काठमाडौंको हात्तिसारस्थित सिद्धार्थ बैंकको पार्किङमा महानगरपालिकाले टुकुचा फेला परेको छ।
महानगरपालिकाको डोजरसहितको टोलीले हात्तिसारस्थित बैंकको पार्किङमा डोजर चलाएको हो।
टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाइरहेको छ। यसअघि बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोज्न सुरू गरेको थियो। शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउण्डमा पनि महानगरले उत्खनन गरेको थियो।
यसैबीच उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।
अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि दिइने आदेश हो।
सबै तस्बिरहरू- नवीनबाबु गुरूङ/सेतोपाटी