रूकुम पूर्वको सिस्ने गाउँपालिका-५ का वशन्त मल्लले पालेको ६ मध्ये एउटा भैंसीले साउन २२ गते पाडी पायो।
साउन २३ गते वडा कार्यालय पुगेर मल्लले भैसी, पाडी र सालनालसहितको फोटो लगेर भत्ताको लागि निवेदन दिए।
भदौ २४ गते पशु सेवा शाखा कार्यालयबाट दुई जना कर्मचारी मल्लको घरमा स्थलगत अनुगमनका लागि आए। मल्ले दिएको निवेदन अनुसार उनले पालेका ६ मध्ये एउटा भैंसी ब्याएको र पाडी पाएको ठहर भएपछि पशु सेवा शाखा कार्यालयका कर्मचारीले नगद दुई हजार पाँच सय रूपैंया दिए।
मल्लले त्यो रकमबाट एक मुरी पाँच पाथी जौं शनिबार मात्रै भैंसीलाई दाना खुवाउनका लागि खरिद गरेर ल्याए। ‘भैंसी ब्याएपछि सुत्केरी स्याहार र प्रोत्साहनका लागि थोरै भए पनि भत्ता पाउँदा साह्रै खुसी लागेको छ,’ मल्लले भने, ‘हामी जस्ता किसानको कर्मलाई पनि राज्यले सम्मान गर्नु आफैंमा एउटा गतिलो उदाहरण मान्न सकिन्छ।’
लामो समय विदेश बसेका उनले घर फर्किएपछि यहीँ केही गरौं भन्ने सोचले भैंसी पालन व्यवसाय सुरू गरेको बताए।
मल्लको भैंसी गाभिनो भएको थाहा पाएर पशु शाखाका कर्मचारीले उनलाई गाउँपालिकाको कार्यक्रमबारे जानकारी गराएका थिए। त्यहीँ सूचनाका आधारमा उनले वडा कार्यालय पुगेर निवेदन दिएका थिए।
स्थानीय सरकारले पनि भैंसीमा अनुदान कार्यक्रम ल्याए त्यसले थप उत्साह थपिने उनी बताउँछन्। ‘मैले यहाँ लोकल जातका भैंसी पालेको छु,’ उनले भने, ‘यी भैंसीले ४ माना जति दूध दिन्छन्। भैंसी किन्दा आधाउधी अनुदान पाए पनि उन्नत जातका भैंसी किन्न सहज हुने थियो।’
मल्ल जस्ता २० जना किसानले भैंसी ब्याएपछि जनही दुई हजार पाँच सयका दरले भत्ता पाइसकेको छन् । गाउँपालिकाले भैंसी ब्याएपछि किसानलाई सुत्केरी भत्ता दिन थालेपछि किसान खुसी छन्।
गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले दूग्ध उत्पादन किसानलाई उत्प्रेरणा थप्न तथा प्रोप्साहन गर्न गत साउनदेखि ‘सुत्केरी भैंसी भत्ता कार्यक्रम’ लागू गरिएको सेतोपाटीलाई जानकारी दिए। ‘हाम्रो उद्धेश्य वास्तविक दूग्ध उत्पादन किसानको पहिचान गरि उहाँहरूलाई प्रोत्साहन गर्नु हो,’ उनले भने, ‘सिस्ने गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर गराउनु र किसानको कर्ममा हातेमालो गर्नु हाम्रो मुख्य उद्धेश्य हो।’
भैंसीले पाडापाडी जन्माएपछि पोषणयुक्त आहार तथा दाना खान पाउन् र दूध उत्पादक किसानलाई केही भए पनि प्रोत्साहन मिलोस् भनेर गाउँपालिकाले कार्यविधि नै बनाएर पालिकाभर पहिलो पटक ‘सुत्केरी भैंसी भत्ता कार्यक्रम’ लागू गरिएको नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका अध्यक्ष रेग्मीले भने।
त्यसका लागि भैंसी, पाडा र पाल्ने किसानको फोटोसहित वडामा निवेदन दिनुपर्नेछ। वडाले सिफारिस गरि पालिकामा पठाएपछि पशु शाखाका कर्मचारी अनुगमन गरेर तत्कालै रकम उपलब्ध गराउने गरिएको अध्यक्ष रेग्मीले बताए ।
‘सुत्केरी भैंसी भत्ता कार्यक्रम लागू भएपछि पालिकाभरका किसान खुसी छन्,’ उनले भने ‘यहाँ मुख्य पेशा नै पशुपालन रहेकाले हामी किसानलाई उत्प्रेरणा थप्न चाहन्छौं।’
रूकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो। यहाँ अन्नबालीको उत्पादन निकै कम हुन्छ भने पशुपालन र फलफूल खेती अर्कौ मुख्य आयस्रोत मान्ने गरिन्छ।
गाउँपालिकाका पशु सेवा शाखा प्रमुख भिमबहादुर झाँक्रीले हालसम्म ५,६,७,८ र ३ नम्बर वडाबाट भत्ताको माग गर्दै ३८ जना किसानले रकम पाएको जानकारी दिए।
वडा नम्बर ५ र ६ बाट सुरू भएको कार्यक्रम अन्तर्गत शनिबारसम्म २० जना किसानलाई गोठमै पुगेर भत्ता वितरण गरिएको प्रमुख झाँक्रीले बताए।
आएका निबेदन संकलन गरि महिनाको अन्तिमतिर फिल्ड भिजिटमा गएर भत्ता उपलब्ध गराउने गरिएको उनले जानकारी दिए।
पहिलो चरणमा वडा नं. ५ मा १७ र वडा नं. ६ मा तीन भैसीपालक किसानलाई त्यस्तो भत्ता उपलब्ध गराइएको उनले बताए। ‘आज पनि हाम्रा साथीहरु फिल्ड जानुभएको छ,’ उनले भने, ‘आज वडा नं. ७, ८ र ३ मा करिब १७ जना भैंसी पालक किसानलाई भत्ता वितरण गर्ने योजना छ।’
वडा नम्वर ३ मा एउटा, ७ मा ६ वटा र ८ मा १० वटा भैसीलाई सुत्केरी भत्ता उपलब्ध गराउन कर्मचारी खटिएको झाँक्रीले जानकारी दिए।
रूकुम पूर्व विकट भूमि रहेकाले सबै ठाउँमा एकै साथ फिल्ड भिजिटका लागि पुग्न कठिन हुने भए पनि पैदल हिँडेरै आफूहरूले भत्ता वितरण गरिरहेको बताए।
गाउँपालिकाले ‘सुत्केरी भैंसी भत्ता कार्यक्रम’ लागू गरेपछि अन्य किसान पनि पशुपालनतर्फ आकर्षित हुन थालेको झाँकीले बताए।