म्याद थप्नका लागि लगिएका एक जना बन्दी दाङ जिल्ला अदालतबाट फरार भएका छन्।
सुन चोरी आरोपमा बुधबार घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर बजार क्षेत्रबाट पक्राउ परेका घोराही– १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार बेलुका जिल्ला अदालतबाट फरार भएका हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले म्याद थपका लागि लगिएका विश्वकर्मालाई भित्र न्यायाधीशसमक्ष पेस गर्ने क्रममा शौचालय जान्छु भनेर त्यहीँबाट भागेको भन्ने सूचना आफूले पाएको सेतोपाटीलाई बताए।
‘लङ ट्वाइलेट लाग्यो भनेपछि जिल्ला अदालतभित्रै शौचालय जान दिइएको रहेछ,’ एसपी वलीले भने, ‘त्यही क्रममा ऊ शौचालयको झ्यालबाट फरार भएको भन्नेछ।’
शौचालय गएका विश्वकर्मा लामो समयसम्म पनि नआएपछि ढोका फोरेर पाँच बजेतिर हेर्दा त्यहाँ फेला नपरेको एसपी वलीले बताए।
पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिलाई एक दिनभन्दा बढी थुनामा राख्न अदालतको आदेश लिनुपर्छ। त्यसरी अदालत लैजाँदा हत्कडी लगाइए पनि न्यायाधीशकहाँ उपस्थित गराउँदा हत्कडी खोल्ने गरिन्छ।
त्यसैको फाइदा उठाउँदै विश्वकर्माले शौचालय जान्छु भनेर योजनाबद्ध रूपमा झ्यालबाट हाम फालेर निस्किएको र त्यसपछि अदालतको पर्खाल नाघेर फरार भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए।
‘फरार विश्वकर्माको खोजीमै तल्लीन छौं,’ उनले भने, ‘विश्वास छ छिट्टै पक्राउ गर्न सफल हुनेछौं।’
जिल्ला प्रहरी प्रमुख एसपी वलीले आफू एआइजीको स्कर्टिङको लागि भालुबाङमा रहेको जानकारी दिँदै म्याद थप्न लैजाँदा लापरबाही गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउने बताए।
‘बन्दीलाई म्याद थप्न लैजाँदा प्रहरीले अपनाउनु पर्ने सावधानीमा किन कमजोरी भएको हो?,’ उनले प्रश्न गरे, ‘म कार्यालय पुगेपछि अदालत लैजाने प्रहरीमाथि अनुसन्धान गर्नेछु।’
त्यसमा प्रहरीको मिलेमतो देखिए कारबाही गर्ने उनले बताए।
जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय बीचको दूरी करिब एक डेढ सय मिटरको हाराहारीमा छ। नजिकै सशस्त्र प्रहरीको युनिट पनि बसेको छ। त्यसको सम्मुख पूर्वतिर भरतपुर डाँडोमा नेपाली सेनाको रणसिंह गण पनि बसेको छ। जिल्ला अदालत घोराहीको सुरक्षा घेराभित्र पर्ने प्रमुख स्थान हो।