डोटी सायलकी १३ वर्षीया जानकी बादी कहिल्यै स्कुल गइनन्। उनका दाजु पनि पढ्न गएनन्। जानकीका बुवा बितेपछि आमाले मागेर खाने गरेकी छन्।
जानकी र उनका भाइलाई साथमै ल्याएर अत्तरिया आएकी उनकी आमा दिनभरि बजारमा माग्न हिँड्छिन्। मागेर पाइएको पैसाले आफू रक्सी खान्छिन्।
जानकीलाई पनि उनकी आमा आफैंसँग हिँडाउन खोज्छिन्। बादीमाथि हेर्ने नजर नै खराब भएकाले कसैले बलात्कार पो गरिदिन्छन् कि भन्ने पीरले बस्तीका महिला जानकीलाई आमासँगै जानबाट रोक्ने गरेको बताउँछन्।
‘आमाले सँगै लगेका दिन माग दे, रक्सी खान्छु भन्छन्,’ जानकीले भनिन्।
जानकीले आफूहरू पहाडमा अर्काको जमिनमा गोठमा बस्ने गरेको बताइन्। अहिले त्यही जमिनमा पनि वडाको कार्यालय बन्ने भन्दैछन्।
जानकी जस्तै बादी परिवारका अरू चार/पाँच जना स्कुल नजाने केटाकेटी उनकै बस्तीका छन्।
‘पढ्न मन छ, पैसा नाइँ, आमाले पनि पठाउँदिनन्,’ उनले भनिन्।
विद्यालय जान नाम लेख्न, ड्रेस किन्न, कापीकलम किन्न पैसा चाहिने भएर उनी पढिनन्। उनका चार भाइ र तीन बहिनी हुन्। दुई दिदी सानैमा बिहे गरेर गएको उनले बताइन्। एक जना दाजु गाउँमा मजदुरी गर्छन् र त्यो पैसाले रक्सी खाने गर्छन्। एक दाजु भारत गएर उतै हराए। एक भाइलाई माइजुले पालेकी छन्।
आमासँगै हिँड्ने भाइले बजारबाट फर्किँदा हात भाँचेर आएको छ। उसको उपचार भएको छैन।
कञ्चनपुरकी मनीषा बादीले २०७२ सालमा एसइई दिएकी थिइन्। आर्थिक स्थिति कमजोर भएर उनले पनि पढ्न छोडेको बताइन्।
‘अगाडिको पढाइ यस्तै भयो, सिटिइभिटीबाट ब्युटिपार्लरको तालिम सिकेकी छु, लेभल वान गरेको प्रमाणपत्र छ, आर्थिक नभएर न पसल खोल्न सकें, न त पढ्न,’ उनले भनिन्।
५०/६० हजार रुपैयाँ भए ब्युटिपार्लर खोल्ने उनको सपना छ।
‘स्कुल पढ्न पनि धेरै खर्च लाग्ने, छात्रवृत्ति पनि पाएन, बुबाले एक्लै कमाएर पढाउन सकेनन्, किताब स्कुलले दिन्छ, अरू सबैमा पैसा लाग्छ, परीक्षा फी नदिए त बस्न दिँदैनन्,’ उनले भनिन्।
बझाङ थलारा गाउँपालिकाकी हर्कुदेवी बादी पनि कैलालीको गोदावरीमा छाप्रो हालेर बसेकी छन्।
‘पहाडमा टाउको लुकाउने सानो झुपडी छ, खोलाले बगाउने डर छ। त्यसैले यतै छाप्रो हालेर बस्याकी छु,’ उनले भनिन्।
जनता आवासले बनाइदिएका घर पनि पहिरोले बगाएको उनले बताइन्। भिरैमा घर छन्, सर्ने ठाउँ अन्त नभएपछि केटाकेटी पढाउनतिर आफ्नो ध्यान नगएको उनी बताउँछिन्।
घुमन्ते मगन्ते भूमिहीन संघर्ष समितिकी अध्यक्ष मिठु बादीले शिक्षा र रोजगारीका अभावमा विदेश गएर कैयौं दिदीबहिनी इज्जत बेचेर खानुपर्ने, कोठीमा बिक्री हुनु परेको बताइन्।
‘यौन व्यवसाय गर्न लाइसेन्स दे, होइन भने पुनर्स्थापना गर भनेर मुख्यमन्त्री कार्यालय अगाडि आवाज निकालेपछि उनीहरूले लाजको कुरा मानेर तीन करोड छुट्याएका हुन्,’ मिठुले भनिन्।
उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष वादी समुदायका लागि भनेर सो बजेट छुट्याएको थियो।
कतिपय वादी समुदायका नेताले अहिले देहव्यापारको मुद्दा किन उठाइयो भनेर सो बजेट नलिने भने। सो विषयमा पोहोर मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायकै मानिसहरूबीच कुटाकुट भयो।
बादी समुदायभित्रकै विवादले मुख्यमन्त्री कार्यालयबाट पाइने गरी छुट्याइएको सो बजेट त्यस वर्ष फिर्ता गयो।
‘अहिले पनि बिहे गर्छौं भनेर होटलमा लग्ने, सन्तान जन्माएर त्यस्तै छोडेपछि के गरेर खाने? त्यो आइमाईले आफ्नो बानी नछोड्ने अवस्था छ,’ मिठुले भनिन्।
बच्चादेखि पढ्न पाए नोकरीमा बादीका बालकालिका भए, उनीहरूले अगाडिका दिदीबहिनीजस्तो दुःख पाउनु नपर्ने मिठु बताउँछिन्।
‘हाम्रा बालबालिका पढाइदिए नेपाल सरकारलाई धन्यवाद दिने थियौं, हामीले सात मन्त्रलायमा भेट्यौं, उहाँले यो वर्षदेखि एक हजार र आठ हजार गरी पैसा दिने भन्नुभएको छ,’ उनले भनिन्।
सुदूरपश्चिममा बादी समुदायको जनसंख्या करिब १२ हजार छ। यीमध्ये घरबास नभएका, सीप भएर पनि काम नपाएका धेरै छन्। केहीले केटाकेटी पढाउन सरकारी वा गैरसरकारी संस्थालाई जिम्मा लगाउने गरेका छन्। यस वर्ष ६ जना बच्चा पढाउन माग आएकोमा यौन शोषणबाट जन्मेका हुन् भन्ने दर्जनौं निस्केपछि बस्तीबाटै छान्न गाह्रो भएको मिठुले बताइन्। पछि जिल्ला प्रशासन कार्यालय कैलालीले १० जना छनौट गरेर पढ्न पठायो।
यस वर्ष पनि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट बादी उत्थान छात्रवृत्ति कार्यक्रम शीर्षकमा तीन करोड बजेट छुट्याएको छ। केटाकेटी स्कुल जान ढिला हुने बेला भइसक्दा पनि सो बजेट कार्यान्वनमा आएको छैन।
‘आजै पनि डायरी नपाएर मेरी नातिनी स्कुल जान पाएकी छैन, १२ सम्म पढेका उसै सडेका छन्, त्यो पैसा मुखले मात्रै बोले, कार्यान्वयन भएको छैन,’ मिठुले भनिन्।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेका अनुसार बादी उत्थान छात्रवृत्ति कार्यक्रम लागु भइसकेको छ। यो कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाइ नौ वटै जिल्लाका सामाजिक विकास कार्यालयलाई पठाइसकिएको छ।
‘अहिले कुन जिल्लामा कति पैसा लाग्छ भन्ने निश्चित भएको छैन, कसरी काम गर्ने भनेर यताबाट गइसक्यो, अब केही दिनमा सूचना निकाल्छन् र विद्यार्थीको विवरण ल्याएपछि हामी साउनदेखिकै पैसा विद्यार्थीलाई दिन्छौं,’ उनले भने।
छात्रवृत्ति पाउनका लागि विद्यार्थी अनिवार्य विद्यालयमा भर्ना भइसकेको हुनु पर्नेछ। सम्बन्धित जिल्लाको सामाजिक विकास कार्यालयले सूचना निकालेपछि बादी समुदायका विद्यार्थीले आवेदन दिनु पर्नेछ।
यसरी समाजिक विकास कार्यालयले स्थानीय तह र विद्यालयमार्फत् लगत संकलन गर्ने छन्। त्यो आएपछि सम्बन्धित विद्यार्थीको वा निजको अभिभावकको खातामा मासिक पैसा पठाइने छ।
पहिलो, बादी समुदायका छोरी छात्रवृत्ति कार्यक्रम राखिएको छ। यसमा कक्षा १ देखि १२ सम्मका छात्राहरूलाई छात्रवृत्तिका लागि ३० दिनको सूचना जारी हुने छ।
उनीहरूले प्रशासन कार्यालयबाट पाएको बादी समुदाय परिचय पत्र, आमा/बुबाको नागरिकता प्रतिलिपि, छात्राको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र, स्थायी बसोबास गरेको भनी स्थानीय निकायको प्रमाणपत्र, नाता प्रमाणित पत्र र अध्ययनरत विद्यालयको सिफारिस पत्रका साथ आवेदन दिनुपर्छ।
सम्बन्धित विद्यार्थीको बैंक खाता वा नभए आमाबुवाको खाता नम्बर र डिजिटल चेकको प्रतिलिपि पनि सँगै पेस गर्नुपर्छ।
एकै बच्चाले धेरै ठाउँबाट लिने वा बजेटको दुरूपयोग हुन नदिने यी मापदण्ड बनाइएको प्रदेश सचिव लामिछानेले बताए।
आमाबाबुको नागरिकता नभए स्थानीय तहले गरेको सिफारिस हुनु पर्नेछ। यसरी बादी समुदायका छात्राहरूको स्कुलमा हाजिरी हेरर प्रत्येक महिना सिधै विद्यार्थीको खातामा एक हजार बजेट जाने व्यवस्था गरिएको सचिव लामिछानेको भनाइ छ।
यस्तै दोस्रोमा, बादी समुदायका छात्र वा छात्रालाई उच्च शिक्षा छात्रवृत्ति दिइने छ।
यसमा पनि ३० दिनको म्याद दिई स्नातक वा स्नातकोत्तर अध्ययनरत बादी समुदायका छात्रछात्राबाट आवेदन लिइने छ। १२ कक्षा पास गरेका कागजात र अरू आवश्यक कागजातका आधारमा छनोट भएका ५० जनाको खातामा मासिक ८ हजारका दरले रकम पठाउने मन्त्रालयले जनाएको छ।
यसमा ५० जना मात्रै छनोट गर्ने भनिएको छ। विद्यार्थी संख्या ५० भन्दा बढी आएमा बढी कक्षा १२ वा पढिरहेको अवस्थामा प्राप्त जिपिएका आधारमा उत्कृष्टले अवसर पाउने छन्।
यसरी शिक्षा र रोजगारीमा बादी समुदायलाई सहायता दिन ल्याइएको यो कार्यक्रमले उनीहरूको आर्थिक उपार्जनमा मद्दत पुग्ने विश्वास मन्त्रालयको छ। सचिव लामिछानेले सरकार फेरिए पनि यो कार्यक्रम निरन्तर लागू हुनुपर्ने बताए।