जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले मंगलबारदेखि ओपिडी सेवा बन्द गरेका छन्। जुम्ला जिल्ला अदालतले प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहलाई पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरूद्धमा संस्थाका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेका हुन्।
आइतबार डाक्टर साहमाथि बालहिंसा गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता भएको थियो। प्रहरीले जाहेरीका आधारमा चलाएको प्रक्रियाअनुसार अदालतले उनलाई सोमबार पक्राउ गर्न पुर्जी जारी गरेको हो। डाक्टर साह जुम्ला बाहिर भएकाले पक्राउ गर्न ढिलाइ भएको प्रहरीले जनाएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समस्या उत्पन्न हुनुको मुख्य कारण भदौ २ गतेको घटना हो। त्यसदिन प्रतिष्ठानमै कार्यरत ओपिडी सहायक धनबहादुर शाही र डाक्टर साहबीच लफडा भएको थियो। धनबहादुरले आवेगमा आएर डाक्टर साहमाथि हातपात समेत गरेका थिए।
डाक्टर र कर्मचारी बीचको उक्त लफडा अहिले प्रतिष्ठानकै समस्याका रूपमा खडा भएको छ।
भदौ २ गते ओपिडी असिस्टेन्ट शाही आफ्ना ६ वर्षीय छोराको उपचार गराउनका लागि ९ बजे प्रतिष्ठानमा पुगेका थिए। ओपिडी नखुलिसकेकोले उनले छोरालाई सिधै आकस्मिक कक्षमा उपचारका लागि लिए।
उनले त्यहाँ भएका डाक्टर साहसँग छोराको पेट दुखेको र टाउकोमा टाका लगाइएकोले त्यसलाई काट्नुपर्ने बताए। डाक्टरले उनलाई यस्तो सानोतिनो कुराको लागि इमरजेन्सी वार्डमा उपचार नगरिने र ओपिडी खुलेपछि जान भने।
सिसिटिभी फुटेजमा धनबहादुर छोरालाई लिएर ९ बजेर १३ मिनेटमा आकस्मिक कक्षको ढोकामा पुग्छन् र बाहिरैबाट डाक्टरलाई उपचारका लागि आग्रह गर्छन्। उनले बारम्बार अग्रह गर्दा पनि उपचार गर्न नमानेपछि उनी प्रतिष्ठानमै कार्यरत साथी अखिल गौतमलाई ल्याएर आउँछन्।
गौतमले पनि डाक्टरसँग बालकलाई हेर्दिन आग्रह गर्छन्। तर डाक्टरले उनको कुरा पनि अस्वीकार गरिदिन्छन्।
९ बजेर १८ मिनेटमा गौतमको अनुरोध पनि अस्वीकार गर्दै डाक्टर साह ढोकाबाहिर निस्कन्छन्। धनबहादुर बाहिर निस्किएर डाक्टरमाथि हात हाल्छन्। धनबहादुरले साहलाई धकेलेर एक पटक हानेपछि डाक्टर बस्छन्। त्यसपछि पनि धनबहादुरले दुई पटक हातले हानेका छन् भने एक पटक लात्तिले हानेका छन्।
‘उहाँ आएर डाक्टरलाई भन्नुभएछ, डाक्टरले यहाँ हुँदैन भनेपछि उहाँ मकहाँ पुग्नुभयो,’ हातपात हुनुअघि धनबहादुरसँग सहजीकरण गर्न पुगेका गौतमले सेतोपाटीसँग भने, ‘म गएर बाबुलाई उपचार गराएर स्कुल लैजानुपर्ने भएर इमरजेन्सीमा आउनु भएको हो, उहाँ पनि यहीँको स्टाफ हो भनें। डाक्टरले स्टाफ भए त झनै गर्दिनँ भन्नुभयो।’
उनले थपे, ‘म डाइरेक्टरलाई फोन गरेर भन्छु भनेर फोनको लक खोल्दै थिएँ, उहाँ (धनबहादुर) ले आवेगमा आएर डाक्टरलाई हानिसक्नुभएछ।’
गौतमका अनुसार त्यसअघि एकजना आकस्मिक कक्षमा कार्यरत महिला स्वास्थ्यकर्मीले डाक्टरसँग गएर बरू बच्चलाई म हेर्दिन्छु समेत भनेकी थिइन्। त्यसमा पनि डाक्टरले ती स्वास्थ्यकर्मीलाई नै हप्काएको सिसी टिभी फुटेजमा देखिन्छ।
‘नर्सले म हेर्दिन्छु नि भन्नुभएको रहेछ, डाक्टरले कैंची दिएर ल गर भनेर हपार्नुभएको रहेछ,’ गौतमले भने, ‘त्यो पनि मेडिकल कैंची होइन पेपर काट्न प्रयोग गरिने कैंची थियो।’
डाक्टरमाथि आवेगमा आएर हात हालेका धनबहादुर त्यही दिनदेखि प्रहरी हिरासतमा छन्। उनलाई बयानका लागि आज अदालतमा उपस्थित गराइँदै छ।
आफ्ना बालक छोरामाथि हिंसा गरेको भन्दै धनबहादुरकी श्रीमती आशा हमाल शाहीले गत सोमबार प्रहरीमा जाहेरी दिएकी थिइन्।
‘अलिकति पहिला टाउकोमा सानो चोट पनि लागेको थियो, त्यसमा टाका लगाइएको थियो, त्यो दिन बिहानैदेखि छोराले पेट दुख्यो भनिरहेको थियो,’ आशाले सेतोपाटीसँग भनिन्, ‘बाबु पेट दुख्यो भनेर पछि रून थाल्यो। उनको बाबाले म हस्पिटल लिएर उपचार गराएर स्कुल पुर्याउँछु र म अफिसमा जान्छु भनेर बाबुलाई लिनभएको हो, धेरैचोटी डाक्टरलाई हेर्दिनुहोस् भनेर रिक्वेस्ट गर्नुभयो।’
उनका अनुसार धनबहादुरले आफू पनि प्रतिष्ठानकै कर्मचारी हो भनेपछि पनि डाक्टर साहले बिरामी हेर्न इन्कार गरेका थिए।
‘मेरो आज मुड छैन, यस्ता बिरामी कति हुन्छन् कति। यहाँका यी जुम्लीहरू के खाएर बिरामी हुन्छन्। मेरो मुडै छैन भनेर उहाँ मोबाइलमा मात्र व्यस्त हुनुभयो,’ उनले भनिन्, ‘त्यहाँ अरू बिरामी पनि कोही थिएनन्, मेरो बुढाले कति धेरै रिक्वेस्ट गर्नुभा छ।’
छोरालाई पछि आफूले जुम्लाको निजी ओम पोलिक्लिनिक लिएर उपचार गराएको आशाले बताइन्।
प्रहरीले धनबहादुरलाई पक्राउ गरेपछि यो विषयलाई भित्रै सहमति गरी मिलाउन पनि आफूले उच्चस्तरका पदाधिकारीसँग आग्रह गरेको उनले बताइन्।
‘आवेग सहन नसकेर मेरो श्रीमानले गल्ती गरिहाल्नुभयो, उहाँले र मैले माफी माग्छौं भनेर धेरै आग्रह गरेकी पनि थिएँ, तर सुनुवाइ नै भएन,’ उनले भनिन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छानबिन समिति गठन गरी हातपात गरेका कर्मचारी धनबहादुर शाहीलाई ४५ दिनका लागि निलम्बन गरेको छ।
घटना र अबको सेवा सुचारू गर्ने विषयमा प्रतिष्ठानका उपकुलपति नै अन्यौलमा छन्।
‘घटनापछि डाक्टरको उजुरीका आधारमा भित्र नियमानुसार प्रक्रिया चलिरहेको थियो। हामीले समिति बनाएर कुटपिट गर्ने सदस्यलाई निलम्बन पनि गरिसकेका थियौं,’ उपकुलपति डाक्टर मंगल रावलले भने, ‘अब बीचमा डाक्टरलाई नै पक्राउ पुर्जी जारी भयो भनेपछि कसैले पनि इमरजेन्सीबाहेकका काम नगर्ने भनेका छन्, म आफैं अचम्मित छु।’
उनले यो घटनाले डाक्टर हतोत्साही भएको बताए।
‘एक त कर्णालीमा डाक्टर ल्याउनै समस्या छ, त्यसैमाथि यसरी डिमोटिभेट गर्यो भने त संस्थाकै भविष्य धरापमा पर्छ,’ उनले भने, ‘आन्तरिक रुपमा हाम्रो समितिले काम गरिरहेको छ, बाहिरका कानुनी कुरामा दुवै पक्षबाट परेको उजुरीमा छानबिन भइरहेकै होला।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डाक्टर कमल पन्थीले आफूहरूको माग अदालतले जारी गरेको पक्राउ पुर्जी खारेज गर्नुपर्ने रहेको बताए।
‘हाम्रा साथीमाथि भएको अन्यायविरूद्ध अनिश्चितकालीन आन्दोलन सुरू गरेका छौं,’ उनले भने।