तुलसीपुर र घोराहीका मेयरले ढिला गरी काम गर्ने हो भने चारलेन सडकको सम्झौता रद्द गरी नयाँ निर्माण व्यवसायीसँग सम्झौता गर्नुपर्ने सुझाएका छन्।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र घोराहीका उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी लगायतका प्रतिनिधिले तुलसीपुर–घोराहीदेखि बबई पुलसम्म चार लेन सडक विस्तारको काम कछुवा गतिमा भइरहेको भन्दै आफूहरूले समेत सर्वसाधारणबाट गाली खानु परेको बताएका हुन्।
मेयर खड्काले सरकारको नीति कै कारण समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकिएको भन्दै अब त्यसलाई सच्याएर कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरे।
‘कि काम राम्रोसँग गर्नु पर्यो हैन भने काम छोड्नु पर्यो,’ खड्काले भने, ‘हामीले सहयोग गर्दापनि जिर्ण बाटोको कारण हामीले गाली खानु परेको छ। अब तपाईँहरूले यसरी उन्मुक्ति पाउनु हुने छैन।’
घोराहीका मेयर चौधरीले चारलेन सडक निर्माण कम्पनीको लापरवाहीका कारण जनताबाट आफूहरूले गाली खानु परेको भन्दै रोष प्रकट गरे।
‘समयमा काम गर्न नसक्ने ठेकेदारलाई नियमअनुसार कारबाही गरिनु पर्ने भएपनि किन कारबाही नभइ रहेको हो,’ उनले प्रश्न गरे, ‘अब पनि यस्तै चाल भए सम्बन्धित निकायले निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउनै पर्छ।’
उनले नसक्ने भए निर्माण कम्पनीलाई तत्काल काम छोड्न र आफूहरूलाई जिम्मा दिए त्यसको जस अपजस लिन तयार रहेको बताए।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले चारलेन सडक निर्माणको काम छिटो गर्नका लागि आफ्नो तर्फबाट समन्वय र ताकेता गर्दै आएको बताए।
‘मैले आफैँ निर्माण कम्पनीसँग छिटो काम गर्न भनेर पटक–पटक फोन सम्पर्क गरि तोकेता गरेको छु,’ उनले भने, ‘हामीलाई पनि जिल्लाबासीले सडकको दुराअवस्थाका बारेमा फोनमा दिनहुँ जस्तो आग्रह गरिरहन्छन्।’
उनले पनि यस्तै स्थिति कायमै रहने हो भने ठेक्का सम्झौता गर्ने निकायले कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने बताएका थिए।
चारलेन सडकबाट जनस्तरबाट व्यापक गुनासो र आलोचनाहरू भएपछि जिल्ला समन्वय समितिका संयोजन नित्यानन्द शर्माले शुक्रबार घोराहीमा सरोकारवालाहरूसँग सार्वजनिक छलफल गरेका थिए। जहाँ निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरू पनि सहभागी थिए।
त्यसक्रममा चारलेन सडक आयोजनाका प्रमुख अर्जुन बमले तीन वर्षको अवधिमा चारलेन सडकको १० प्रतिशत मात्र काम भएको जानकारी दिएका थिए।
‘काम गर्नका लागि कतैबाट अवरोध नभएपनि सोचे जसरी सरासर काम हुन सकिरहेको छैन,’ उनले भने, ‘अब काम धमाधम अगाडि नबढे सोच्नुपर्ने अवस्था आउन सक्छ।’
चारलेन सडक निर्माणको काम गरिरहेको श्रेष्ठ निर्माण कम्पनीका प्रतिनिधि शेखर शर्माले वैशाख महिनाबाट आफूहरूले काम गर्न सुरू गरेको भन्दै अब कामले गतिले विश्वास दिलाएका थिए।
‘निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरूको समस्याको कारण केही समस्या भएको उत्पन्न हुने गरेको छ,’ उनले भने, ‘अब तिहारपछि तीव्र गतिमा काम हुने विश्वास दिलाउन चाहान्छु।’
तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तारका लागि भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बई र सडक विस्तार योजना २०७५ पुस १३ गतेबाट काम सुरू गर्ने सम्झौता भएको थियो। त्यसमध्ये पनि सबै सडकखण्ड चारलेनको छैन। सहर र बजार क्षेत्रमा दुई लेनको मात्रै सडक निर्माण गरिने भएको छ।
तथ्य सँगको सम्झौताको करिब एक वर्षपछि मंसिर दोस्रो सातादेखि मात्रै उसले यहाँ निर्माणको काम सुरू गरेको थियो।
सम्झौतामा ३० महिनाभित्र सडक विस्तारको काम सक्ने उल्लेख छ।
एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा निर्माण कम्पनी तथ्यले स्वीकारको थियो।
निर्माण कम्पनीले सुरूमा आफ्नो आधिकारिक नेपाल प्रतिनिधिका रूपमा यसअघिका तुलसीपुरका मेयर घनश्याम पाण्डेका छोरा अनुप पाण्डेलाई तोकेको थियो। उनले काम गर्न नसकेपछि र धेरैलाई ठगेको उजुरी पछि अनुप पाण्डे झन्डै २५ दिनपछि थुनामा बस्नु परेको थियो। पछिल्लो समय तथ्यले उनीसँगको सम्झौता रद्द गरिसकेको छ।
यो बीचमा पेटी ठकेदारलाई पटक–पटक निर्माणको जिम्मा दिइएपनि काम हुन सकेको छैन।
समयमा काम नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ। सडक खण्डमा दुर्घटनाकाहरू बढेका छन्। सडक समयमा निर्माण भएको लापरबाही बारे पटक–पटक आन्दोलन समेत हुने गरेको छ।
कार्यक्रमका अन्य वक्ताहरूले चारलेन सडकमा चरम लापरबाही भएको भन्दै अहिलेको निर्माण कम्पनीसँग ठेक्का तोड्न माग गरेका थिए।
बैठकमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, यातायात व्यवसायीको तर्फबाट राप्ती त्रिशिद्देश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, घोराही खानेपानीका अध्यक्ष देवीबहादुर डिसी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, वरिष्ठ पत्रकार दधिराम सुवेदी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, डा. लोकराज पराजुलीलगायले निर्माण कम्पनीले चरम लापरवाही गर्दा सर्वसाधारणले पाउनु सास्ती पाउनु परेको भन्दै अब पनि काम नगरे तत्काल सम्झौता रद्द गरि अर्कोसँग सम्झौता गर्न माग गरेका थिए।
पुस मसान्तसम्म ३० प्रतिशत काम नभए कारबाही थाल्ने चेतावनी
जिल्लाकै गौरवको योजना चारलेन सडक आउँदो पुससम्म ३० प्रतिशतसम्म पनि काम नभए ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने सहमति भएको छ।
योजना सञ्चालन भएको करिब ३ वर्ष बितिसक्दा पनि अहिलेसम्म १० प्रतिशत मात्रै काम भएको छ।
छलफलमा सहभागी सबै सरोकारवालाहरू बीच पुस मसान्तसम्म पनि ३० प्रतिशत काम पूरा नगरे कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमति भएको जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्माले जानकारी दिए।
त्यस्तै १५ दिन भित्र सडकका खाल्डा खुल्टी निर्माण कम्पनीले पुरिसक्नु पर्ने सहमति पत्रका उल्लेख छ।
त्यस्तै चारलेन सडक निर्माणका लागि समन्वय सहजीकरण र उक्त कामको प्रगति विवरण, समस्या समाधान, समन्वय गर्न जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ। जसको सदस्य सचिवमा चारलेन आयोजनाका प्रमुख रहनेछन्।
उक्त समितिको सदस्यहरूमा तुलसीपुर र घोराहीका मेयर, निर्माण कम्पनीका प्रतिनिधि, यातायात व्यवसायी सदस्य राखिएका छन्।
गठित समितिले १५/१५ दिनमा बैठक बस्ने र भएका कामको समिक्षा गर्न र समस्या समाधानका लागि पहल गर्ने निर्णय पनि गरेको छ।