भारतको केरलाका ३० वर्षीय अटो चालक एकै रातमा करोडपति बनेका छन्।
केरला श्रीबरहमका अनुपलाई २५ करोड भारतीय रुपैयाँको चिठ्ठा परेको टाइम्स अफ इण्डियाले जनाएको छ। आइतबार उनको टिकट नम्बर टिजे-७५०६०५ले २५ करोड रुपैयाँको चिठ्ठा जितेको हो।
शनिबार उनले दुई वर्षीय छोराको खुत्रुके फुटाएर चिठ्ठा किनेका थिए।
‘मलाई टिकट किन्न मन थियो। टिकटको मूल्य ५ सय रुपैयाँ थियो। तर मसँग पुग्ने रकम थिएन,’ उनले भनेका छन्।
उनले कर कटौतीपछि १५ करोड ७५ लाख रूपैयाँ पाउनेछन्।
चिठ्ठा जितेको खबर उनकी श्रीमती मायाले दिएकी थिइन्।
अनुप अटो चालक हुनुअघि फुटपाथमा खाजा बेच्थे। उनी मलेसिया जाने तयारीमा पनि थिए।