन जिसीको हत्या भएको छ। पठानटोल नजिकैको चक्रपथमा कुटपिट हुँदा रोशनले ज्यान गुमाएका हुन्।
गाउँलेहरूले देख्दा रोशन चक्रपथको खोल्सामा पल्टिरहेका थिए।
‘रोशन ढलेको मात्र मैले देखेकी हुँ, उनको शरीरमा कतै रगत पनि देखिएको थिएन,’ घटनास्थल नजिकै घर भएकी एक महिलाले बुधबार सेतोपाटीसँग भनिन्, ‘मलाई त रक्सी लागेर ढलेको होला भन्ने लाग्यो, पछि उनका साथीहरूले हतार-हतार उठाएर अस्पताल लैजाऔं भनेपछि मात्र चोट लागेको रहेछ भन्ने लाग्यो।’
केही समयपछि रोशनको मृत्यु भएको खबर सामाजिक सञ्जालमा आएपछि गाउँमा हल्लाखल्ला भएको उनले बताइन्।
रोशनलाई गाउँलेले ढलेको देखेको केही समयअघि त्यही ठाउँमा दुई जना युवाहरूबीच हात हालाहाल पनि भएको थियो। हात हालाहाल भएको देखेका प्रत्यक्षदर्शी एक किशोरका अनुसार गाउँका प्रकाश सुनार र कुमार परियारबीच सामान्य विवाद भएर हानाहान भएको हो।
‘प्रकाशले कुमारलाई भाइ भने, कुमारले म तेरो भाइ हो? भनेर सामान्य बोलाबोल भएको हो,’ ती किशोरले भने, ‘फेरि प्रकाशले तँ मभन्दा जुनियर भाइ होइनस् भनेर समातेपछि कुमारले मुक्का हानेका हुन्, पछि दुबैबीच हानाहान भयो।’
उनीहरू दुई जनाबीच भएको झगडा पनि गाउँलेले नै छुटाएका थिए। गाउँलेले छुटाएपछि पनि प्रकाशले कुमारले लखेटेका थिए। केही मिटर पर दुवैजना दौडिएपछि फर्किएर आ-आफ्नो बाटो लागिसकेका थिए।
पहिले भागेका कुमारसँग केही समयपछि एक्कासी रोशन पनि आएको एक युवकले बताए।
‘रोशन र कुमारसहित अरू दुई-चार जना केटाहरू पनि फर्किएर आएका थिए। लड्ने योजना बनाएर आएका हुन् वा एक्कासी भेट भएर साथै हिँडेका हुन् थाहा भएन,’ ती युवकले भने, ‘त्यसपछि म आफ्नो बाटो लागिहालें, केही समयपछि आउँदा त रोशन खोल्सामा ढलेको थियो।’
रोशन ढलेको खोल्सो पनि वीरेन्द्रनगर चक्रपथमा पर्छ। चक्रपथको अरू ठाउँमा ग्राभेल गरिएको भए पनि खोल्सा वारिपारि ग्राभेल गरिएको छैन।
‘अर्को टोली त्यहाँ थियो कि थिएन थाहा भएन। झगडा भएपछि भागिसकेका पनि हुन सक्छन्,’ पठानटोलकै अर्का स्थानीयले भने, ‘हामी त्यहाँ पुगेपछि उनकै एक जना साथीले अर्कोलाई बाइक ल्याऊ भने। बाइक लिन गएका फर्किएनन्, पछि उनीहरूले अटोमा हालेर रोशनलाई अस्पताल पुर्याएछन्।’
उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याएपछि अस्पतालले रोशनलाई मृत घोषणा गरेको थियो।
सानो सुर्खेत क्षेत्रमा पर्ने पठानटोल र रोशन बस्ने सुन्दर टोललाई बामे खोलाले छुट्याएको छ। पठानटोल खोला पारि पर्छ भने रोशनको घर वारि पर्छ। रोशनको घर चक्रपथसँगै जोडिएको छ।
यो क्षेत्रमा युवाहरूबीच बारम्बार ग्याङ फाइट हुने गरेको छ।
‘खासमा पारिको टोल अलि हुनेखानेहरू बस्ने टोल हो, वारिको टोलमा बस्नेहरूको आर्थिक अवस्था कमजोर छ,’ एक स्थानीय महिलाले भनिन्,‘यहाँ टोलभित्र वा घरभित्रै झगडा भयो भने पनि पारिका मान्छेलाई बोलाएर मिलाउने वा कुटाउने चलन छ। यो पहिलेदेखि नै चलिआएको हो।’
मृतक रोशनकी एक छोरी छिन्। पाँच वर्षअघि रोशनले विवाह गरेका थिए। उनकी छोरी ४ वर्षकी भइन्।
रोशन घरका एक्ला छोरा हुन्। उनकी एक जना दिदी छन्। दिदी नेपाली सेनामा कार्यरत छिन्। रोशनले १२ कक्षामै पढाइ छोडेका थिए। स्थानीयका अनुसार रोशन गाउँमा जाँदा गाउँलेसँग राम्रो व्यवहार गर्थे। सबैसँग नाता लगाएर बोल्थे। उनी यो घटना हुनुअघि पनि बारम्बार गाउँमा गइरहन्थे।
रोशनकी माइजु नाता पर्ने जमुना पुरी उनलाई योजनाबद्ध तारिकाले मारेको बताउँछिन्।
‘षड्यन्त्रै बनाएर अटोमा राखेर पारि लगेका रहेछन्, योजना बनाएर उनलाई मारेको हो,’ उनले भनिन्।
रोशनको हत्यामा परिवारले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुधबार जाहेरी दिएको छ। रोशनका बुवा ६५ वर्षीय गणेशबहादुर जिसीले प्रहरीमा जाहेरी दिएका छन्।
वीरेन्द्रनगर-१० पठान टोलका २५ वर्षीय प्रकाश सुनार, १८ वर्षीय कुमार परियार, सोही वडाको सानो सुर्खेत बस्ने २५ वर्षीय मिनु नेपाली, २३ वर्षीय न्युटन शाही र नयाँ घुस्रा बस्ने १८ वर्षीय गणेश नेपालीविरूद्ध जाहेरी परेको हो।
उनीहरुविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जाहेरीमा नाम किटान गरिएका पाँचै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। बुधबार बिहान उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए।
रोशनको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ।
‘जाहेरी भर्खरै आयो, आज मुचुल्का गरेर सकिन्छ होला,’ डिएसपी कार्कीले भने, ‘प्रक्रिया बाँकी भएकाले आजै पोष्टमार्टम हुँदैन होला, भोलि गर्ने होला।’