दाङको लमही नगरपालिका-९ रिहार निवासी हुमा वलीले व्यवसायिक बाख्रापालन सुरू गरेको पाँच वर्ष नाघिसक्यो।
त्यसअघि उनले गुजरामुखी र परम्परागत रूपमा बाख्रापालन गर्दै आएकी थिइन्। विगत पाँच वर्षदेखि भने उनले आफ्नै गाउँ रिहारमा व्यवस्थित खोर बनाएर बाख्रापालन गरिरहेकी छन्।
गाउँमा सहकारी संस्था स्थापनासँगै वलीले बाख्रापालनका लागि ऋण पाइन्। तालिम पाइन्। त्यत्तिमात्रै हैन पालेका खसी–बोका बजारीकरणमा समेत सहयोग सहकारीले नै गरिदिन थाल्यो।
कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले गर्दा वलीजस्ता साना किसानलाई ब्यवसायिक रूपमा बाख्रा पालन गर्न सहज भयो।
श्रीमान ‘मानबहादुर वली’ को नामबाट बाख्रापालन फर्म दर्ता गरि व्यवसाय सुरू गरेकी वलीको फर्ममा अहिले साना–ठूला गरेर ५५ वटा बाख्रा, खसी र बोका छन्। ‘अहिले ५५ वटा खसी बाख्राहरू छन्,’ उनले सेतोपाटीसँग भनिन्, ‘यी मध्ये १५ वटा जति दसैंमा बिक्रि गर्ने योजना छ।’
गाउँ घरमै बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि वैदेशिक रोजगारीमा गएका श्रीमान मानबहादुर घर फर्किए। आज वली दम्पती मिलेर घरमै ब्यवसायिक बाख्रापालन गरिरहेका छन्।
आफू फेरि विदेश जान नपरेकाले मानबहादुर पनि आज खुसी छन्। स्थानीय महिलाले आपसमा मिलेर सरसल्लाह गरी सुरू गरेको कामले धेरै परिवारमा खुसी थपिएको मानबहादुरले बताए। ‘पहिला हुमा सम्पूर्ण रुपमा मेरो कमाइमा निर्भर थिइन्,’ उनले भने, ‘आज हुमाकै कारण मलाई धेरै सहज भएको छ।’
वली परिवारमा पहिले घरको आफ्नै भनिने आम्दानीको स्रोत केही थिएन। ‘घर व्यवहार चलाउनकै लागि श्रीमान विदेश जानुपर्ने बाध्यता थियो,’ हुमाले भनिन्,‘ पछि बाख्राबाट फाइदा हुँदै गएपछि मैले नै श्रीमान विदेशबाट फिर्ता बोलाएँ।’
दुई वटा बाख्राबाट ब्यबसाय सुरू गरेकी वलीको लगानी अहिले करिब १५ लाख रूपैयाँ पुगेको छ।
रिहारकै गंगा घर्ती मगरले पनि बाख्रापालनबाट मनग्गे आम्दानी गर्दै आएकी छन्। घर्तीले पनि अहिले ५० बढी खसी-बाख्रा पाल्दै आएकी छन्।
व्यवसायीक बाख्रापालन गर्न थालेपछि घरको कुनै पनि सदस्य कमाउनकै लागि भनेर बाहिर जानु नपरेको घर्तीले बताइन्।
पूर्वजनमुक्ति सेना समेत रहेकी घर्तीले उत्कृष्ट कृषकका रूपमा सम्मानितसमेत भइसकेकी छन्।
‘आफ्नै गउँ ठाउँमा मेहनत गरे राम्रै कमाई गर्न सम्भव रहेछ,’ घर्तीले भनिन्, ‘यहाँ प्रसस्तै वन जंगल छ, बाख्रा पाल्न त्यति गाह्रो छैन।’
सहकारी संस्थामा आवद्ध भएपछि घर्तीले बाख्रापालन सम्बन्धि विभिन्न तालिमहरू लिइन्। व्यवसायिक बाख्रा पालनका लागि ऋणसमेत सहकारीबाट पाएपछि पाठा-पाठी किनेर ब्यवसाय सुरू गरेको उनले जानकारी दिइन्।
पालेका खसी बोका बजारीकरणमासमेत सहकारीले नै सहयोग गरिदिनाले स्थानीय किसान ब्यवसायप्रति आकर्षित भएको उनले बताइन्।
उनका अनुसार सहकारीले महिला दिदी बहिनीलाई एकै ठाउँमा फूलको माला जस्तै गरि जोड्नुका साथै आर्थिक र सामाजिक रूपमा बलियो बनाउन सहयोग गर्दै आएको छ।
‘सहकारीले हामीलाई सहयोग पनि गरेको छ। अघि बढ्न उत्प्रेरणा पनि थपेको छ’, घर्तीले भनिन्,‘त्यहीँ भएर आज यहाँका महिला दिदी बहिनी ब्यवसायिक बाख्रा पालनमा अग्रसर भएका हुन्।’
हेफर इन्टरनेशलन र ग्रामीण उत्थान केन्द्रद्वारा सञ्चालिन पशुवस्तुको मूल्य शृंखलामा आधारित साना किसानको संस्था सरलीकरण परियोजना (एसएलभिसी) परियोजना मार्फत यहाँ करिब ६ सय महिलाले बाख्रा पालन गर्दै उद्यमी बन्न सफल भएका छन्। सहकारीमा एक हजार तीन सय बढी सदस्य छन् ।
उनीहरू मासिक बचत गर्नेदेखि आफूलाई आवश्यक परेको रकम सहकारीबाट ल्याउन गर्छन्। व्यवसायिक रूपमा बाख्रापालन गरेका महिलाले घाँस खेती पनि गर्दै आएका छन्।