काठमाडौंनजिकै बर्खाको पानी संकलन गरेर ताल बनाइएको छ।
शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको सिमसार क्षेत्रलाई केही विस्तार गरेर २४ मिटर अग्लो ड्याम बनाएर 'धाप ताल' बनाइएको हो।
यहाँ धापमा बाँध बाँधेर ताल बनाउनुको उद्देश्य हिउँदमा बागमतीमा पानीको बहाब बढाउनु हो।
केही वर्षयता काठमाडौं उपत्यकामा पानीको उपलब्धता र गुणस्तर घट्दै गइरहेको छ। सहरबीचमै बागमती नदी भए पनि यहाँको पानी छोइसक्नु छैन। ढल मिसिएर प्रदूषित छ। हिउँदका बेला त पानीको बहाबै कम हुन्छ।
त्यसैले बर्खाको असार, साउन, भदौ र असोजमा परेको पानी जम्मा गरेर बाँकी आठ महिना बागमतीमा पानीको बहाब बढाउन धापमा बाँध बनाएर कृत्रिम ताल बनाइएको हो। यो बाँध निर्माण गर्न सन् २०१५ मै सम्झौता गरिएको थियो, भ्याटबाहेक ४५ करोड रूपैयाँमा।
कृत्रिम ताल निर्माण आयोजनाका अनुसार बाँध बनाउन एसियाली विकास बैंकबाट ऋण लिइएको छ। ४५ करोडमध्ये ८४ प्रतिशत ऋण हो भने बाँकी नेपाल सरकारले बजेट दिएको छ।
धापको ड्याममा ८ लाख ५० हजार घनमिटरभन्दा धेरै पानी संकलन गर्न मिल्छ। तालमा पानी भरिन करिब तीन मिटर मात्रै बाँकी छ।
धाप नागमती नदीको मुहानस्थल हो। नागमती बागमतीको सहायक नदी हो। धापमा संकलन गरेको पानी अब हिउँदमा त्यहाँबाट प्रतिसेकेन्ड ४० लिटरका दरले नागमतीमा छाडिन्छ। नागमती हुँदै पानी बागमतीमा मिसिन्छ र हिउँदका बेला बागमतीमा पानीको बहाब केही बढ्छ।
'सुन्दरीजलभन्दा तलको क्षेत्रमा बागमतीको पानी गुणस्तरहीन छ। खान मिल्दैन, नुहाउन मिल्ने छैन,' बाँध निर्माण आयोजनामा खटिएका इञ्जिनियर निश्चल छत्कुलीले भने, 'अब भने धाप ड्याममा जम्मा भएको सफा पानी नागमती हुँदै बागमतीमा पठाउँछौं।'
१२ हेक्टरको तालमा पछिल्लो अनुगमनले १३ लाख घनमिटरसम्म पानी अडिने देखिएको छ। काठमाडौंनजिकै रहेकाले यो ताललाई पर्यटकीय क्षेत्रका रूपमा पनि विकास गर्न खोजिएको छ।
'निकुञ्ज क्षेत्रमा पर्ने भएकाले पर्यटकलाई नियमनसहित घुम्न दिनेबारे पनि छलफल भइरहेको छ,' उनले भने, ‘यसबारे शिवपुरी-नागार्जुन निकुञ्जसँग कुराकानी गरिएको छ।’
यो ताल चाबहिलबाट करिब ३५ किलोमिटरको दूरीमा छ।
यो ताल जान सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रबाट जंगल नै जंगलको बाटो उकालो लाग्नुपर्छ। सडक कच्ची भए पनि चारपांग्रे र दुईपांग्रे सवारी जान सक्छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, बागमती सुधार आयोजनाले हिउँदमा बागमतीमा पानी प्रवाह गर्न यो ताल बनाएका हुन्।
बागमतीमा पानीको बहाब अझै बढाउन अर्को आयोजना पनि बनाउने तयारी छ।
नागमती खोलामा बाँध बनाएर धाप र नागमती गरी प्रतिसेकेन्ड ४५० लिटर पानी बागमतीमा छाड्ने तयारी छ। धापमा बाँध बनाएर पानी संकलन गरिसके पनि नागमती बाँध अध्ययनकै क्रममा छ।
भिडिओ:
धापभन्दा केही तल शिवपुरी-नागार्जुन निकुञ्जभित्रकै जग्गामा नागमती बाँध बाँध्ने र त्यहाँबाट २.१२ मेगावाट बिजुली निकाल्ने तयारी रहेको इञ्जिनियर छत्कुलीले बताए। बाँध स्थलबाट करिब चार किलोमिटर पाइपलाइनबाट पानी लगेर सुन्दरीजलको पावर-हाउसमा खसाउने योजनाका साथ अध्ययनको काम भइरहेको छ।
सन् २०१७ मै एसियाली विकास बैंकको आर्थिक सहयोगमा नागमती बाँधको विस्तृत सम्भाव्यता अध्ययन सुरू गरिएको थियो। धापजस्तै नागमती बाँधमा पनि पानी संकलन गर्न सके हिउँदमा प्रतिसेकेन्ड ४५० लिटर सफा पानी बागमतीमा मिसाउन सकिने उनले बताए।
नागमतीमा बाँध बनाएर पानी संकलन गर्न वन मन्त्रालय र शिवपुरी-नागार्जुन निकुञ्ज लगायतले सहमति दिइसकेका छन्। यो बाँध बनाएर विद्युत पावस हाउस बनाउँदा जम्मा १४ घरलाई मुआब्जा दिएर हटाउनुपर्ने देखिन्छ, अरू सबै निकुञ्जको क्षेत्रभित्र पर्छ।
नागमतीमा ९४.५ मिटर उचाइको बाँध हुनेछ।
वल्लो डाँडादेखि पल्लो डाँडासम्म फैलिने ड्याम पाँच सय ५३ मिटर लम्बाइको हुनेछ। यो बाँध बनाउँदा ५० हेक्टर निकुञ्जको जग्गा डुबानमा पर्ने अध्ययनले देखाएको छ।
नागमतीको पानी मेलम्ची खानेपानी आयोजनालाई दिएर काठमाडौं उपत्यकाभित्र वितरण गर्न सकिने पनि उनले बताए। यसका लागि पनि अध्ययन भइरहेका छन्।
नागमती बाँध बनाउन सन् २०१७ मा गरेको अध्ययनअनुसार ७ अर्ब ६२ करोड रूपैयाँ लाग्ने देखिएको थियो।