'फरक छुट्याऊ' खेल खेल्ने हो भने पनि यी दुईबीच फरक छुट्याउन हम्मे–हम्मे नै पर्नेछ।
काठमाडौंको सबभन्दा ठूलो उत्सव येँया (इन्द्रजात्रा) बेला हामीले टोलटोलमा विभिन्न स्वरूपका भैरवको मूर्ति पूजा गरिएको देख्छौं। इन्द्रचोकमा फूलैफूलले ढकमक्क ढाकिएको आजु द्यः (आकाश भैरव) सबभन्दा विशेष भइहाल्यो। नजिकै वंतुमा त्यसरी नै फूलले ढकमक्क सजाएर राखिने अर्को भैरव छ जसलाई बाकादे आजु भनिन्छ।
जसरी इन्द्रचोकको आजु द्यःलाई येँया अवधिभर फूलले सजाइन्छ, बाकादे आजुलाई पनि त्यसरी नै सजाइन्छ।
बाकादे आजु झट्ट हेर्दा आजु द्य: अर्थात् आकाश भैरवजस्तै देखिन्छ। तर यिनको चर्चा आकाश भैरवको जति हुँदैन।
करिब सय मिटर दुरीमा दुई दिशातिर फर्काएर राखिने आकाश भैरव र बाकादे आजुबीच के सम्बन्ध होला?
स्थानीय नेवारहरूले आकाश भैरवलाई किराँती राजा यलम्बरको प्रतीक मान्छन्। यलम्बरको कथा महाभारतसँग जोडिन्छ।
किम्बदन्तीअनुसार भगवान कृष्णले मनमनमा महाभारत युद्ध परिकल्पना गरिरहेका हुन्छन्। त्यही बेला किराँती राजा यलम्बर युद्ध हेर्न जान्छन्। आफूले मनमनमा सोचेको युद्ध यलम्बरले कसरी थाहा पाए भनेर कृष्ण अचम्म पर्छन्।
त्यसमाथि यो युद्धमा यलम्बरले हार्ने पक्षलाई सहयोग गर्ने भनेपछि कृष्णलाई झनै आपत पर्छ।
भन्नुको मतलब, युद्धमा पाण्डव पक्ष जित्दै गयो भने यलम्बर आफ्नो विशाल सेना लिएर कौरव तर्फबाट लड्न थाल्नेछन्। त्यसो भइदियो भने कौरवलाई महाभारत युद्ध जित्नबाट कसैले रोक्न सक्दैन भन्ने कृष्णको मनमा पर्छ।
यही सोचेर कृष्णले छल गरी यलम्बरको टाउको काट्ने जुक्ति निकाल्छन्।
यलम्बरले भने आफ्नो टाउको काटिए पनि आकाशमा उड्दै महाभारत युद्ध हेर्न पाउनुपर्ने सर्त राख्छन्।
उनको सर्त पूरा हुन्छ।
युद्ध सकिएपछि यलम्बरको टाउको त्यति बेला काठमाडौंको इन्द्रचोक हुँदै बग्ने बागमती नदीमा आएर खसेको र आकाश मार्गबाट उड्दै आएको हुनाले त्यही टाउकोलाई आकाश भैरव भनिएको विश्वास गरिन्छ।
यो त भयो आकाश भैरव अर्थात् आजु द्य:को कथा। वंतु टोलको बाकादे आजुलाई कतिपयले आकाश भैरवकै दाजुभाइ वा मीत मान्छन्।
बाकादे आजुको पनि आजु द्यःको जस्तै किम्बदन्ती छ।
बाकादे आजु गुठीका कार्यकारी सदस्य जयओम मानन्धरका अनुसार बाकादे शब्द 'बागुदेय्' अर्थात् 'आधादेश' बाट आएको हो। प्राचीन कालमा काठमाडौंमा स-साना १२ वटा देश थिए। तीमध्ये एउटा देशका राजाले कुनै छोरा वा मन परेको कुनै व्यक्तिलाई आफ्नो राज्यको आधा भाग छुट्याएर दिए।
आधादेशलाई नेवार भाषामा 'बागुदेय्' भनिन्छ। समयक्रममा बागुदेय् अपभ्रंस हुँदै बाकादे भयो र त्यहाँ शासन गर्ने राजालाई बाकादे आजु भन्न थालियो।
इतिहास तथा संस्कृतिविद् भुवनलाल प्रधानका अनुसार इन्द्रचोकदेखि रणमुक्तेश्वरसम्मको इलाकालाई आधादेश भनिन्थ्यो। पूर्वतर्फको इलाकामा वंतु पनि पर्थ्यो। नेपाल सम्बत् ४९६ मा हरि पण्डितसेनले आकाश भैरवमा इँटा छापी ध्वजा चढाएको र त्यसै वर्ष मान्धुर (मानन्धर) जगतले वंता क्षेत्रको फल्चामा इँटा छापेको गोपाल वंशावलीमा उल्लेख छ।
'वंता भनेको वंतु हुनसक्छ,' गुठीका सदस्य जयओमले भने, 'परापूर्वकालदेखि भैरवको पूजा गर्दै आएका मानन्धरहरूको उल्लेख बाकादेसँगै आउनुले बाकादेमा मानन्धरहरूको बस्ती रहेको प्रमाणित हुन्छ।'
पुरातत्व विभागका सिद्धिरत्न शाक्य भिक्षुका अनुसार असनदेखि मखनसम्मको क्षेत्र तिब्बत र भारतबीचको एक प्रमुख व्यापार केन्द्र थियो। त्यहाँको 'भन्साछेँ' मा व्यापारीहरू बस्थे। यही क्षेत्रमा तेल पेल्ने कोल पनि थियो। तेल पेल्ने काम मानन्धरहरूले गर्थे।
'क्वाथ सा:, थथुसाः र वंतु साः पछिसम्मका दस्तावेजहरूमा उल्लेख भएको पाइन्छ। सा: भनेको तेल पेल्ने कोल हो। यी सबै प्रमाणबाट बाकादेमा पहिल्यैदेखि मानन्धरहरूको बस्ती थियो र उनीहरू साः (कोल) स्थापना गरी तेल पेल्ने काम गर्थे भन्ने प्रस्ट हुन्छ,' भिक्षुले 'बाकादे आजु चिनारी' मा भनेका छन्, 'उनीहरू आजु द्यःको पनि भव्य पूजा गर्थे। इन्द्रजात्रा बेला वंतुका मानन्धरहरूले बाकादे आजुलाई फूलैफूलले सजाएर राख्ने चलन आजसम्म छ।'
बाकादे आजुलाई फूलले सजाउने जिम्मा मानन्धर सनाः गुठीलाई छ। आजु द्यः सजाउने काम भने आकाश भैरव गुठीका महर्जनहरूले गर्छन्। जात्राभरि हरेक दिन यहाँको फूल फेरिन्छ। यसका लागि धेरै फूल र समय लाग्छ। हरेक दिन कसले फूलको जिम्मा लिने भनेर पहिल्यै पालो छुट्याइएको हुन्छ।
द्वादशीका दिन बाकादे आजुको पूजा गरी आसनबाट तल झारिन्छ। त्यसपछि मूर्ति र त्यसमा जडित गहना सफा गरिन्छ। त्यस दिन पुं (चित्रकार) हरू आएर मूर्ति रंगरोगन गर्छन् जसलाई नेपाल भाषामा 'लंपु छायेगु' भनिन्छ।
सबै काम सकिएपछि बाकादे आजुलाई कपडाले छोपेर वंतु ल्याइन्छ र त्यहाँ बनाइएको काठको अस्थायी डबलीमा राखेपछि बल्ल कपडा उघारिन्छ।
'आजु द्यःसँग बाकादे आजुको आँखा जुधाउनु हुँदैन भन्ने भनाइ छ। त्यही भएर यहाँ ल्याउँदा र लग्दा हामी कपडाले छोप्छौं,' जयओमले भने, 'बाकादे आजुलाई यहाँ ल्याएपछि बल्ल इन्द्रचोकमा आजु द्यःलाई बाहिर निकालिन्छ। हाम्रो आजुलाई जात्रा सकिएर भित्र लगेपछि मात्र आजु द्यःलाई भित्र लगिन्छ।'
आजु द्यः कुमारी रथयात्राकै मार्गमा पर्छ भने मूल सडकबाट अलि भित्र राखिने बाकादे आजुसम्म रथ पुग्दैन। त्यही भएर पनि यो आजुको त्यति चर्चा नभएको हुनसक्ने उनी बताउँछन्।
बाकादे आजुको पछाडि माटोको घ्याम्पो जोडिएको हुन्छ। घ्याम्पोमा जाँड राखिएको हुन्छ जसमा पाइपबाट चुहाएर 'हाथु हायेकेगु' गरिन्छ। हाथुसँगै समय् बजि पनि बाँड्ने चलन छ।
भाद्र शुक्ल पूर्णिमाको दिन कुमारीको रथ काठमाडौंको माथिल्लो टोलबाट (थःनेयाः) तानेर ल्याई इन्द्रचोक पुगेपछि आकाश भैरवको मुखबाट जाँड अर्पण गरेजस्तै बाकादे आजुको मुखबाट पनि जाँड अर्पण गरिन्छ।
त्यस्तै जात्राको अन्तिम दिन नानीचायाः बेला पनि रथ तानेर इन्द्रचोक ल्याएपछि यी दुवै आजुको मुखबाट जाँड अर्पण गर्ने चलन छ।
हनुमानढोकामा यःसिं ढालेपछि बाकादे आजुको जात्रा पनि सकिन्छ। य:सिं ढालेको भोलिपल्ट बल्ल बाकादे आजु र आजु द्यःलाई आ–आफ्नो द्यःछेँ (पूजा घर) लग्ने चलन छ। येँयामा आठ दिन बाहिर ल्याएर सार्वजनिक प्रदर्शनी गर्नुबाहेक वैशाखमा मातृऔंशीको एक दिनअघि बाकादे आजुको 'चःह्रे पूजा' वा कुलपूजा हुन्छ। त्यसबाहेक यिनको नित्य पूजा हुँदैन। आजु द्यःको भने दैनिक पूजा हुन्छ।
न्यूरोडमा हाल नेपाल बैंकको कार्यालय रहेको ठाउँमा पहिले पोखरी थियो। त्यो पोखरीमा फुल्ने कमलको फूल जात्रामा हरेक दिन चढाउनुपर्ने नियम थियो। पोखरी मासिएर बैंक भवन बनेपछि त्यो चलन अहिले छैन। कुनै समय बाकादे चोक पनि थियो। इन्द्रचोकबाट सिधा मखन टोल जाने बाटोछेउमै बाकादे चोक थियो। त्यो पनि अहिले छैन।
'नब्बे सालको भुइँचालोपछि न्यूरोड (जुद्ध सडक) बन्यो। इन्द्रचोकबाट सिधा भूगोल पार्क जाने बाटो निकालियो। बाटो बनाउँदा बाकादे चोक पनि मिचियो,' जयओमले भने।
इन्द्रचोकसँगै केलटोल भन्ने ठाउँ छ। काठमाडौं आएका कोलियाहरू बसोबास गरेको ठाउँ भएकाले उक्त स्थानको नाम कोलिग्राम र त्यही कोलिग्राम पछि 'केलटोल' भएको मानिन्छ।
'काठमाडौंलाई कुनै समय कोलिग्राम र दक्षिण कोलिग्राम (यम्बु र यंग) मा विभाजन गरिएको थियो। इन्द्रचोकमा पहिलो किराँती राजाको मूर्ति हुनु र त्यस नजिकै बाकादे नामको राज्य हुनुले यो ठाउँ कुनै समय धार्मिक रूपले मात्र होइन, राजनीतिक रूपले पनि महत्व बोकेको स्थान हुनुपर्छ भनी अनुमान गर्न सकिन्छ,' जयओमले भने।