गत शुक्रबार दार्चुलाको महाकाली नगरपालिका–२ का गणेशसिंह खरालको परिवार साँझको खाना खाएर सुत्ने तरखरमा थियो। त्यही बेला एक्कासि मुसलधारे पानी पर्न थाल्यो।
राति १२ बजे अचानक भुइँचालो नै आएजस्तो भयो। घरजमिन हल्लियो, हुरीबतास चल्यो। जमिन-आकाश गर्जेको आवाज आयो।
महाकाली नदीको डरलाग्दा आवाज गणेशको परिवारको कानमा परेपछि उनीहरू घरबाट आत्तिँदै दौडेर बाहिर निस्किए। अँध्यारोमा दौडेर उनको परिवार सुरक्षित ठाउँ गयो। छरछिमेकीहरू पनि दौडिँदै पुगे। उनीहरूले छाता र प्लास्टिकको सहारामा दुई घन्टा त्यहीँ बिताए।
रातको २ बजेतिर पानी पर्न बन्द भयो। मौसम सफा भयो।
'वर्षा रोकिए पनि घर बचेको छैन भन्ने सोचेर फर्किने आँट आएन। रातभरि बाहिरै जागा बस्यौं,' गणेशले भने।
केही घन्टापछि उज्यालो भयो। त्यो बिहान गणेशको गाउँको स्वरूपै फेरिएको थियो। कहाँनेर के थियो भन्ने केही अत्तोपत्तो नहुने गरी पुरिएको थियो गाउँ।
'जताततै ढुंगा र माटो मात्र देखियो,' उनले भने।
गणेशले दैनिक गुजारा चलाउन नास्ता पसल चलाएका थिए। ढुंगाले छाएको चारकोठे घर थियो। बाढीले सबै बगायो। उनको जस्तै साना पसल र व्यवसाय खोलिएका आधा दर्जन घर पुरिए, बगे। स्वास्थ्य चौकीमा पूर्ण क्षति भयो, वडा कार्यालय आंशिक।
चार वटा झोलुंगे र दस वटा काठे पुल पनि बाढीले लगेको गणेशले बताए।
'त्यो रात हामीले त भागेर ज्यान बचायौं। अरूहरू बाढीको कब्जामा परे। कति ठाउँमा त एकै परिवारका चार जनालाई बाढीले बगाएको छ,' गणेशले भने।
गणेश सदरमुकाम खलंगाबाट चार किलोमिटरको दुरीमा नास्ता पसल चलाउँथे। उनको गाउँमा अर्काे घर पनि छ। तर उनी पसल भएकै ठाउँमा बस्थे। पूर्ण रूपमा विस्थापित भएकाहरू अझै धेरै पीडामा भएको उनी बताउँछन्। विस्थापितहरूलाई राहत र पुनर्स्थापना गर्न छिटो पहल गर्नुपर्ने उनले बताए।
शुक्रबार रातिको घटनाले उनको डर भने अहिलेसम्म कम भएको छैन। प्राकृतिक प्रकोपका कारण हुने विपद जोखिम न्यूनीकरणमा काम गरेको भए यस्तो घटनाको सामना गर्न पर्दैन थियो कि भन्ने उनलाई लाग्छ।
'जोखिम ठाउँबारे बुझेर स्थानीयलाई सुरक्षित गर्ने काम भएको भए यस्तो दिन देख्नुपर्ने थिएन। बाढीमा बेपत्ता भएका परिवारका आफन्त साह्रै भावविह्वल छन्,' उनले भने।
सदरमुकाम खलंगा बजारमा तीनतले घर बाढीले बगाउँदा करन धामीको परिवार चिन्तित छ। वर्षाैंदेखिको मेहनत एकछिनमै बगेर गएको भन्दै उनले दुःख मनाउ गरे।
महाकाली नगरपालिकाको वडा नम्बर १, २, ३, ४ भएर बग्ने लास्कु खोला छ। त्यो खोलाको माथितिर नौगाडको सिमाना दल्लेखको तलतिर गाउँमुल्ला, मैखोली लगायत ठाउँ छन्। शुक्रबार राति अविरल पानीले यी ठाउँमा पहिरो आयो। पहिरो लास्कु खोलामा मिसियो। खोला भरिएर त्यहाँबाट सर्दै, बग्दै महाकाली पुग्यो।
लास्कु खोलाले बगाएर ल्याएको ढुंगामाटोले महाकाली भारततर्फ थुनियो। नदीको बहाव नेपालतर्फ आयो। नदीमा लगाइएका ड्याम भत्किए। तटबन्धभन्दा माथि पानी आयो। यही कारण चार वडासहित आसपासका ठाउँका बस्तीमा क्षति भएको महाकाली नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले बताए।
महाकाली नगरपालिकामा बाढीबाट दुई जनाको मृत्यु भएको छ। बाढीमा बेपत्ता दस जना अझै फेला पर्न सकेका छैनन्। उनीहरूको खोजी जारी छ। दर्जनौं घाइतेहरू विभिन्न अस्पतालमा उपचाररत छन्। उता नौगाडमा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। त्यहाँ पहिरोले ९ घरमा पूर्ण क्षति गरेको छ। बाढीले महाकाली छेउछाउ बजार क्षेत्रका मात्रै ९ वटा पक्की घर बगेका छन्।
सूचना अधिकारी जोशीका अनुसार नगरपालिकाभित्र मात्र २९ घरमा पूर्ण रूपमा क्षति भएको अनुमान छ। यकिन तथ्यांक प्रहरी, जिल्ला प्रशासन, रेडक्रस र नगरपालिकाले सयुक्त रूपमा संकलन गर्दैछ। बाढी मध्यरातमा आएकाले क्षति धेरै भएको उनले बताए।
'सदरमुकाम बजारमा बाढी पुगेपछि मात्र हामीलाई सम्पर्क भयो। छिटो जानकारी भए उद्धार गर्न सहज हुन्थ्यो,' उनले भने।
विस्थापितहरू सरकारी भवनमा बसिरहेका छन्। उनीहरूलाई ७० वटा टेन्टसहित ४६ बोरा चामल, ७ बोरा दाल लगायत खाद्यान्न वितरण गरिएको नगरपालिकाका प्रवक्ता शंकरसिंह डोबालले बताए।
'बाढीले बाटो, सञ्चार, खानेपानी, बिजुली सबै अवरूद्ध भएको छ। आवतजावत गर्न कठिन छ। बल्ल आज स्काभेटर लगाएर बाटो खोल्ने काम भइरहेको छ,' उनले भने।
खलंगा क्षेत्र बाढीको जोखिमयुक्त ठाउँमा पर्छ। २०७० सालमा महाकालीको तटबन्धभन्दा माथि पानी आउँदा यहाँ धेरै क्षति भएको थियो। त्यति बेला नदी किनारका १ सय ४६ घर भत्किएका थिए। संरचनाको क्षति ठूलो मात्रामा भए पनि मानवीय क्षति भएको थिएन। यहाँ २०२८ सालमा तिर पनि ठूलै बाढी आएको कुरा सुनेको स्थानीयहरू बताउँछन्।
सूचना अधिकारी जोशीका अनुसार खलंगा सदरमुकाम घोषित हुनुभन्दा नै यो ठाउँमा बस्ती थियो। त्यति बेला यहाँ सौका समुदायका मानिसहरू हिउँद याममा आएर बस्थे। बाँकी समय लेकमा बिताउँथे। सौकाहरू भारतीय नाका हुँदै दार्चुलाको ब्यासबाट चीनमा सामान बेच्न जान्थे।
पछि खलंगा भएर भारत जानेहरू बढ्दै गए। बझाङ लगायत अन्य ठाउँका मान्छे पनि खंलगा हुँदै धार्चुला भएर भारतका विभिन्न सहरमा कामका लागि जान थाले। आउजाउ गर्नेहरू बढेपछि यहाँ व्यापार, व्यवसाय गर्नेहरू बढे। बस्ती विकास हुन थाल्यो। अनि पछि यो ठाउँ सदरमुकाम घोषित भएको जोशी बताउँछन्।
जनसंख्या बढेपछि महाकाली नदी किनारमा समेत संरचना निर्माण भए। यो क्षेत्रमा पर्ने खोलाहरूको संरक्षण भएन। सडक बने, रूखहरूको संरक्षण भएन। २०५६/ ५७ सालदेखि ठूल्ठूला पक्की घर बन्न थाले।
यी सब कारणले यो ठाउँ बाढी र पहिरोको जोखिममा रहेको जोशीले बताए।
'त्यति बेला भवनसंहितामा नभई आफ्नै तरिकाले घरहरू बनेका हुन्। घरधनीले आफैं जमिन किनेर बनाएका हुन्। अधिकांशको नक्सा पास छैन,' उनले भने, 'स्थानीय सरकार सञ्चालन भएपछि पनि केही घर मात्र नक्सा पास भएर बनेका होलान्। अहिले बाढीले लग्ने घर पनि नदी नजिकैका हुन्।'
खलंगा महाकाली नदीका कारण मात्र नभई यहाँ भएर बग्ने निजाग, लास्कु, धौलीगाड, कालीगाड खोलाका कारण पनि जोखिममा छ। त्यस्तै भारतपट्टि धौलीगंगा जलविद्युत आयोजना बनिरहेको छ। त्यहाँ कहिलेकाहीँ ड्याम खोलिन्छ। त्यस्तो बेला वारिपट्टि डुबान हुन्छ।
खोलाका कारण महाकालीको पानी बस्तीमा आउने भएकाले यहाँ तटबन्ध गर्नुपर्ने बाढी प्रभावित स्थानीय बताउँछन्।
'खोलाहरूमा तटबन्ध, सडक छेउछाउमा रूख रोप्ने काम गर्नुपर्छ। वन संरक्षण गरे यस्तो जोखिम नहुन सक्छ। त्यसैले त्यसतर्फ ध्यान ध्यान दिन आवश्यक छ,' उनीहरू भन्छन्।
तस्बिरहरू: सामाजिक सञ्जालबाट लिइएको।