पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आर्ट ग्यालरी र पुस्तकालयको वैकल्पिक व्यवस्था गरेर मात्र भवन भत्काउँछु भनेका थिए। पोखरा आर्ट ग्यालरीमा भदौ १० गतेदेखि सुरू 'अनन्त रेखाहरू' शीर्षकको चित्रकला प्रदर्शनी उद्घाटनमा पनि उनले उक्त प्रतिबद्धता दोहोर्याए।
आर्ट ग्यालरी र पुस्तकालय भवनको भुइँतलामा २७ वटा व्यापारिक सटर बनाइएका थिए। महेन्द्रपुलको सडक वारिपारि रहेका यी दुई भवनको माथिल्लो तलामा एकातिर पोखरा आर्ट ग्यालरी र अर्कोतर्फ पुस्तकालय छ। भुइँतलाका व्यवसायीले विगत ३ वर्षदेखि महानगरलाई तिर्नुपर्ने भाडा तिरेका थिएनन्। उनीहरूको म्याद त्यति बेला नै सकिएको थियो।
सटर भाडामा लिएका व्यवसायीले नाफा लिएर फेरि अर्को व्यक्तिलाई भाडामा लगाएका थिए। अघिल्ला मेयर मानबहादुर जिसीले पनि उनीहरूलाई सटर छाड्न पटकपटक निर्देशन दिए पनि व्यवसायी अटेर गर्दै बसेका थिए।
हालका मेयर आचार्यले ३५ दिने सूचना दिएर, व्यवसायीलाई जानकारी गराएर सटर छाड्न लगाएका थिए। म्याद सकिएपछि बसेको तीन वर्षको भाडा पनि सरकारी असुलीसरह व्यवसायीसँग असुल गर्ने उनले बताएका छन्।
महानगरको पछिल्लो निर्देशनअनुसार व्यवसायीले सटर खाली गराएका थिए। उनीहरूले आफ्नो व्यवसाय अन्यत्र सारेका थिए। बिहीबार बिहान दुइटा डोजरसहित मेयर आचार्य तिनै सटर भत्काउन पुगे। उनले यसअघि कलाकर्मीसँग गरेको वाचाअनुसार सटर र तिनका होर्डिङ बोर्ड मात्र भत्काएनन्, पुस्तकालयका बार्दली, रेलिङ र ढलानका बाहिरी भागसमेत डोजर लगाएर भत्काइदिए।
कलाकर्मी र पुस्तकालय व्यवस्थापन समितिसँग विकल्प नदिँदासम्म भवन नभत्काउने वाचाअनुसार काम नभएको भन्दै उनीहरूले मन दुखाएका छन्।
पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राध्यापक डाक्टर विश्व श्रेष्ठले पुस्तकालय भत्काउँदा मन रोएको बताए।
'सटर मात्र भत्काउने भनिएको थियो। हामीलाई विकल्प दिएर मात्र भत्काउने कुरा थियो,' श्रेष्ठले भने, 'पुस्तकालय आउँदा त पुस्तकालयकै रेलिङ भत्काइएछ। डोजरले चिथोरेको देख्दा मन भक्कानिएर आयो।'
आर्ट ग्यालरी र पुस्तकालय भवनका सटर भत्काउने थाहा पाएर बिहानै महेन्द्रपुल पुगेका सिर्जनशील कलाकार समूह पोखराका सचिव अमृत कार्की जथाभावी डोजर लगाएको देखेर आक्रोशित भए।
सटर र होर्डिङ बोर्ड हटाउँदा चनाखो भएर हेरिरहेका कार्कीले जब भवनका ढलान र रेलिङ भत्काउन थालियो, तब मेयर आचार्यदेखि वडाध्यक्ष, नगरप्रहरी र डोजर चालकलाई समेत आग्रह गरे, 'यसरी जथाभावी डोजर नचलाउनुस्, पुस्तकालयभित्र किताब छन्, आर्ट ग्यालरीमा चित्रहरू छन्, चित्रकला र पुस्तक अन्त राख्ने ठाउँ दिनुस्, त्यसपछि भत्काउनु होला।'
ग्यालरीमा जारी चित्रकला प्रदर्शनीमा वरिष्ठ कलाकार दुर्गा बराल 'वात्सायन' देखि नवआगन्तुक कलाकार गरी ८६ जनाका चित्रकला प्रदर्शन गरिएको छ। महानगरले डोजर लगाउने भनेपछि केही कलाकारले बुधबार नै प्रदर्शनीबाट आफ्नो चित्र फिर्ता लगेका थिए। डोजर चित्रकलामाथि लाग्ने डरले उनीहरूले चित्र फिर्ता लगेको सचिव कार्कीले बताए।
सिर्जनशील कलाकार समूहका अध्यक्ष मिलन शेरचनले पुस्तकालयमा जथाभावी डोजर चलाउँदा आफूहरूको मन चिथोरिएको बताइन्। चित्रकला प्रदर्शनीमा शेरचनले बालुवा र रङ प्रयोग गरेर पहाडमा पहिरैपहिरो झरेको चित्र राखेकी छिन्।
हरियो पहाडमा तेर्सिएको मोटरबाटो अवरूद्ध पार्ने पहिरोको चित्र देखाउँदै उनले भनिन्, 'विकासका नाममा विनाश नहोस् भनेर यो चित्र कोरेकी थिएँ। अहिले ग्यालरी र पुस्तकालय विनाश गर्न डोजर लगाइएको छ।'
प्रदर्शनी भइरहेको ग्यालरीमा डोजर लगाउन नदिन सिर्जनशील कलाकार समूहका अध्यक्ष शेरचन, उपाध्यक्ष दलबहादुर गुरुङ, सचिव कार्की, कोषाध्यक्ष झविन्द्र गुरुङ, सदस्यहरू हेमकान्ती गुरुङ, ज्योति गुरुङ, केदार पालिखे, युवराज लामिछाने लगायत विहानै महेन्द्रपुल पुगेका थिए। ग्यालरीको भित्तामा डोजरको बकेटले चिथोर्दा उनीहरू आक्रोशित बनेका थिए।
यसरी जन्मिएको थियो आर्ट ग्यालरी र पुस्तकालय
नेपालका कलाकर्मीहरू पोखरालाई 'पानी रङको राजधानी' मान्छन्। पोखरामा धेरै पानी पर्ने वा फेवासहित ८ वटा तालतैला र नदीनाला भएर मात्र पोखरा पानी रङको राजधानी भएको होइन। पोखराबाट देखिने दृश्य क्यानभासमा उतार्दा पानी रङ प्रयोग हुने भएकाले यसलाई 'पानी रङको राजधानी' भनिएको कलाकारहरू बताउँछन्।
पोखरालाई कर्मथलो बनाएका अधिकांश कलाकारले पानी रङबाटैर चित्र बनाउने समूहका सचिव कार्की बताउँछन्। पोखरामा बसेर चित्र कोर्न स्वदेशी मात्र होइन, विदेशी कलाकार पनि उत्तिकै लालायित हुन्छन्। पोखरेली कलाकारसँगै विदेशी कलाकारका लागि पनि प्रदर्शनी गर्ने त्यही एउटा आर्ट ग्यालरी हो।
पोखराका चित्रकारलाई संगठित गरेर ग्यालरी खोल्न चित्रकारहरूले पञ्चायतकालदेखि नै दुःख गर्दै आएका थिए। २०२२ सालमा तत्कालीन नेपाल ललितकला संस्थाले आयोजना गरेको राष्ट्रिय चित्रकला प्रदर्शनीमा प्रथम भएका कलाकार दुर्गा बरालले त्यति बेलादेखि नै पोखरालाई चित्रकलाको केन्द्र बनाउन खोजेका थिए।
संस्थाका तत्कालीन सदस्य बरालकै प्रस्तावमा २०२२ सालमा तत्कालीन अञ्चलाधीश पदेन अध्यक्ष हुनेगरी नेपाल ललितकला संस्था गण्डकी अञ्चल शाखा गठन भएको थियो। संस्थाका केन्द्रीय पदेन अध्यक्ष राजा हुने व्यवस्था थियो।
संस्थाका अञ्चल शाखा पोखरामा खोलिए पनि कुनै कार्यालय थिएन। घर भाडामा लिएर चलाएको बरालले सम्झिन्छन्।
उनका अनुसार सुरूका केही बैठकमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले समय दिए पनि विस्तारै पन्छिन थाले। ललितकला संस्था गण्डकी शाखा निष्क्रिय हुन थाल्यो। ललितकला संस्थाले काम गर्न नसक्ने निष्कर्ष निकालेर बरालले कलाकर्मीहरूलाई एकजुट बनाएर पुरानी शिल्पी समूह खोले। दर्ता गर्न जाँदा नाम परिवर्तन गर्नुपर्ने भएकाले पोखरा कलाकार समूह नाम राखेको उनले बताए।
त्यति बेला संस्थाका अध्यक्ष बराल नै थिए।
पञ्चायतकालमा यसरी संगठित रूपमा चित्रकलामा लागेका पोखरेली कलाकारले २०४६ सालको परिवर्तनसँगै फक्रिने र फस्टाउने अवसर पाए। २०५६ सालमा संस्थाको नाम परिवर्तन गरेर बरालकै अध्यक्षतामा सिर्जनशील कलाकार समूह जिल्ला प्रशासनमा दर्ता भयो। अहिलेसम्म यो समूह पोखराको कला जगतमा अग्रणी छ।
समूहले सामूहिक कार्यशालादेखि प्रदर्शनीहरू गर्दै आएको थियो। धेरैजसो प्रदर्शनी पोखरा सभागृहको पिँढीमा हुन्थ्यो। भित्र हलमा कहिले सांगीतिक समारोह त कहिले राजनीतिक भाषणले प्रदर्शनीलाई अवरोध पुर्याउँथ्यो।
'सांगीतिक र भाषणको कार्यक्रमले हाम्रो प्रदर्शनमा अवरोध गर्योर त्यसपछि हामी ग्यालरी बनाउने भनेर ठाउँ खोज्न थाल्यौं,' बरालले भने।
ठाउँ खोज्ने क्रममा महेन्द्रपुलको पोखरा सार्वजनिक पुस्तकालय भवनको छानो चुहिएर अर्को भवनमा सरेको उनीहरूले थाहा पाए। त्यही चुहिने भवन सरसफाइ र रंगरोगन गरी नगरपालिकासँग मागेर समूहले चित्रकला प्रदर्शनी थालेको थियो।
पञ्चायतकालमै बनेको पुरानो भवन प्रदर्शनीका लागि साँघुरो भयो। त्यही भवनसँगै जोडिएर नगरपालिकाले अर्को एकतले भवन बनाएको थियो जसको छत खाली थियो। समूहका तत्कालीन अध्यक्ष बरालको अगुवाइमा संस्था दर्ता गर्नासाथ २०५६ सालमै तत्कालीन पोखराका मेयर कृष्ण थापासँग उक्त छत मागे। छतमा अस्थायी संरचना बनाएर ग्यालरी खोल्ने प्रस्ताव गरे।
तत्कालीन मेयर थापाले प्रस्ताव स्वीकृत गरिदिए। अलि फराकिलो ग्यालरी बनाउन पाउने भएपछि पोखराका कलाकारले पैसा उठाउन थाले।
'कसैले दस हजार, कसैले ५ हजार, कसैले १५ हजार दिएका थिए। सामाजिक संस्था र केही रकम नगरपालिकाले पनि दिएपछि हामीले यो ग्यालरी बनाएका थियौं,' बरालले भने।
उनका अनुसार त्यति बेला नेपाल ललितकला प्रज्ञा प्रष्ठिानले ८ लाख रूपैयाँ सहयोग गरेको थियो। नगरपालिकाले पनि थोरै सहयोग गरेको थियो। करिब १५ लाख रूपैयाँ जुटाएर उक्त ग्यालरी बनाइएको थियो।
२०५६ सालदेखि हालसम्म सञ्चालित ग्यालरीमा सयौं चित्रकला प्रदर्शनी भइसकेका छन्। कोरोना महामारीअघि वर्षमै २० वटासम्म प्रदर्शनी भएको समूहले जनाएको छ।
केही समयअघि मात्र उक्त ग्यालरीमा नेपालभरका कार्टुनिस्टले बनाएका कार्टुन प्रदर्शनी भएको थियो। अहिले चित्रकला प्रदर्शनी जारी छ। कलाकारले आफ्नै अग्रसरतामा खल्तीका पैसा उठाएर ग्यालरी बनाएको २३ वर्ष बितिसक्दा समेत कुनै पनि तहका सरकारले अर्को ग्यालरी बनाउन चाहेनन्। जबकि कलाकारले उक्त अस्थायी ग्यालरीका ठाउँमा अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरी मागिरहेका छन्।
'हामीले धेरै ठाउँमा, धेरै जनासँग पोखरामा अन्तर्राष्ट्रिय स्तरका आर्ट ग्यालरी चाहिन्छ भनेका छौं,' बरालले भने, 'खोइ, अहिलेसम्म सुनुवाइ भएको सुनिँदैन।'
त्यही पुरानो अस्थायी ग्यालरीको पनि रेलिङ र ढलानमा डोजर लगाएको सुन्दा दुःख लागेको उनले बताए।
ग्यालरीको पारि रहेको पोखरा सार्वजनिक पुस्तकालय भएको ठाउँमा भने पहिले वाचनालय थियो। पञ्चायतकालदेखि वाचनालय चलेको ठाउँमै २०४९ सालमा पोखराका शिक्षासेवी, साहित्यकार, पत्रकार मिलेर पुस्तकालय सञ्चालनमा ल्याएका थिए। उक्त भवन पनि नगरपालिकाकै थियो।
'वाचनालयमा पत्रिका मात्र आउँथ्यो। पुस्तकालय खोलेर पुस्तक पनि जुटाउन थालियो,' पुस्तकालयका अध्यक्ष विश्व श्रेष्ठले भने, 'हामीसँग अहिले १२ हजार बढी पुस्तक छन्। कहाँ लगेर राख्ने हो नगरपालिकाले ठाउँ दिनुपर्यो।'
पुस्तकालयले अहिले काठमाडौंस्थित अमेरिकी दूतावासको पुस्तकालयसँग सहकार्य गरिराखेको छ। दूतावासको पुस्तकालयले पोखरा सार्वजनिक पुस्तकालयलाई पुस्तक, टेबल, कुर्सी लगायत भौतिक सहयोग गरिराखेको छ। दूतावासको पुस्तकालयकै सहयोगमा यो पुस्तकालयमा अमेरिकन कर्नर खोलिएको श्रेष्ठले बताए।
पुस्तकालय व्यवस्थापन समितिले बिदाका दिन र चाडपर्वमा पनि स्वयंसेवक रूपमा काम गरिराखेका छन्। उक्त पुस्तकालयमा विभिन्न पुस्तकमाथि अन्तक्रिया लगायत कार्यक्रम नियमित भइरहेका पनि उनले जानकारी दिए।
महानगरका मेयर आचार्यकै नेतृत्वमा पुस्तकालयका रेलिङ भत्काउनु पुस्तकालयको महत्व नबुझेजस्तो लागेको श्रेष्ठले बताए।
'संसारमा पुस्तकालय प्रतिष्ठाको विषय छ, पोखरामा चाहिने हो कि होइन, के बुझेका होलान्,' उनले भने, 'हामी त विदेश जाँदा पुस्तकालय हेर्न जान्छौं। हाम्रा मेयर धेरै देश घुम्नुभएको छ, पुस्तकालय जानुभएन कि?'
राज्यले सर्वसाधारणलाई अनिवार्य दिनुपर्ने सेवामा पुस्तकालय पर्ने भए पनि यसरी डोजर लगाउँदा नकारात्मक सन्देश प्रवाह भएको उनले बताए।
उनले भने, 'भत्काउँदा पुस्तक ओइरिएको भए त्यसको जिम्मा कसले लिने? ठाउँ दिनुस्, हामी लैजान्छौं भनेपछि जबरजस्ती गर्नु गलत भयो।'
पुस्तकालयका सहसचिव सूर्य क्षेत्रीका अनुसार अहिले यहाँ दैनिक कम्तीमा सय जना पाठक आउँछन्। पुस्तकालयमा १२ हजार पुस्तकसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका जर्नल र गण्डकीका महत्वपूर्ण संकलनसमेत छन्। जीर्ण भइसकेको पुस्तकालय भवन भत्काएर साँघुरो महेन्द्रपुललाई फराकिलो बनाउने, पार्क बनाउने महानगरको योजनालाई पनि आफूहरुको समर्थन रहेको क्षेत्रीले बताए।
तत्कालका लागि नयाँबजारस्थित प्रदेश संग्रहालयको खाली भवनमा लगेर पुस्तक सुरक्षित राख्ने विकल्प आफूहरूले दिएको बताउँदै उनले यसबारे मेयर आचार्य सकारात्मक भए पनि बिहीबारको डोजरले अविश्वास पैदा गरेको बताए।
'विकल्प पाउनेबित्तिकै हामी पुस्तक सार्छौं र छाड्छौं भनेका थियौं,' उनले भने, 'अहिले भत्काउन जरूरी थिएन, लथालिंग पार्न जरूरी थिएन।'
महानगरका मेयर आचार्यले भने आधुनिक र कलात्मक भवनमा आर्ट ग्यालरी र पुस्तकालय सार्ने आफ्नो योजना रहेको बताए। पृथ्वीचोकस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवन भएको ठाउँमा कलात्मक भवन बनाएर सार्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाइरहेको उनले बताए।
'पृथ्वीचोकमा कलात्मक शैलीको भवन बन्छ। त्यसको पहिलो तलामा सूचना केन्द्र हुनेछ, दोस्रोमा आर्ट ग्यालरी,' आचार्यले भने, 'तेस्रो तलामा पुस्तकालय राख्छौं र माथि घन्टाघर बनाउने योजना छ।'