क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप लागेपछि धेरैले पीडितकै दोष भएको तर्क गर्दै सामाजिक सञ्जाल, कतिपय मिडिया, चिया पसल, क्याफे वा चौतारीमा आफ्ना भनाइ राख्ने गरेका छन्।
ती बालिका किन लामिछानेसँग भेट्न गइन्? किन नगरकोटबाट फर्केपछि रातभर उनीसँगै बसिन्? बलात्कार भएको थियो भने किन चिच्याइनन्? किन त्यही दिन प्रहरीमा उजुरी गर्न गइनन्? यस्तायस्तै प्रश्नले १७ वर्षीया पीडितमाथि आक्षेप लगाउने गरिएको छ।
यस्तो प्रश्न गर्नेमा वरिष्ठ वकिलदेखि कलाकारसम्म, नेतादेखि अभिनेता र किशोर उमेरका केटाकेटीदेखि अधबैंसेसम्म छन्। केही समयअघि अभिनेता पल शाहले नाबालिगमाथि बलात्कार गरेको अभियोग लाग्दासमेत यस्तै प्रश्न ओइरिएका थिए। उनी पक्राउ परेपछि त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नाम कमाएका महिला अधिकारवादीसमेतले दु:खमनाउ गरेका थिए।
उनीहरूले पीडितको दोष देखाउने क्रममा कानुन फेर्नुपर्ने सम्मका कुरा पनि उठाएका छन्। नाबालिग रहने उमेर घटाउनुपर्ने तर्क उनीहरू गर्ने गर्छन्।
हाम्रो कानुनले भन्छ- १८ वर्षमुनिका बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यो बलात्कार ठहर्छ। १८ वर्षभन्दा माथिका महिलासँग भने मञ्जुरीबिना राखेको यौन सम्बन्ध बलात्कार ठहर्छ। श्रीमानले श्रीमतीको इच्छाविपरीत राखेको सम्बन्धलाई पनि कानुनले बलात्कार भनेको छ।
समाजमा धेरैजसोले उठाउने प्रश्न र तर्क कानुन कार्यान्वयन गर्ने निकायका कतिपय अधिकारीले पनि गर्ने गरेको सुनिन्छ। बलात्कारको अनुसन्धान, अभियोजन र फैसला पनि फितला छन्। अदालतले बेलाबेला पीडित नचिच्याएको, प्रतिवादका चिह्न नदेखिएको भन्दै बलात्कारको मुद्दाबाट अभियुक्तलाई सफाइ दिएका उदाहरण धेरै छन्।
के बलात्कार हुने बेला पीडित महिला लड्न, भाग्न र प्रतिकार गर्न सक्छन्? के उनीहरू बोल्न वा चिच्याउन सक्छन्?
विज्ञानले भन्छ- सक्दैनन्।
के नाबालिग रहने उमेर १८ वर्ष हुनु वैज्ञानिक दृष्टिले गलत छ?
वैज्ञानिक, मनोवैज्ञानिक र कानुन निर्माता भन्छन्- यो उमेरहद वैज्ञानिक छ, घटाउन हुँदैन।
पहिला हामी बलात्कारको समयमा महिलाहरू चिच्याउन, भाग्न वा प्रतिकार गर्न किन सक्दैनन् भन्नेबारे कुरा गरौं।
अमेरिकामा काम गर्ने नेपाली वैज्ञानिक सुशील देवकोटाले बलात्कार भइरहँदा महिलाले किन प्रतिकार गर्न सक्दैनन् भन्ने बुझाउन ट्विटरमा लामो 'थ्रेड' लेखेका छन्।
हामीले यौन मनोचिकित्सक करूणा कुँवरसँग पनि बलात्कार बेला र त्यसपछिको समयमा पीडितको शारीरिक र मानसिक अवस्था कस्तो हुन्छ भनेर कुराकानी गरेका छौं।
अकस्मात् आइपर्ने संकटको घडीमा मानिस मात्र होइन, जनावरहरूले पनि प्रतिक्रिया दिन नसक्ने र हलनचलको स्थितिमा पुग्ने उनीहरू बताउँछन्।
देवकोटाले यो स्थिति बुझाउन रातको समय राजमार्गमा हिँडिरहेको जरायोको उदाहरण दिएका छन् भने कुँवरले खरायोको उदाहरण दिँदै हामीलाई पीडितको मनोदशा बुझाइन्।
देवकोटाका अनुसार राति जरायोहरू बाटो काट्दा गाडीको हेडलाइटमा परे भाग्न छाडेर टक्क त्यहीँ अडिन्छन्। गाडीको गति घटेन भने जरायोको मृत्यु हुन्छ। यस्तो घटनामा गल्ती कसको? जरायोको? कि गाडी चलाउने मान्छेको?
'प्रकृतिमा खतराको संकेत आएपछि जनावर हलचल नगरी एकै ठाउँ बस्छन्। त्यति बेला उनीहरू शान्त भएर आँखा र कानको सहाराले खतरा कताबाट आएको छ भन्ने भाँपिरहेका हुन्छन्,' अमेरिकामा 'सेल थेरापी' सम्बन्धी वैज्ञानिक अनुसन्धानमा संलग्न देवकोटाले आइतबार ट्विटरमा लेखेका छन्, 'त्यति बेला शरीरको पूरै शक्ति चल्न छाडेर खतरा भाँप्न खर्च हुने र डरका कारण पनि शरीर हलचल नगरी टक्क अडिन्छ।'
उनका अनुसार बलात्कार हुँदा महिलाको अवस्था त्यस्तै हुन्छ, जस्तो गाडीको लाइट देखेर बीच सडकमा नचलमलाई बसेको जरायोको हुन्छ।
'एकचोटि मात्र होइन तीन-चारपटक बलात्कार गरे पनि किन केटी त्यहीँ बसिरही भन्ने प्रश्नै गलत हो। केटी किन चिच्याइन, ढोकामा चुकुल नलगाएको बेला पनि किन भागिन भन्ने सबैको प्रश्न हुन्छ। यो त प्रकृतिले हाम्रो शरीर र दिमाग त्यसरी नै बनाएका कारण भएको हो,' देवकोटाले लेखेका छन्, 'त्यति बेला महिलाको दिमाग र शरीर फ्रिज (हलचल नहुने शान्त अवस्था) हुन्छ। शरीर अटोपाइलट अर्थात् सोच्न नसक्ने अवस्थामा गइसकेको हुन्छ। त्यसलाई सहमति भनेर बुझ्नुहुन्न। त्यो आफ्नो शरीर बचाउन प्रकृतिले बनाएको सुरक्षा कवच हो।'
महिलाको चाहनाविपरीत हुन लागे उनीहरूको शरीर सोच्न नसक्ने अवस्थामा जानुअघि उनीहरूले कुनै न कुनै हिसाबले संकेत दिने र त्यसलाई बुझ्नुपर्ने उनले बताएका छन्।
उनका अनुसार त्यस्ता संकेत चर्का हुँदैनन्। ती बिस्तारै बिस्तारै भनिएका हुन्छन्।
'महिलाले यस्ता धेरै संकेत दिन्छन् जसलाई 'नो' अर्थात् अस्वीकारका रूपमा बुझ्नुपर्छ। ती संकेत बाहिर बोलीमा सामान्य हुन सक्छन् तर मनदेखि ठूलो असहमति हो,' देवकोटाले लेखेका छन्, 'यस्ता संकेतका धेरै उदाहरण हुन्छन्। जस्तै- 'नगर न अरूले देख्ला', 'अर्को कोठाकोले सुन्ला', 'तिम्रो घरका मान्छे फर्केलान् र हामीलाई देख्लान्'। यी संकेत त्यही सीमारेखा हुन् जसलाई पुरूषले पार गर्नु हुँदैन, नजरअन्दाज गर्नु हुँदैन।'
बलात्कारको अवस्थामा महिलाको शरीर दुईवटा मोडमा पुग्न सक्छ- एउटा 'टनिक इमोबिलिटी' र अर्को 'कोल्याप्स्ड इमोबिलिटी'।
'टनिक इमोबिलिटी' भनेको के हो भन्नेबारे देवकोटाले लेखेका छन्- 'अनुसन्धानले के देखाएको छ भने बलात्कार भइरहेका बेला करिब ५० प्रतिशत महिलाले कि त म आज मर्छु वा बलात्कारका अलावा ममाथि शारीरिक हानि पनि हुन्छ भन्ने सोच्छ्न्। बलात्कारमा पर्ने मान्छेको शरीरले त्यसरी सोचेको हुन्छ। शरीरले आफूलाई जसरी पनि बचाउन खोज्छ। यस्तो बेला बोली नआउन सक्छ। भाग्न पनि सक्दैनन्। बलात्कारमा परेकाले देखाउने यस्तो क्रियाकलाप सामान्य अवस्थामा भएका मानिसले सुन्दा अचम्मलाग्दो हुन सक्छ। विज्ञान भने यो दिमागले आफू बच्न गरेको काम हो भन्छ।'
'कोल्याप्स्ड इमोबिलिटी' त झन् दर्दनाक अवस्था भएको देवकोटाले उल्लेख गरेका छन्।
उनका अनुसार बलात्कृत भएका बेला यो अवस्थामा पुगेकाहरूको मुटुको धड्कन र रक्तचाप एकैचोटि घट्छ, दिमागमा अक्सिजनको कमी हुन्छ। अनि मान्छेलाई निद्रा लाग्ने हुन्छ। त्यस्तो भए बलात्कृत भइसकेपछि पनि उनी त्यहीँ सुतिदिन्छन्। कोही भने लामो समय बेहोस हुन पनि सक्छन्।
बलात्कारमा परेका महिलाबारे हामी सबैले र अझ बढी प्रहरी, सरकारी वकिल र न्यायाधीशले जान्नैपर्ने यीबाहेक अरू कुरा पनि देवकोटाले बताएका छन्।
उनका अनुसार बलात्कारमा परेका बेला मान्छेको दिमागले राख्ने सूचना साधारण अवस्थामा जस्तो हुन्न।
'प्रहरीले अनुसन्धान गर्दा विचार पुर्याउनुपर्ने कुरा के भने, बलात्कारमा परेका महिलाले एकपछि अर्को क्रमैसँग सूचनाहरू नबताउन सक्छन्। जस्तो- तपाईंले आफूलाई मन परेको मान्छेले के लगाएको थियो, के खायो सबै सोधेमा सजिलै सलल उत्तर दिन सक्नुहुन्छ। किनभने सामान्य अवस्थामा दिमागले ती सूचना मिलाएर चाङ लगाएर राखेको हुन्छ। बलात्कारमा परेको अवस्थामा भने दिमागले सूचना टुक्रा-टुक्रा गरेर राख्छ।'
'कसैले केही समय, कसैले एक महिना, वर्षदिन वा दुई वर्ष र कसैले त जिन्दगीभर ती सूचना बाहिर निकाल्न सक्दैनन्। तर त्यो उनीहरूको इच्छाले होइन, दिमागले नै त्यसरी राखेको हुन्छ,' देवकोटा भन्छन्।
कानुन निर्माताले हदम्याद तोक्ने कानुन बनाउँदा, प्रहरीले अनुसन्धान गर्दा र न्यायाधीशले फैसला सुनाउँदा यो मनोविज्ञान बुझ्न जरूरी हुने उनको भनाइ छ।
'हामी सबैले पनि बुझ्न जरूरी छ, कसैले चिटिक्क पारेर मिलाएर घटनाक्रम बताउन सकेन भन्दैमा आरोप झूटो रहेछ भन्ने निष्कर्षमा पुग्न हुन्न,' उनले भनेका छन्।
अर्को बुझ्नैपर्ने कुरा हो, बलात्कारमा परेका बेला केही पनि महसुस नगरेको कुरा पीडितले बताउन सक्छन्।
देवकोटाले एउटा फिल्मको दृश्य सम्झिएका छन् जसमा बलात्कार देखाइएको छ। त्यो दृश्यमा नायिका बलात्कारमा परेका बेला टेबलमा भएको कफीतिर हेरिरहेकी हुन्छिन्। बलात्कार गर्न दिएर टेबलको कफीमा ध्यान दिइएको यो दृश्य वास्तविकतासँग धेरै मेल खाने देवकोटा बताउँछन्।
'शरीर फ्रिज भयो, आत्मरक्षाको मुडमा गयो अनि ध्यान अन्तै गयो। बलात्कार बेला दिमाग वा शरीरले ध्यान अन्तै लैजान्छ,' उनी लेख्छन्।
'पीडाबाट बच्न शरीरले ध्यान परिवर्तन गर्छ। बलात्कारमा परेका मान्छेले मन नै शरीरमा नभएजस्तो, कता-कता उडेजस्तो अनुभव हुने बताउँछन् भने अचम्म नपर्नुहोला,' देवकोटाले लेखेका छन्, 'यो पीडितको इच्छाको कुरा होइन। जानी-जानी पीडितले आफ्नो शरीर हलचल नहुने अवस्थामा पठाउने होइन। यो त हजारौं वर्षदेखिको इभोलुसनको नतिजा हो।'
वैज्ञानिक देवकोटाको ट्विट पढेपछि हामीले यस विषयमा यौन मनोचिकित्सक करूणा कुँवरसँग कुरा गरेका थियौं। उनले पनि बलात्कार वा यौन हिंसाको अवस्थामा शरीर 'फ्रिज' हुने बताइन्।
'धेरै बलात्कारका घटनामा पीडितलाई मानसिक र शारीरिक रूपमा आघात पुगेको हुनाले के गर्नुपर्छ भनेर थाहा हुँदैन। कतिलाई डर–धम्की पनि आउने हुनाले उनीहरूले प्रतिक्रिया जनाउन सक्दैनन्,' उनले भनिन्, 'हाम्रो शरीरले आफूलाई जोगाउन कि लड्ने कि भाग्ने हो। तर दुवै गर्न नसक्दा हाम्रो शरीर हलचल गर्न नसकेर फ्रिज हुन्छ।'
देवकोटाले जरायोको उदाहरण दिएजस्तै कुँवरले खरायोको उदाहरण दिँदै भनिन्, 'खरायोलाई हामीले बत्ती देखायौं भने ऊ ट्वाल्ल परेर केही बेर हेरिरहन्छ। त्यसपछि बल्ल भाग्छ। त्यस्तै हाम्रो शरीर पनि कस्तो प्रतिक्रिया दिने भन्ने थाहा नपाउँदा फ्रिज हुन्छ।'
उनले अगाडि भनिन्, 'झन् घरेलु हिंसाका घटनामा किन सहेको, किन नभनेकोजस्ता धेरै कुरा आउँछन्। तर अरूलाई त्यसरी भन्न जति सजिलो हुन्छ, भोग्नेलाई धेरै गाह्रो हुन्छ। कतिलाई त आफ्नै आफन्त पर्नेले यौन हिंसा गरेको हुन्छ।'
१८ वर्षभन्दा साना व्यक्तिलाई मानसिक रूपमा कसरी प्रतिक्रिया जनाउने भन्ने पहिल्याउन धेरै गाह्रो हुनाले नाबालिग रहने उमेरहद घटाउन नहुने उनले बताइन्।
'सानो उमेरका धेरैलाई आफूमाथि के भइरहेको छ भन्ने नै थाहा हुँदैन,' उनले भनिन्, 'विश्व स्वास्थ्य संगठनले १० देखि १९ वर्षको उमेर समूहलाई किशोरावस्थाका रूपमा व्याख्या गरेको छ। त्यसलाई हेरेर नेपालमा नाबालकको उमेर हद १८ वर्ष बनाइएको हो। शारीरिक र मानसिक क्षमताका हिसाबले नाबालिग रहने उमेर योभन्दा घटाउन हुन्न।'
कुँवरका अनुसार कसैले डर–धम्की देखाएर यौन दुर्व्यव्यहार गर्यो भने ठूलै उमेरकाहरू पनि खुलेर बोल्न सक्दैनन्। आफू बुझ्ने भएपछि वा त्यो डरबाट मुक्त भएपछि मात्र बोल्न सक्छन्। त्यस्तो अवस्थामा घटनाको धेरै समयपछि बल्ल उक्त घटना बाहिर आउन सक्छ।
कुँवरले नाबालिगको उमेर हदम्याद घटाउने तर्क होइन, बलात्कार र यौन हिंसाको उजुरी गर्ने हदम्याद मुद्दामा पुनर्विचार गर्नुपर्ने बताइन्।
पहिले मुलुकी ऐनअनुसार १६ वर्षसम्मलाई नाबालक भनिन्थ्यो। तर मुलुकी देवानी संहिता ऐन, २०७४ ले अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउँदै १८ वर्ष उमेरसम्मकालाई नाबालक परिभाषित गरेको हो। यो ऐन २०७५ भदौ १ देखि लागू गरिएको हो।
नाबालिग रहने उमेरहद १६ बाट १८ बनाउन धेरै महिला अधिकारवादी र महिला सांसदहरूले जोड गरेका थिए। किशोर-किशोरीको शारीरिक तथा मानसिक अवस्था लगायत दृष्टिले १६ वर्षको उमेरहद निकै कम भएको भनेर १८ वर्ष पुर्याइएको थियो।
शारीरिक, मनोवैज्ञानिक र सामाजिक स्वास्थ्यका हिसाबले १८ वर्षसम्मलाई नाबालक उमेर तोकिएको र यो वैज्ञानिक भएको सांसद रेखा शर्माले बताएकी छन्।
'सानै उमेरमा यौन सम्पर्क राख्दा वा विवाह गर्दा सन्तान उत्पादन पनि छिटो हुनसक्छ। यसले महिलाको शारीरिक र मनोवैज्ञानिक स्वास्थ्यमा नराम्रो असर पर्छ भनेरै नाबालकको उमेर १८ र विवाहको उमेर बढाएर २० पुर्याइएको हो। त्यसका साथै किशोरावस्था नकटिसकेकाहरूमा परिपक्वता पनि कम हुन्छ,' सांसद शर्माको भनाइ छ।
शर्माले अहिले नाबालकको उमेर घटाउनुपर्छ भन्ने आइरहेको विषयमा पनि आपत्ति जनाइन्।
'समस्या देखियो भन्दैमा बहस अर्कोतिर लानुपर्छ भन्ने होइन। यस्तो समस्या त उमेर १६ पुर्याए पनि, १४ पुर्याए पनि आउँछ नै। त्यही भएर उमेरको हद घटाउने कुरा जायज छैन। हामीले शारीरिक र मानसिक रूपमा हेर्दा उमेर बढाउनुपर्ने भएकाले नै १६ बाट १८ बनाएका हौं,' उनले भनिन्।