दिउँसोको टन्टलापुर घाम छ। विशाल गुप्ता पसिना पुछ्दै फलफूलको ठेला गुडाउँदै छन्। उनी फलफूल बेच्छन्। विशाल व्यवस्थापन संकायमा स्नातक तहको चौथो वर्षका विद्यार्थी हुन्। उनी राप्ती बबई क्याम्पसमा पढ्छन्।
उनको ठेला बजारमा निर्वाध गुड्न पाउँदैन। तुलसीपुर उपमहानगरपालिकाको गाडीले कति बेला कहाँ भेट्छ र ठेलासहित सबै सामान उठाएर लैजान्छ भन्ने निश्चित नै हुँदैन।
यस्तै, तनावबीच उनी ठेला गुडाउँदै थिए। उनी कान र आँखा चनाखो राखेर ठेला गुडाउँछन्। तुलसीपुर बजारका गल्लीमा घुम्न पाउँदा उनलाई एक दिनमा एक हजारदेखि १५ सय रुपैयाँसम्म फाइदा हुन्छ।
यसरी ठेलामा सामान बेच्नु उनको बाध्यता हो। उनले जागिरका लागि प्रयास नगरेका होइनन् तर नागरिकताको प्रमाणपत्र नहुँदा अप्ठ्यारोमा छन्।
‘म पढे/लेखेको व्यक्ति भए पनि मसँग नेपाली नागरिकता छैन,’ उनले भने, ‘जागिर खोज्न जाँदा जहाँ पनि सबभन्दा पहिला नागरिकता माग्छन्। नागरिकता नहुँदा म जागिरका लागि अनफिट (अयोग्य) भएको छु।’
विशालले आफू पढाइमा अब्बल रहेको दाबी गरे। उनी विद्यालयमा शिक्षक बन्न सक्थे तर नागरिकता नभएका अड्किएको छ। नागरिकता नहुँदा उनले आफ्नो नामबाट मोबाइल फोनको सिमकार्ड निकाल्न पाएका छैनन्। बैंक खाता पनि छैन।
उनी भन्छन्, ‘नागरिकता पाउन नसकेका हामीजस्ता व्यक्तिको पहिचान गरी राज्यले समाधान दिनुपर्छ, हामीलाई नागरिकता दिनुपर्छ।’
विशाल २५ वर्षअघि तुलसीपुरमै जन्मेका हुन्, यही हुर्के, बढे। उनका दाजु विवेकले २०६३ सालमा आएको घुम्ती टोलीबाट नेपाली नागरिकताको प्रमाणपत्र पाए। विवेकपछिका तीन भाइ र तीन बहिनी नागरिकताविहीन छन्।
दुई दिदीको बिहे भइसकेको छ। अरू अविवाहित छन्। विशालका अनुसार उनले दाजुको नागरिकताको आधारमा अभिभावक कायम गरेर पढ्न पाएका हुन्।
विशालका बुवाआमा भारतीय नागरिक हुन्, घर भारतको तुलसीपुरमा छ। विशालले आफ्नो पुर्ख्यौली घर देखेका छन् तर आफू नेपालमै जन्मे–हुर्केकाले नेपाली नै हुँ भन्छन्।
‘मलाई भारतको नागरिकता लिएर भारतीय बन्न मन छैन,’ विशाल भन्छन्, ‘म यहीँ जन्मेँ, यही हुर्कें र मलाई यही ठाउँको माया छ। म नेपाली नागरिकता लिन चाहन्छु।’
नागरिकताको प्रमाणपत्र भए वा नभए पनि विशाल आफूलाई नेपाली हुँ भन्छन्। मेरो जीवन नेपालकै लागि हो भन्छन्।
‘म नेपाली भूमिमा जन्मेँ, यहीँको नुन खाएँ। मैले खाएको नुनको भारा (ऋण) नेपाल राष्ट्रलाई तिर्न चाहन्छु,’ उनी भन्छन्, ‘नेपाली नागरिकता नपाए पनि मेरो जीवन यही देशका लागि समर्पित गर्छु।’त
विशालले ठेला गुडाउँदै फलफूल बेचेको उनका कतिपय साथीहरूलाई मन पर्दैन रे, कोहीकोही नदेखेजस्तो गरेर हिँड्छन् रे। सबै यस्ता पनि छैनन्। कतिपयले चाहिँ श्रम गरेर बाँच्नु राम्रो हो, तिमी मेहनती छौ भनेर प्रोत्साहित गर्छन् रे।
विशाल भन्छन्, ‘मैले मान्छेको प्रवृत्ति चिन्ने मौका पनि पाएको छु। यहाँ भैयावादी (भारतीय ठानेर भैया भन्ने) प्रवृत्ति छ।’
विशाललाई साहित्यमा पनि रूचि छ। ग्राहक नआएर फुर्सद भएका बेला मोबाइल (फोनसेट) मै कविता लेख्छु भन्छन्। उनले एउटा उपन्यास पनि तयार पारेका छन् रे।
भन्छन्, ‘म उपन्यास छपाउने विचारमा छु। त्यसका लागि पनि पैसा जम्मा गर्दैछु।’
तुलसीपुरको घोराही चोकमा उनका बुवा रामदयाल गुप्ता र आमा निर्मला फलफूलकै व्यापारमा छन्। दाजु विवेक त्यही पसल हेर्छन्। पारिवारिक पेसामा आफू चाहिँ ठेला लिएर बाहिर निस्केको विशालले बताए।
‘केही काम नगरी गफ चुटेर बस्नु एउटा युवाका लागि लाज लाग्ने कुरा हो। केही पनि काम नगरी पृथ्वीको बोझ बनेर बस्न सुहाउँदैन,’ उनी भन्छन्, ‘ठेला गुडाउँदै व्यापार गर्दा समाज पढ्न पाइन्छ र थोरै भए पनि कमाएर खर्च चलाउन पाइन्छ।’
विशाल व्यस्त बजारमा ठेला राखेर गर्ने व्यापार अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्थे। तुलसीपुरका मेयर घनश्याम पाण्डेको समयमा बजार व्यवस्थापन गर्ने बहानामा ठेला दर्ता गर्न लगाइयो। दर्ता नभएका ठेला जफत गरिए।
विशालका अनुसार दर्ताका नाममा तीन हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म रकम असुल गरिएको थियो।
त्यो रकम कार्यपालिकाका केही सदस्य र केही वडा सदस्यको गोजीमा पुगेको भन्ने सूचनापछि व्यापक विरोध भयो। रकम उठाउनेहरूले फिर्ता गर्ने वाचा पनि गरे। अन्ततः ठेला दर्ता अभियानले हावा खायो।
स्थानीय सत्ताकै आडमा ज्यादती भएको विशालको आरोप छ। त्यसपछि भने उनी ठेलावाला बनेर निस्किए। ठेला राख्न दिनु हुन्न भन्ने आफ्नो मान्यता बदले। अहिले उनी ठेलावालाको हकअधिकारका पक्षमा बोल्न थालेका छन्।
‘बजार व्यवस्थित गर्नु राम्रो कुरा हो। सहर बजारमा ठेलागाडाले दुर्घटनाको जोखिम पनि बढाउँछ,’ उनको प्रश्न छ, ‘हामीबाट दर्ताको नाममा असुलेको पैसा कहाँ गयो? हाम्रो व्यवस्थापन गर्न नगरपालिकाले किन चासो दिएन?’
नगरपालिकाले देखाएकै ठाउँमा ठेला लगाउन आफूहरू तयार रहेको विशालको भनाइ छ।
‘अब हामीलाई सल्यान रोडको ट्याक्सी पार्क पछाडि र बसपार्कको पुलमुनि ठेला राख भनेर हुन्छ?’ उनको प्रश्न छ, ‘त्यहाँ हाम्रो लागि शौचालय र खानेपानीको प्रबन्ध हुनुपर्छ कि पर्दैन?’
उनका अनुसार ग्राहक नपुग्ने ठाउँमा ठेला लगाऊ भनेर हुँदैन।
जीवन चलाउन आफूहरू (ठेलावाला) बजारमा लुकीछिपी भए पनि ठेला गुडाउन बाध्य भएको उनले बताए।
नगरका कर्मचारीले ठेला राख्न दिँदैनन्। मकै पोलेर बेच्ने, च्याउ, सुन्तला, काफल, तरकारीका बेर्ना आदि बेच्ने सानातिना व्यापारीहरू नगरका कर्मचारी देखापरे भने भागभाग गर्छन्।
‘उनीहरू (नगर कर्मचारी) आएर हामीलाई बिचल्ली पारेर उठाएर लैजान्छन्,’ विशाल भन्छन्, ‘हात जोडेर रोइकराइ गर्दा पनि सुन्दैनन्। राज्य निर्दयी हुँदो रहेछ, म भोग्दै छु।’
नगर कर्मचारीले कसैका ठेला र सामान जफत गरे भने विशाल उपमहानगर कार्यालय पुगेर प्रतिरक्षा गर्छन्। यसै क्रममा एक पटक कार्यालय अगाडि नाराबाजी गर्दा आफूविरूद्ध मुद्दा चलाएर फसाउने षड्यन्त्र गरेको पनि उनले बताए।
आफूलाई सुकुम्बासी भन्ने मेयर टीकाराम खड्काले सडकमा सानो व्यापार गरेर जीवन चलाउनेको दुःखबारे अलिकति पनि चिन्तन नगरेको विशालको आरोप छ। ठेला व्यवस्थापनबारे कुरा गर्न खोज्दा खड्काले समय नदिएको विशालको भनाइ छ।
तुलसीपुर बजारमा कतिपय व्यापारीले आफ्नो पसल अगाडिको फुटपाथ भाडामा लगाएका उदाहरण छन्। त्यस्ता पहुँचवाला व्यापारी नगरपालिकाको नजरमा परेका छैनन्।
तुलसीपुर उपमहानगर कार्यालय अगाडि उत्तानो पारेर लडाइएका सय वटाभन्दा बढी ठेला छन्। कर्मचारीले कब्जा गरेका गरिबका ठेला फिर्ता गरिएका छैनन्।
‘हेर्दै जानुहोला गरिबको आँसुले एक दिन तिनीहरूलाई सराप्नेछ,’ विशाल आक्रोश प्रकट गर्छन्, ‘जीवनभरको कमाइले ठेला किन्नेको बिजोग भएको छ।’
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे ठेला व्यवस्थापन गर्न जरूरी रहेको बताउँछन्।
‘हाम्रा व्यापारीले व्यवसाय दर्ता गर्ने, कर तिर्ने; कसैले दर्ताबिना फाइदा लिने कुरा हुँदैन,’ चालिसे भन्छन्, ‘सय र पचास रुपैयाँ भन्दै कराउँदै सामान बेच्नेहरूका कारण हाम्रा व्यापारी मर्कामा परेका छन्।’
ठेलामा व्यापार गर्नेहरूका कारण बजार अस्तव्यस्त बनेको र दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ। फुटपाथमा हुने व्यापारमा पनि सुधार आवश्यक रहेको उनले बताए।
चालिसेका अनुसार ठेलावालाहरूलाई छुट्टै ठाउँमा व्यवस्थापन गर्नुपर्छ। ठेला व्यवस्थापनबारे आफूले खाका तयार पारेको उनले बताए। उनले त्यो खाका मेयरलाई बुझाउने छन्।
अर्का एक व्यवसायीका अनुसार ठेलासँगै राजनीति पनि जोडिएकाले व्यवस्थापनमा समस्या भएको छ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले मुख्य सडकमा राखिने ठेलागाढा जफत गर्ने गरेको र जरिवाना तिरे सामान फिर्ता दिइएको बताउँछन्। मुख्य सडकमा ठेला राख्नेलाई १५ सय जरिवाना तोकिएको छ।
'ठेला पसलहरूलाई दर्ता गरेर व्यवस्थित गर्ने कुरा पहिले भएको थियो। तर विवादका कारण रोकियो। मुख्य मेन सडकमा राखिएका ठेला जफत गरिरहेका छौं। जरिवाना दिएपछि सामान फिर्ता दिन्छौं। ठेला भने जफत हुन्छ,' उनले भने।