तस्बिरमा म्याग्दीका कृष्णलाल श्रेष्ठको आधा खुट्टा छैन। हिँड्डुल गर्न अलि सहज बनाउने कृत्रिम खुट्टा अलग राखिएको छ।
तस्बिरमा निन्याउरो अनुहार लगाएको कृष्णलालको भनाई फोटोका बायाँपट्टि नेपाली र अंग्रेजी दुवैमा लेखिएको छ।
‘फेरि युद्ध कहिल्यै नहोस्’ भनेर शीर्षक दिईएको छ।
उनले भनेका छन्, ‘तत्कालिन विद्रोहीले गरेको बेनी आक्रमणपछि मेरो जिन्दगी नै मोडियो। चैत ७ गते मेरो रातिको ड्युटी थियो। बिहानपख मलाई शौचलय जानुपर्यो। माओवादी भन्ठानेर राज्यका सुरक्षाकर्मीले गोली बर्साए। तीन वटा गोली शरीरमा लागेपछि म कार्यालयको मूल ढोकानिर ढलेँ। ढलेको केही बेरमै छेउमा बम पड्कियो। त्यो बिष्फोटले मेरो खुट्टा क्षतविक्षत भयो।’
तस्बिरमा बायाँतिर लेखिएअनुसार उनका घरपरिवार एकदमै सहयोगी छन्। अहिले पनि उनी रातिमा झस्किँदै कराउँछन्, परिवारले उनलाई सम्हाल्छन्।
उनी भन्छन्, ‘सरकारले छोरालाई रोजगारीको व्यवस्था र मलाई राहत उपलब्ध गराए मेरा लागि न्याय त्यहीँ हुन्थ्यो, देशमा अब कहिल्यै त्यस्तो युद्ध नहोस् भन्ने हो। युद्धका कारण म जस्तै अरुले शरीरको अंग गुमाउन नपरोस्।
पोखराका दुदराज अधिकारी पेटभरि घाउका निसानी भएको शरीर देखाएर तस्बिरमा उभिएका छन्। २०६० साल कात्तिक ११ गते उनीसहित बसमा भएका यात्रुलाई बसबाट झर्न लगाईयो। यात्रुहरु डरले तितरबितर भए। त्यसैक्रममा लेखनाथ चोकको नहर काटेर उनी पनि गन्तव्य ताक्दै दिए। एक्कासी बम बिष्फोट भयो र त्यसको छर्राले उनको हात, पेटदेखि शरीरभर घाउ बनाए।
उनको तस्बिरको बायाँतर्फ लेखिएअनुसार उनी अचेल पनि लेखनाथ चोक भएर कतै जाँदा झस्किन्छन्। त्यहीँ घटनाको पल झलझली सम्झिन्छन्। आउँदा दिनमा अरू नागरिकले आफूले जस्तो पीडा भोग्न नपरोस् भन्ने कामना पनि उनले गरेका छन्।
अर्को तस्बिरमा राजापुर बर्दीयाका मायाप्रसाद चौधरीले पनि युद्धका कारण आफूले जस्तै पीडा अरूले भोग्न नपरोस् भन्ने कामना गरेका छन्।
बर्दियामा भाइको घर हेर्न जाँदा २०५७ पुसमा दोहोरो भिडन्तमा परेकी रूकुमकोटकी रामकुमारी घर्तीले प्रश्न गरेकी छन्– ‘सराकारले हामीलाई न्याय गर्ला त?’
उनको खुट्टामा लागेको बमको छर्राले अहिले खुट्टा मात्र दुखाउँदैन। एकहोरो मन पनि दुखाईरहन्छ। मनले घरको देखिने जति सबै काम गरिदिउँ जस्तो लाग्छ, तर बमको छर्राले घाईते भएको खुट्टाले सके पो।
म्याग्दीका कृष्णलाल, पोखराका दुदराज र रूकुमकी रामकुमारीका जस्तै नेपालमा भएको दश वर्षे सशस्त्र द्वन्द्वका कारण पीडा भोगेका थुप्रै सर्वसाधारणहरुका तस्बिर र उनीहरुका कथाका सारांश सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनीमा राखिएका छन्।
अपांगता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालको आयोजनामा तत्कालीन युद्धका कारण पीडा भोग्न बाध्व सर्वसाधारणको तस्बिर प्रदर्शनीमा राखिएको हो। आइतबार वीरेन्द्रनगरको घण्टाघर छेउमा पीडितहरुको कथा र तस्बिर प्रदर्शनीमा राखिएको छ।
घाईते भएपछि उनीहरूले अहिले भोगिरहेका समस्या, राज्यप्रति उनीहरुका गुनासो, घटनाको विवरण समेटेर बनाईएको कथाको सारांश तस्बिरको दायाँ, बायाँ वा तल, माथि नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएका छन्।
तस्बिर अवलोकन गर्न आउनेलाई उनीहरुको कथा अडियोमा सुन्ने व्यवस्था पनि गरिएको छ। जसका लागि एउटा तस्बिरमा चार वटा हेडफोन जोडिएका छन्।
यसरी राखिएको कयौं तस्बिरमध्ये बर्दीयाका हेमराज थारूको तस्बिरले अवलोकन गर्न आउनेलाई केन्द्रित गराउँछ। उनी कतै साईकलमा गुडिरहेका छन्। दाँयाँ हात गुमाएका हेमराजले बाँयाँ हातले साईकलको ह्याण्डल समातेर नियन्त्रण गरिरहेका छन्।
२०५९ पुस १६ गते दिउँसो तीन बजे उनी राजापुरबाट धान बेचेर घर फर्किंदै थिए। बाटोमा माओवादीका कार्यकर्ता भेटिए र केही कुरा गर्नुछ भनेर बाटोबाट अलि पर लिए। उनीहरु चिनेजानेकै थिए।
केही पर लिएपछि हेमराजलाई उनीहरुले पिट्न थाले। उनले आत्मरक्षा गर्न सक्ने स्थिति पनि भएन। दाहिने हात लक्षित गरी लौरोले कयौं पटक हानेर थिलोथिलो बनाएर उनीहरु भागे। त्यही चोटले उनको हातै काट्नुपर्यो।
द्वन्द्वपीडित समिति बर्दीयाको अध्यक्ष बनेर आफूसहितका द्वन्द्वपीडितहरुको पक्षमा लडाइँ लड्दै गरेको हेमराजको चार वर्षअघि मृत्यु भयो। उनी त्यतिबेलै भन्थे, ‘जुन पक्षबाट भए पनि आखिर पीडता त एउटै हो नि।’
वीरेन्द्रनगरमा यस्ता मर्मस्पर्शी तस्बिर र तस्बिरमा भएका पीडितको कथा प्रदर्शनीको मक्सद भनेका अबको दिनमा हिंशात्मक द्वन्द्व नहोस्, उतिबेलाको सशस्त्र द्वन्द्वका कारण पीडा भोगेका सर्वसाधारणले न्याय पाओस् भन्ने हो।
‘त्यो बेलामा कुनै पक्षबीच भएको आपसी द्वन्द्वका कारण हामी जस्ता सर्वसाधारणहरु पीडा भोगिरहेका छौं, त्यो कुरा अहिलेको पछिल्लो पुस्ताले जानोस् र भोलि हुन सक्ने यस्ता पीडादायी युद्धलाई अस्वीकार गर्ने भावना जागोस् भन्ने हो,’ अपांगता भएका द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले भने, ‘यसरी पीडा भोगेका सर्वसाधारणको घटनाको बारेमा सत्यतथ्य छानबिन गरी सरकारले चाँडै न्याय देओस् भन्ने माग पनि हो।’
अहिले सञ्जालले यस्ता त्यसबेला कुनै पक्षमा नलागे पनि द्वन्द्वबाट पीडित बनेका सर्वसाधारणरु ३०० जनाका तस्बिर र कथा तयार पारेको छ।
राज्यले पीडितलाई न्याय दिलाउने कानुन पीडितको पक्षमा हुनेगरी संशोधन गर्नुपर्ने अध्यक्ष खत्रीले बताए।