रोल्पामा भदौ १६ गते दिउँसो मृत भेटिएका एक दम्पतीको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरी अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन।
परिवर्तन गाउँपालिका-२ राङ्सीका २५ वर्षीय दुर्गाबहादुर पुन र उनकी ३७ वर्षीया श्रीमती पार्वती पुनको शवमा ठाउँ-ठाउँमा खुकुरी हानिएको अवस्थामा शव फेला परेको थियो।
पुन दम्पती एक महिनादेखि माडी गाँउपालिका-३ तालाबाङमा जयलाल डाँगीको टहरोमा बस्दै आएका थिए। टहरो गाउँभन्दा टाढा खोला किनारमा थियो।
रोल्पा प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार तालाबाङ गाउँमा १२ घर परिवारको मात्रै बसोबास छ। तीमध्ये आधा गाउँलेले मात्रै पुन दम्पती त्यो टहरोमा बस्छन् भन्ने थाहा पाएका थिए।
पुन दम्पतीको गाउँलेसँग खासै भेट हुँदैन थियो। गाउँका कसैसँग उनीहरूको विवाद भएको थिएन।
शव फेलापछि हत्या भएको ठानेर प्रहरीले अनुसन्धान थालेको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली हप्ता दिन बढी घटनास्थलमा खटिएर अनुसन्धान गरेको थियो।
‘पुन दम्पतीबारे त्यस्तो कुनै सुराक फेला पार्न नसकेपछि दुई दिनअघि सिआइबीको टोली राजधानी फर्किएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘सिआइबीको टोलीले हप्ता दिन बसेर गाउँका हरेक घरमा पुगेर हरेक उमेरका मानिससँग कुरा गरे पनि कुनै सुराक फेला परेन।’
प्रहरीले शव उठाउनुअघि कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याएको थियो।
कुकुरले पनि त्यस्तो कुनै सुराक पत्ता लगाउन नसकेपछि दुई दिनपछि कुकुर फिर्ता पठाइएको थियो।
‘यो बीचमा तालाबाङ गाउँमा बाहिरबाट वा गाउँबाट कुनै पनि मानिसको आवतजावत भएको पुष्टि हुन सकेको छैन,’ ती प्रहरी अधिकारीले भने, ‘गाउँका कुनै पनि मानिसको घटनामा संलग्नता पुष्टि हुने कुनै कारण देखिँदैन।’
पुन दम्पती मजदुरी गरी जीवनयापन गर्दै आएका थिए। रोल्पास्थित आफ्नै घर नबसी जहाँ काम पाइन्छ उनीहरू फिरन्ते शैलीमा त्यही बस्ने र काम गर्ने गर्दै आएका थिए।
उनीहरूसँग सुनका गरगहना, धन दौलत, मोबाइल वा त्यस्तो कुनै चिजवस्तु नभएको हुँदा उनीहरूको हत्या अरू कसैले गरेको भन्ने आधारसमेत नदेखिने गरेको प्रहरी बुझाइ छ।
‘पार्वतीमाथि बलात्कारको प्रयास हुँदा घटना भयो कि भनेर शंका गर्ने ठाउँ रहे पनि पुरै गाउँका मानिसको एक एक विश्लेषण गर्दा त्यस्तो कुनै आधार भेटिएन,’ एक प्रहरी अधिकारीले भने, ‘त्यसैले प्रहरी पार्वती माथिको बलात्कारको प्रयास हुँदा घटना भयो कि? भन्ने आशंका उपयुक्त हैन भन्ने निष्कर्षमा पुगेको छ।’
पोष्टमार्टम रिपोर्टले पनि त्यस्तो कुनै तथ्य उल्लेख नगर्दा प्रहरी थप निश्चिन्त बनेको हो। पोष्टमार्टम रिपोर्टले उनीहरूको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको भन्ने देखाएको प्रहरी अधिकारी बताउँछन्।
पुन दम्पती ढोकासमेत नभएको खुल्ला टहरामा बस्थे। त्यहाँ बिजुली पनि छैन। उनीहरूको साथमा टुकी वा उज्यालोका लागि आवश्यक पर्ने मैनबत्तीजस्तो कुनै अरू बस्तु फेला परेन। यसको अर्थ उनीहरू कामबाट फर्केपछि बेलुका सम्साँझै खाना खाएर सुतिसक्थे भन्ने देखिएको घटना अनुसन्धानमा खटिएका ती प्रहरी अधिकारीले तर्क गरे।
‘टहरो चार फिटको पनि छैन। जहाँ राम्रोसँग मानिस उभिन पनि सम्भव छैन,’ डिएसपी घिमिरे भन्छन्, ‘त्यसैले कोही मानिस त्यहाँभित्र गई अँध्यारोमा सुतिरहेका पुन दम्पतीमाथि खुकुरीले हान्न सम्भव होलाजस्तो पनि देखिँदैन।’
पुन दम्पतीको हत्यामा उनीहरूकै खुकुरी प्रयोग भएको डिएसपी घिमिरेले जानकारी दिएका थिए। जुन खुकुरी टहरो भित्रै रगत लतपतिएको अवस्थामा फेला परेको थियो।
मजदुरी गरी जिविकोपार्जन गर्दै आएका र अर्काको घरमा आश्रय लिएर बसिरहेका उनीहरूको कसैले हत्या गर्नुपर्ने कुनै कारण नदेखिएको डिएसपी घिमिरे बताउँछन्।
उनका अनुसार घरधनी जयलाल डाँगी पनि अघिल्लो दिन नै भैंसी किन्न भनेर ओततिर झरेका थिए। डाँगीले यो टहरो कुखुरा वा बंगुर पाल्न भनेर बनाएका थिए।
पुन दम्पतीलाई दुःख पाएको देखेर डाँगीले आफ्नो टहरोमा बस्न पनि दिने र काम पनि दिने भनेर ल्याएका थिए। त्यसअघि उनीहरूले ओबाङ, इरिबाङ लगायतका ठाउँमा घुम्दै फिर्दै काम गरेको प्रहरी बताउँछ। डाँगीले भदौ महिनाभर पुन दम्पतीलाई बस्ने खाने नि:शुल्क व्यवस्था गरिदिएका थिए भने असोज महिनादेखि मासिक जनही नौ हजारका दरले तलब दिने सर्तमा त्यहाँ ल्याएको तथ्य खुलेको डिएसपी घिमिरेले जानकारी दिए।
‘घरधनीले उनीहरूले दुःख पाएको देखेर राम्रै सोचेर आफ्नै टहरोमा लगेको देखिन्छ,’ उनले भने, ‘टहरोमा माछा पालन र बंगुरपालन सुरू गरेपछि उनीहरूलाई काम दिने अनि असोजदेखि तलब दिने कुरा रहेछ।’
रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. २ राङसीका दुर्गाले रोल्पा आएको चार महिना जति पुग्दा पनि श्रीमती पार्वतीलाई आफ्नो घरमा लगेका थिएनन्। त्यसैले प्रहरीले उनीहरू विगतमा बसेर काम गरेका ठाउँहरूमा गएर पनि बुझेको थियो। उनीहरूलाई चिनेकाहरूले दम्पती दुबैले प्राय: मदिरा सेवन गर्ने र आपसमा झगडा गर्ने गरेको सूचना दिएको प्रहरी बताउँछ।
‘पार्वतीले आफ्नो श्रीमान दुर्गाको उमेर सानै भएको हुँदा जिस्केर अरूको अगाडि काम गर्ने क्रममा भाइ पनि भन्ने गरेको कुरा खुल्यो,’ एक प्रहरी अधिकारीले भने, ‘बेलुका मदिरा सेवनपछि त्यही कुरामा झगडा गर्ने गरेको कुरा पनि उनीहरूलाई चिनेकाहरूले गरे।’
पुन दम्पती डाँगीको टहरोमा पुग्नु भन्दा पहिले पूर्वराज्यमन्त्री भीमकुमारी बुढाको घरमा समेत काम खोज्दै पुगेको प्रहरी अधिकारी बताउँछन्।
‘उनीहरूले दुःख देखाएपछि पूर्व माननीयज्यूले आफ्नै घरमा राखे पनि आपसमा झगडा गर्न थालेपछि चार दिनमै बस्न नदिएर निकालेको कुरा अनुसन्धानले खुलेको छ,’ डिएसपी घिमिरेले भने, ‘यसबाट पनि उनीहरू दिनभर काम गर्ने र बेलुका मदिरा नभई नहुने अम्मली देखियो र खाएपछि झै-झगडा गर्ने गरेको देखियो।’
प्रहरीले पुन दम्पतीको विगतको इतिहास पनि केलाएको छ। तीन वर्ष पहिलेदेखि उनीहरू काठमाडौंको इँटाभट्टामा काम गर्दै गर्दादेखि सँगसँगै बस्दै आएको प्रहरी बताउँछ।
दुर्गासँग पार्वतीको यो दोस्रो बिहे हो। पार्वतीको माइती घर खोटाङ हो। काठमाडौंको एक इँटाभट्टामा पार्वतीका पहिलेका श्रीमान सँगसँगै दुर्गाले पनि काम गर्थे।
पार्वतीले दुर्गालाई भाइ मानेर पूर्वश्रीमानका अगाडि तिहारमा टीकासमेत लगाउने गरेको तथ्य खुलेको प्रहरी बताउँछ। विगतमा उनीहरूले सँगै काम गर्ने काठमाडौं इँटाभट्टा सञ्चालकलाई पनि प्रहरीले फोन सम्पर्क गरेर पार्वतीको बारे धेरै कुरा पत्ता लगाउन सफल भएको प्रहरी अधिकारी बताउँछन्।
सँगै काम गर्ने र सँगै बस्ने दुर्गालाई भाइ मानेर पार्वतीले श्रीमानका अगाडि टीका लगाइदिने गरेको भए पनि एकदिन पार्वतीका श्रीमानले उनीहरूलाई आपत्तीजनक अवस्थामा फेला पारेपछि उनी पार्वतीलाई छोडेर हिँडेको तथ्य खुलेको प्रहरी अधिकारी बताउँछन्।
इँटाभट्टा सञ्चालकले पनि दुबैले मदिरा सवेन गर्ने गरेको तथा झै-झगडा गर्ने गरेको हुँदा उनीहरूलाई पछिल्लो समय निकाल्नु परेको कुरा प्रहरीलाई अवगत गराएको प्रहरी बताउँछ।
‘पार्वतीका पूर्वश्रीमानले पनि तीन वर्षपछि रोल्पा आएर अनकन्टार ठाउँमा पुगी हत्या गरे कि भन्ने कुनै आधार देखिदैन,’ घिमिरले भने।
पूर्वपतिबाट पार्वतीकी एक २२ वर्षीया छोरीसमेत रहेको प्रहरीले अनुसन्धानबाट पत्ता लागेको छ। उनीहरू सबै पार्वतीको चरित्रका कारण वास्ता विस्तै नगरेको देखिएको पनि प्रहरी बताउँछ।
त्यसैले पछिल्लो समय प्रहरी दुर्गा र पार्वती आपसमै एकले अर्कालाई खुकुरी प्रहार गर्दा मृत्यु भएको हुन सक्ने अनुमानमा पुगेको छ। पछिल्लो समय त्यही ढंगबाट प्रहरीले अनुसन्धानलाई अगाडि बढाउँदै लगेको घटना अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए।
‘भदौ १५ गते सम्साँझै उनीहरू मदिराले मातेपछि सामान्य विवादकै क्रममा सुरूमा दुर्गाले पार्वतीमाथि तर्साउनका लागि खुकुरीले हानेको अनुमान गर्न सकिन्छ,’ ती प्रहरी अधिकारीले भने, ‘त्यसपछि आवेगमा आएर पार्वतीले दुर्गामाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको जस्तो शवको प्रकृति नियाल्दा देखिन्थ्यो।’
दुर्गा खुकुरी प्रहारबाट अचेत भई लडेपछि पार्वतीले आफैंले आफ्नो घाँटी रेटेको अनुमान भइरहेको उनले बताए।
‘दुर्गाको शरिरमा लागेको घाउचोट अन्धाधुन्ध तालमा आक्रमण भएको स्पष्ट थियो,’ उनले भने, ‘पार्वतीको शरीरमा एक ठाउँमा मात्रै सामान्य चोट थियो र उनको चिउडोमुनि रेटिएको खत पार्वती आफैंले गरिन् भन्ने हाम्रो अनुमान हो।’
घटना भदौ १५ गते बेलुका सम्साँझैको भएको भए पनि एकान्त स्थलमा भएको हुँदा कसैले पनि थाहा नपाएको प्रहरी बताउँछ। पुन दम्पती दुबै सोही कारण अत्यधिक रक्तश्राव भई मृत्यु भएको प्रहरीको अनुमान छ।
पोष्टमार्टम रिपोर्टले पनि उनीहरूको खुकुरी प्रहारबाट घाउ भई अत्याधिक रक्तश्रावका कारण मुत्यु भएको देखिएको छ।
प्रहरीको प्रारम्भिक अनुमान उनीहरू आपसमै खुकुरी प्रहारबाट घाइते भइ अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको भन्ने रहेको ती प्रहरी अधिकारीले बताए। यद्यपी घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।
माडी गाँउपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगर (मित्रमनी) पनि बाहिरबाट आएर कसैले पनि उनीहरूको हत्या नगरको बताए।
नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मगरले उनीहरूले आपसमै हानाहान गरेर एकले अर्काको हत्या गरेको दाबी गरे।
‘त्यति सामान्य मानिसलाई कसैले किन हत्या गर्छ?,’ उनले प्रश्न गरे, ‘उनीहरूले आपसमै खुकुरी हानाहान गरेर एक अर्कालाई मारेको जस्तो देखिएको छ।’