इन्द्रजात्राको लिंगो (य:सिं) बुधबार बिहान हनुमानढोकामा ठड्याइएको छ।
प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ। बुधबार बिहान ७:१५ बजेको साइतमा लिंगो ठड्याइएको हो ।
इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें या:’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।
भक्तपुरको चित्तपोलस्थित य: सिंगुँ अर्थात जंगलबाट ल्याइएको ३२ हात लम्बाइको लिंगो मानन्धर समुदायले उठाउने प्रचलन छ ।
परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइन्छ।
इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ। नेवार समुदायमा मनाइने यो जात्राको उद्गमथलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ ।
आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी मनाइन्छ । लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजु पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँदछन् । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ।