उदयपुरको बेलका नगरपालिका वडा ७ का वडाध्यक्ष निकेश राई त्यसबेला भर्खरै निर्वाचित भएका थिए। आफ्नै वडामा पर्ने गोवाटार भन्ने गाउँमा बस्नेत परिवारमा विवाद भएको खबर आएपछि मध्यस्थता गरेर मिलाउन उनी त्यहाँ पुगे।
यो जेठ ५ गतेको कुरा हो। उनी त्यहाँ पुगेपछि गाउँले र बस्नेत परिवारका सदस्य पनि भेला भए। कुरा सुन्दा थाहा भयो, नातामा दाजु पर्ने नरबहादुर बस्नेतले भाइ राजकुमार बस्नेतको परिवारमा रहेका तीन जना महिला सदस्यलाई ‘बोक्सी’ को आरोप लगाउँदा रहेछन्।
आफ्ना दुई जना आमा र पत्नी सरितालाई निरन्तर बोक्सीको आरोप लगाउन थालेपछि राजकुमारले वडाध्यक्ष र गाउँले गुहारेका थिए। त्यहाँ वडाध्यक्षले मात्रै होइन, गाउँलेले पनि नरबहादुरलाई हप्काए। अन्धविश्वासको पछि लागेर कसैलाई आरोप लगाउन हुन्न भनेर सबैले उनलाई सम्झाए।
‘यस्तो नचाहिने कुरा अबदेखि नगर्नू, यदि फेरि पनि यस्तै कुरा गरेको थाहा पाए कानुनी कारबाही हुन्छ अरूलाई बोक्सी भनेर आरोप लगाउन पाइन्न’, वडाध्यक्ष राईले नरबहादुरलाई सम्झाउँदै भने, ‘तपाईंहरू आफन्त मात्रै होइन, छिमेकी पनि हुनु हुँदोरहेछ। यस्तो कुरा गर्नु हुँदैन।’
वडाध्यक्षदेखि गाउँलेसम्मले र्याखर्याख्ति पारेपछि नरबहादुरले गल्ती महसुस गरे। आफ्नी काकीहरू र बुहारीलाई त्यस्तो आरोप नलगाउने वाचा गरेर उनीहरू छुट्टिए। आफन्त नै भएका कारण राजकुमारका दुबै आमा र पत्नीले पनि नरबहादुरलाई माफी दिए।
यसरी वडाध्यक्ष र छरछिमेकसँग अबदेखि आरोप नलगाउने वाचा गरेका ४३ वर्षीय नरबहादुरले भदौ १७ गते शुक्रबार राजकुमारसहित उनको परिवारका तीन जना सदस्यको विभत्स हत्या गरे।
खेतमा धान गोडेर फर्किँदै गरेका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र उनीहरूका १२ वर्षका छोरा सुजन बस्नेतको खुकुरी प्रहार गरी हत्या गरेका नरबहादुरले के त्यही कारण यति ठूलो नरसंहार मच्चाए?
अभियुक्तलाई पक्रेर अनुसन्धान गरिरहेको उदयपुर प्रहरीले अहिलेसम्म यसबारे केही भनेको छैन। ‘अहिले पनि हामी अनुसन्धानकै क्रममा छौं’, उदयपुर प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाँलले भने ‘हत्याको कारण सामान्य पारिवारिक विवाद मात्रै देखिएको छ।’
त्यो विवाद के थियो भन्ने चाहिँ उनले खुलाएका छैनन्।
बस्नेत परिवारका केही छिमेकी र वडाध्यक्ष राईका अनुसार भने अन्धविश्वासको आवेगले यो घटना निम्तिएको हो।
‘उनीहरूको घर सय मिटर तल्तिर र मास्तिर थियो,’ बस्नेतका एक जना छिमेकीले सेतोपाटीसँग भने, ‘आउजाउ हुन्थ्यो। नातेदार थिए। त्यही बोक्सी आरोप लगाउँदा भने सम्बन्ध बिग्रेको थियो।’
वडाध्यक्ष राईले पनि त्यही आरोप लगाउने र राजकुमारको परिवारले प्रतिवाद गर्दै आएकोबाहेक अन्य कुनै लेनदेन वा विवादको कारण थिएन।
‘त्यही विवाद यति ठूलो रूपसम्म पुगेछ जस्तो लागेको छ’, राईले भने, ‘बाँकी त प्रहरीले अनुसन्धान गरिरहेको छ। कारण खुल्ला नि!’
शुक्रबारका दिन राजकुमार र सरिता मात्रै होइन, खेतमा काम गर्न उनीहरूको साथमा छोरा सुजन र दुबै जना आमाहरू पनि खेततिरै गएका थिए। ११ देखि साढे ११ बजेतिर दुई जना आमाहरूले छोराबुहारी र नातिलाई घर गएर गाइवस्तुको हेरचाह गर्न भनेर अह्राए।
‘नरबहादुर खुकुरी बोकेर बाटोमा ढुकेर बसेको रहेछ,’ वडाध्यक्ष राईले भने, ‘बबिङ खोलामा उनीहरू आइपुग्दा आक्रमण गरेर हत्या गरेछ।’
भाइको परिवारका तीन जनाको हत्या गरेपछि नरबहादुरले गाउँलेलाई ‘मैले मान्छे मारें, अब प्रहरीकोमा जान्छु। मेरो परिवारको हेरविचार गरिदिनु भनेर केही गाउँलेलाई भनेको’ वडाध्यक्षले सुनाए।
यदि त्यस दिन आमाहरू पनि उनीहरूसँगै फर्केका भए उनीहरूमाथि पनि आक्रमण हुनसक्ने खतरा रहेको छिमेकी बताउँछन्।
‘मलाई त्यो दिन साढे दुई बजेतिर खबर आएपछि बल्ल मैले प्रहरीलाई खबर गरें’, वडाध्यक्ष राईले भने, ‘त्यसक्रममा प्रहरीले उनलाई फेला पारेर पक्रेको हो।’
नरबहादुरले आरोप लगाउने क्रममा उनले ज-जसलाई बोक्सी आरोप लगाए, तिनै महिलाले सपनामा आफूलाई दुःख दिने गरेको बताउँथे। पत्नी, एक छोरा, तीन छोरीका अभिभावक उनको ठूली छोरीको बिहे भइसकेको छ। आफूलाई सपनामा दुःख दिएकै कारण काकीहरू र बुहारीलाई ‘बोक्सी’ करार गरेका नरबहादुरले अन्ततः उनीहरूको ज्यान लिएरै छाडे।
राजकुमारको परिवारमा अब दुई जना साना छोरीहरू र दुई जना आमाहरू बाँकी छन्। बाबुको पहिल्यै मृत्यु भइसकेको छ। ठूली छोरी ९ र सानी छोरी पाँच वर्षका छन्। उनीहरूलाई राजकुमारकी बहिनीले हेरचाह गर्दैछिन्। आमाहरू छोराबुहारी र नातिको शोक बारेर बसेका छन्।
उदयपुरको यो सामूहिक अनि पारिवारिक सदस्यबाटै भएको हत्याकाण्डले तीन वर्षअघिको पाँचथर र एक वर्षभन्दा केही अघिको संखुवासभा हत्याकाण्ड सम्झाइदिएको छ।
२०७८ भदौ २१ गते सोमबार सोमबार संखुवासभाको मादी-१ उम्लिङका तेजबहादुर कार्कीको परिवारै सखाप हुने गरी यस्तै घटना भएको थियो ।
५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या परिवारकै सदस्यबाट भएको थियो । परिवारका दुई जना जवान छोरा विदेशमा रहेका बेला घरमा ९० वर्षका हजुरबुबा मात्रै संयोगले बाँचेका थिए।
उनीहरू सबैको हत्या नातामा भतिजा पर्ने उम्लिङकै लोकबहादुर कार्कीले गरेका थिए।
संखुवासभा काण्ड हुनुभन्दा दुई वर्षअघि अर्थात २०७६ जेठ ६ गते राति पाँचथर मिक्लाजुङ–३ को आरुबोटे गाउँमा दुई परिवारका नौ जनाको यही शैलीमा विभत्स हत्या भएको थियो। दुई वटा परिवारका सबैजसो सदस्यको ज्यान लिने गरी भएको त्यो घटनामा पनि परिवारकै सदस्य ज्वाइँ मुख्यकर्ता थिए।
यद्यपि, ससुराली परिवार सखाप पारेर हत्यारा स्वयंले ‘आत्महत्या’ गरेका कारण त्यो नरसंहारमा प्रहरी अनुसन्धान नै टुंगियो। प्रहरीले हत्यारा भनेर किटान गरेका व्यक्ति झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धान रोकियो ।
त्यो घटना पारिवारिक किचलोले निम्त्याएको विभत्स घटना थियो। मिक्लाजुङ–३ का बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको घरमा नौ जनाको ज्यान लिने घटना बमबहादुरकै कान्छा ज्वाइँ मनबहादुर माखिमको ‘सनक’को परिणाम थियो। उनले ससुरा बमबहादुर फियाक, सासु पुर्सीमाया, पत्नी मनकुमारीको हत्या गरेका थिए। बमबहादुरकी अर्की छोरीतर्फकी नातिनी १० वर्षीया आशिका खजुमलाई पनि मनबहादुरले हत्या गरेका थिए। मनबहादुर त्यतिमै रोकिएनन्। साँढु दाइ धनराज शेर्माको परिवारका कोही पनि सदस्य नरहने गरी नरसंहारमा उत्रिए। धनराजसहित उनका परिवारमा पत्नी जस्मिता, १२ वर्षीया छोरी युहाना, १० वर्षीया मुना र भतिजी ८ वर्षीया इच्छाको पनि सोही घटनामा हत्या भएको थियो।
संखुवासभा घटनामा पनि लोकबहादुरको ‘सनक’ले नै काम गरेको थियो । तेजबहादुरले आफूलाई पहिला गालीगलौज गरेको लोकबहादुरले सम्झिएपछि ‘रिस’ उठेको र त्यसपछि आँगनबाट दाउरो टिपेर उनलाई हिर्काएर हत्या गरेको उनले त्यसबेला बयान दिएका थिए। यसरी परिवारका सबैजसो सदस्यको हत्या भएको थियो।