कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिने घोषणा गरेका छन्।
प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहलाई अदालतले पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरोधमा त्यहाँ कार्यरत अरू चिकित्सकले राजीनामाको घोषणा गरेका हुन्।
प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाका अनुसार अहिले चिकित्सक र अरू स्वास्थ्यकर्मीसहित ६० जनाको राजीनामा घोषणा पत्र आएको छ।
उनीहरूले स्थानीय प्रशासनलाई समेत बोधार्थ लेखेका छन्। यो विषयमा अहिले छलफल भइरहेको डा. रोकायाले बताए।
‘स्थानीय प्रशासन र हाम्रो टिमसहित छलफल भइरहेको छ, ६० जना जतिको राजीनामा घोषणा पत्र आएको छ,’ उनले भने।
प्रतिष्ठानमा ओपिडी असिस्टेन्टका रूपमा कार्यरत धनबहादुर शाहीले आफ्नो छोराको उपचार गर्न ईन्कार गरेको भन्दै भदौ २ गते डा. साहमाथि कुटपिट गरेका थिए। कुटपिट गर्ने शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शाहीकी श्रीमती आशा हमाल शाहीले छोरामाथि बाल हिंसा गरेको भन्दै प्रहरीमा आइतबार जाहेरी दिएकी थिइन्।
उक्त जाहेरीका आधारमा प्रहरीले प्रक्रिया थालेपछि जुम्ला जिल्ला अदालतले डा. शाहलाई पक्राउ गर्न सोमबार पुर्जी जारी गरेको थियो। उक्त पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग गर्दै प्रतिष्ठानमा मंगलबार र बुधवार इमरजेन्सीबाहेकका सेवा ठप्प पारिएको छ।
यो पनि: कर्मचारी र डाक्टरबीच लफडा बढ्दै जाँदा ठप्प भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान