येँया पुन्हीको चौथो दिन आइतबार बसन्तपुर क्षेत्रमा छुट्टै रौनक थियो। जात्राको चौथो दिन महिलाहरूले ‘थोँ’ (स्थानीय रक्सी) खान तछाडमछाड गरेका थिए।
द्वादशीको दिन यःसिं ठड्याएपछि येँया जात्रा सुरू हुन्छ। यसै दिनबाट जात्रा नसकिदाँसम्म श्वेत भैरव प्रदर्शन गरिन्छ। बेलुकी ‘हाथा हायकेगु’ गरिन्छ। यो भनेको श्वेत भैरवको प्रसादस्वरुप जाँड–रक्सी खुवाउनु हो।
आठ दिनसम्म चल्ने यो जात्रा अवधिभर श्वेत भैरवको मुखबाट जाँड–रक्सी खुवाइन्छ। भैरवको मुखमा पाइप लगाएर दिनको करिब ८० लिटर जाँड-रक्सी अनवरत रूपमा खुवाउने परम्परा छ। खानेको पनि भिड्मभिड हुन्छ।
द्वादशीको दिनबाट आधिकारिक रूपमा येँया पुन्ही सुरू हुन्छ। बेलुकी जाँड बाँडिन्छ। त्योभन्दा चार दिनअघि जाँड बनाउन थालिएको हुन्छ। जाँड बनाउने तरिकालाई ‘प्वः हायगु’ भनिन्छ। यसमा मना (जाँड बनाउने सामान) र अनिवार्य रूपमा ताइचिनको चामल हाल्नुपर्छ। यो प्रक्रियाबाट तयार भएकोलाई ‘पोकः’ भनिन्छ।
भैरवको मुखबाट पठाउने दिन पानी हालेर जाँड बनाइन्छ। यसलाई ‘कवँचाः’ भन्ने माटोको भाँडामा पकाउन भण्डारण गरिएको हुन्छ। भैरवको मुखबाट ‘हाथा हायकेगु’ गर्ने दिनमा चार भाँडा जाँड खपत हुन्छ। प्रत्येकबाट २० लिटरजस्तो जाँड बन्छ।
भैरवको पछाडि ‘तेप’ भन्ने घ्याम्पो छ। त्यसमा जाँड राखेर भैरवको मुखमा पाइप फिट गरिन्छ।
रथयात्राको पहिलो दिन (पूर्णिमा) मा कुमारी, भैरव र गणेशलाई प्रसाद स्वरुप रक्सी खुवाइन्छ। बाँकी दिन जाँड हुन्छ। एक दिन महिलाका लागि मात्र जाँड खान छुट्याइएको छ। माथिल्लो टोल (थने) मा रथ तानेको भोलिपल्ट महिलाहरूले जाँड खान्छन्।
मंगलबार महिलाहरूले ‘थोँ’ खाने अवसरका केही तस्बिरहरू हेर्नु्होस्: