राम्रा सामुदायिक स्कुल
विद्यालय तहमै फाइन-आर्ट्स पढ्न, पढाउन चाहनुहुन्छ? हो भने विद्यालय शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भएपछि ११ कक्षामै भर्ना पाइन्छ।
विद्यालयमै फाइन-आर्ट्स पढ्न चाहने विद्यार्थीका लागि संघीय राजधानी काठमाडौंस्थित शहीदशुक्र माध्यमिक विद्यालयमा यस्तो सुविधा उपलब्ध छ।
प्रधानाध्यापक कृष्ण अधिकारीका अनुसार चित्रकला सम्बन्धी रूचि भएका विद्यार्थीहरूलाई लक्षित गरेर शहीदशुक्रले कक्षा ११ मा चालु शैक्षिक वर्षमा 'फाइन-आर्ट्स' पढाउन सुरू गरेको छ।
शहीदशुक्रमा फाइन-आर्ट्सतर्फ २० जना विद्यार्थी ११ कक्षामा भर्ना भएका छन्। यसमा छात्राको रूचि बढी देखिएको छ। भर्ना भएमध्ये १३ जना छात्रा छन्।
स्कुलमा फाइन-आर्ट्स पढाइ सुरू भएपछि तल्लो कक्षाका विद्यार्थीलाई पनि चित्र कोर्न प्रेरणा मिल्ने प्रधानाध्यापक अधिकारीको विश्वास छ। फाइन-आर्ट्स शिक्षा तल्ला कक्षाहरूमा पनि पुर्याउने योजना रहेको उनले बताए।
फाइन-आर्ट्स अध्यापनका लागि स्कुललाई 'नेपाल व्यावसायिक कलाकार संघ' ले प्राविधिक सहयोग गर्ने भएको छ। आसपासका विद्यालयमा यो विषय नभएकाले आगामी दिनमा शहीदशुक्रमा विद्यार्थीको आकर्षण बढ्ने पनि प्रधानाध्यापक अधिकारीको अपेक्षा छ।
माध्यमिक तहमै फाइन-आर्ट्स पढाउनुलाई आफ्नो विद्यालयको पृथक प्रयास मानेका छन् उनले। भन्छन्, 'विद्यालयको यो फरक प्रयास हो। भविष्यमा फाइन-आर्ट्सका लागि शहीदशुक्र राम्रो प्लेटफर्म बन्नेछ।'
शहीदशुक्रले यसै वर्ष कक्षा ११ को पढाइ सुरू गरेको हो। पहिलो वर्षमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पढाइ सुरू गरिएको छ। फाइन-आर्ट्स मानविकी संकाय अन्तर्गत पर्छ।
विद्यालयको भौतिक पूर्वाधार पनि सुधार हुँदैछ। विद्यार्थीहरूका लागि 'म्युजिकल हल' तयार हुँदैछ। यहाँ विद्यार्थीले पढाइसँगै गीतसंगीतबाट मनोरञ्जन गर्न पाउनेछन्। फुर्सदको समयमा हलमा संगीत सिक्न पाउनेछन्।
चाँडै एक जना संगीत शिक्षक राख्ने तयारी भएको पनि प्रधानाध्यापक अधिकारीले बताए।
विद्यालयमा हाल १६ वटा कक्षाकोठामा पढाइ हुन्छ। थप १० वटा कोठा तयार हुँदै छन्। सभाकक्ष पनि बन्दैछ।
हाल विद्यालयमा पूर्व प्राथमिकदेखि कक्षा ११ सम्ममा चार सय जना विद्यार्थी छन्। भौतिक पूर्वाधारअनुसार यो संख्या निकै कम हो।
प्रधानाध्यापक अधिकारीका अनुसार कुनै समय थियो, शहीदशुक्रमा हजार जनाभन्दा बढी विद्यार्थी पढ्थे। विद्यालय नजिकै रहेको पुरानो बसपार्क विस्थापित भएपछि विद्यार्थी संख्या ह्वात्तै घट्यो। कोरोना महामारीमा त दुई सय जना मात्रै बाँकी रहे।
कोरोना संक्रमण मत्थर भएर भौतिक उपस्थितिमा पढाइ सुरू भएपछि फेरि विद्यार्थी संख्या बढ्दै गयो। अभिभावकहरूको आकर्षण अंग्रेजी माध्यमतर्फ भएकाले पनि विद्यार्थी संख्या घटेको सहायक प्रधानाध्यापक रोशन शाहको निष्कर्ष छ। यही निष्कर्षका आधारमा शहीदशुक्रले अंग्रेजी माध्यममा पढाउन सुरू गर्यो। निष्कर्ष सही ठहरियो, किनभने विद्यार्थी संख्या पनि बढ्न थाल्यो।
हाल विद्यार्थीको रोजाइअनुसार अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ।
यहाँ बिहानी र दिवा गरी दुई सत्रमा पढाइ हुन्छ। कक्षा ९ देखि ११ सम्म बिहान ६ बजेदेखि ११ बजेसम्म पढाइ हुन्छ। पूर्वप्राथमिकदेखि कक्षा ८ सम्मका विद्यार्थी बिहान ११ बजेदेखि ५ बजेसम्म पढ्छन्। कक्षा तीनसम्मका विद्यार्थीले अपराह्न तीन बजे छुट्टी पाउँछन्।
विद्यार्थीहरू सात वटै प्रदेशका छन्। दोलखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका विद्यार्थी धेरै छन्। विद्यालयमा २६ जना शिक्षक छन्। यीमध्ये २१ जना सरकारी दरबन्दीमा र बाँकी निजी स्रोतमा छन्।
प्रधानाध्यापक अधिकारीका अनुसार अहिले विद्यालयले विद्यार्थी संख्या बढाउनमा जोड दिएको छ।
'बितेका दुई वर्ष हामीले पूर्वाधार थप्यौं। हाम्रो ठाउँले भ्याएसम्म संरचना खडा गर्ने काम सकेका छौं,' उनले भने, 'अब विद्यार्थी संख्या बढाउनेतिर सिंगो विद्यालय लागिपरेको छ।'
कोभिड महामारीपछि निजी विद्यालयबाट पनि विद्यार्थीहरू शहीदशुक्रमा आउन थालेको अधिकारीले बताए। अंग्रेजी माध्यममा पढाउन थालेपछि विद्यार्थी संख्या बढेको उनको भनाइ छ।
उनले भने, 'सामुदायिक विद्यालयमा विद्यार्थीले छात्रवृत्ति पनि पाउँछन्। एसइईको नतिजा राम्रो हुँदै गएको छ। विद्यार्थी संख्या पनि बढेको छ।'
विद्यालयहरूमा शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग बढ्दो छ। राजधानी काठमाडौंका धेरै विद्यालयले विद्युतीय स्मार्ट-बोर्ड राखेर पढाउन थालेका छन्। शहीदशुक्रले पनि स्मार्ट-बोर्ड राखेको छ। समयको मागअनुसार विद्यालयले आधुनिक प्रविधिमा जोड दिएको प्रधानाध्यापक अधिकारीले बताए। स्मार्ट-बोर्डमा श्रव्यदृश्यसहित पढाउन सकिन्छ।
अहिले स्मार्ट-बोर्ड सबै कक्षामा पुगिसकेको छैन। सबै कक्षामा राख्न पहल भइरहेको प्रधानाध्यापक अधिकारीले बताए। उनका अनुसार सूचना, सञ्चार र प्रविधि (आइसिटी) का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष ६ लाख ५० हजार रूपैयाँ बजेट प्राप्त भएको थियो।
विद्यालयले प्रविधिअनुकूल पुस्तकालयको सफ्टवेयर पनि बनाउँदै छ।
'पुस्तकालयमा नभएको पुस्तक पनि सफ्टवेयरमार्फत खोजेर पढ्न मिल्छ। अडिओ, भिडिओ पनि हुन्छ,' उनले भने।
अब विद्यार्थीको हाजिरी पनि सफ्टवेयरबाटै हुनेछ। विद्यालयले शिक्षण सिकाइ सहज बनाउन अधिकतम प्रयास गरेको उनले बताए।
पाँच कक्षासम्मका विद्यार्थीका लागि खानाको प्रबन्ध छ। उनीहरूले बिहानको खाना विद्यालयमै खान पाउँछन्। खानाका लागि 'चाइना फाउन्डेसन पोभर्टी एलिभेसन फर नेपाल' ले आर्थिक सहयोग गरेको छ। उक्त संस्थाले विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री पनि सहयोग गरेको उनले बताए।
विद्यार्थीहरूलाई खाना र खाजा खुवाउन विद्यालयमा तीन जना 'आमा' छन्।
'विद्यालयमै खाना र खाजा पाउने भएपछि विद्यार्थीहरू चाँडै आइपुग्छन्,' प्रधानाध्यापक अधिकारीले भने, 'सामुदायिक विद्यालयमा हुनुपर्ने यस्ता थुप्रै सुविधा हामीले दिएका छौं।'
शहीदशुक्र माध्यमिक विद्यालयको स्थापना २०१८ सालमा भएको हो। राणा शासनविरूद्धको क्रान्तिका शहीद शुक्रराज शास्त्रीकी माइली बहिनी चन्द्रकान्ता देवी मल्लले महिलालाई र विपन्न परिवारका बालबालिकालाई पढाउन एउटा स्कुल खोलेकी थिइन्। विद्यालयको अभिलेखअनुसार उक्त स्कुल 'किलागत खिउँल' टोलमा थियो।
त्यही स्कुल हालको शहीदशुक्र माध्यमिक विद्यालय हो। यो विद्यालय २०३४ सालमा एसएलसी परीक्षामा सहभागी भएको थियो। विद्यालयले माध्यमिक कक्षा पढाउन २०३१ सालमा स्वीकृति पाएको थियो। विद्यालय २०२८ सालमा बागबजारको अद्वैत मार्गमा सरेको हो। यो विद्यालय कुल ती रोपनी क्षेत्रफलमा रहेको छ।
प्रधानाध्यापक अधिकारीका अनुसार विद्यार्थीको लेखन र बौद्धिक क्षमता अभिवृद्धिका लागि हाजिरीजवाफ; कविता, कथा लेखनजस्ता प्रतियोगिताहरू हुन्छन्। ब्याडमिन्टन, टेबल टेनिस, फुटबल, कराते लगायतका खेलकुद पनि हुन्छ।
शहीदशुक्रलाई काठमाडौं महानगरपालिकाले नमूना विद्यालयमा छनौट गरेको छ। महानगरले 'एक वडा, एक नमूना विद्यालय' भन्ने गरेको छ।
प्रधानाध्यापक अधिकारी चाहिँ आफ्नो विद्यालय नमूना बन्ने प्रयासमा रहेको बताउँछन्।
'हाम्रो स्कुललाई साँच्चैको नमूना बनाउन व्यवस्थापन समितिसहित सिंगो विद्यालय परिवार सक्रिय छ,' उनले भने।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
यी पनि पढ्नुहोस्ः