भारतले अफ्रिकी मुलुक नामिबियाबाट आठ वटा चितुवा ल्याउने भएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जन्मदिनको अवसरमा ती चितुवालाई भारतमा स्वागत गर्न लागेका छन्।
भारतबाट सन् १९५२ मा लोप भएको चितुवाको संख्या बढाउने मोदीको इच्छा अनुसार नामिबियाबाट अफ्रिकी प्रजातिका चितुवा ल्याउन लागिएको एनडिटिभीले जनाएको छ।
मोदीले आउने शनिबार आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन्। सोही दिन उनले मध्यप्रदेशमा नामिबियाबाट ल्याइएका चितुवालाई क्वारेन्टिनमा छोड्ने छन्।
भारत सरकारले सन् २०२० देखिनै यो योजनामा काम गरिरहेको थियो। भारतको अदालतले समेत उपयुक्त वासस्थानको निर्क्यौल गरेर अध्ययनका निम्ति अफ्रिकन प्रजातिका चितुवा ल्याउन अनुमति दिएको थियो।
अफ्रिकाबाट चितुवा भित्र्याउँदा भारतमा भएका अरू जनावरलाई असर पर्न सक्ने भन्दै केही वातावरणविद्हरूले योजनाको विरोध गरेका थिए। नामिबियाबाट पाँच वटा भाले र तीन वटा पोथी चितुवा भारतले ल्याउनेछ।
तिनीहरूलाई केही दिन क्वारेन्टिनमा राखिनेछ र मौसमसँग घुलमिल भएको यकिन भएपछि जयपुरस्थित कुनो पार्कमा छोडिने बताइएको छ। जहाजमा ल्याइने चितुवालाई पार्कसम्म पुर्याउन हेलिकप्टर प्रयोग गरिनेछ।
‘नामिबियाबाट आउने चितुवालाई प्रधानमन्त्री मोदीकै उपस्थितिमा क्वारेन्टिनमा राखिनेछ। प्रधानमन्त्री नै चितुवालाई क्वारेन्टिनमा राख्ने समारोहमा सरिक हुने विषयले हामी उत्साही छौं,’ भारतको वातावरण मन्त्रालयका एक अधिकारीले भनेका छन्।
वातावरण मन्त्री भुपेन्द्र यादवले चितुवा ल्याउने योजना जनावर संरक्षणको विश्वव्यापी प्रयासमा आधारित रहेको बताएका छन्। वातावरण संरक्षणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था आइयुसिएनको तथ्यांक अनुसार चितुवाको संख्या विश्वभर ७ हजार रहेको छ। तीमध्ये अधिकांश अफ्रिकाको सभाना क्षेत्रमा पाइन्छन्।