उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ।
उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार बेलका नगरपालिका- ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र उनीहरूका १२ वर्षका छोरा सुजन बस्नेतको हत्या भएको हो।
हत्या भएको ठाउँ भोजपुर र उदयपुरको सीमा जोडिएको क्षेत्र हो। शुक्रबार दिउँसो स्थानीयले तीन जनाको शव वादिङ खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले शवहरू खोलाबाट निकालेको छ।
उनीहरूको हत्या आरोपमा ४० वर्षको नरबहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक फुयालले जानकारी दिए।
‘खुकुरीले हानेर हत्या गरेको देखिएको छ। हामीले उनलाई खुकुरीसहित पक्राउ गरेका छौं,’ फुयालले भने। पक्राउ परेका नरबहादुर पनि मृतकको परिवारभित्रकै मान्छे हुन्।
उनले किन हत्या गरे भन्ने खुलिसकेको छैन।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।