काठमाडौं महानगरपालिकाले टुकुचा बग्ने भूमिगत सुरूङ खन्न गत बिहीबार जयनेपाल हलको जुन ठाउँमा डोजर चलायो, त्यसको एक सातापछि शुक्रबार त्यही ठाउँनिर सडकपेटी भासिएको छ।
महानगरले खनेको ठाउँ र सडकको बीचमा जयनेपालको पर्खाल थियो। अहिले पर्खालको सट्टा जस्तापाताले बारिएको छ। त्यही जस्ताले बारिएको ठाउँमा शुक्रबार बिहानै सडक किनारको पेटी भासिएर प्वाल परेको हो। त्यो प्वाल सडकपेटीदेखि भूमिगत टुकुचा सुरूङसम्मै ह्वांग खुलेको छ।
कम्तिमा १३० वर्षअघि राणाकालमा बनेको संरचना जथाभाबी डोजरको नंग्राले कोपर्दा त्यसको भारवहन क्षमता घट्ने पुरातत्वविद तथा इञ्जिनियरहरूले बताउँदै आएका छन्। यसैको पहिलो उदाहरण शुक्रबार देखिएको छ।
यसबारे हामीले दुबई मेट्रो लगायत विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय सडक आयोजनाहरूमा काम गरेका इञ्जिनियर डिपी जैसीसँग कुरा गरेका छौं।
टुकुचा सुरूङका विभिन्न भागमा असुरक्षित तरिकाले डोजर चलाउँदा त्यसको प्रभाव अहिले देखिन थालेको उनले बताए।
उनका अनुसार यसरी डोजर चलाउनु मुख्यतया तीन कारणले ठिक थिएन — इञ्जिनियरिङ दृष्टिले, समयको दृष्टिले र सुरक्षा दृष्टिले।
सबभन्दा पहिला इञ्जिनियरिङ पक्षको चर्चा गरौं।
महानगरले जमिनमुनि बगेको टुकुचा सतहमा ल्याउन डोजरले ठाडो कटान गरेको छ। बिनाअध्ययन जमिन खन्दा भूमिगत सुरूङको माथिल्लो भागमा रहेको धनुष आकारको गुम्बज संरचना (आर्च) भत्किएको छ। आर्च भनेको सुरूङ निर्माणमा सबभन्दा महत्वपूर्ण संरचना भएको उनी बताउँछन्।
भूमिगत संरचना बनाउँदा त्यसको माथिल्लो भागमा धनुष आकारको आर्च बनाउनुको कारण माथिको सबै भार त्यही आर्चले धान्न सकोस् भनेर हो। माथिल्लो तहको माटो र त्यसमाथि बनेका घर लगायत संरचनाहरूको भार आर्चमा सबैतिर बराबर बाँडिएको हुन्छ। यहाँ माटोको तह १५ देखि २० फिट छ।
‘वर्षौं वर्षअघि बनेको यो संरचना अहिलेसम्म जस्ताका तस्तै टिक्नुको कारण नै यही आर्च हो। यसलाई एक ठाउँमा चिरा पार्नेबित्तिकै वा भत्काउनेबित्तिकै माथिल्लो तहको जम्मै भार आर्चभन्दा मुनिको पर्खालमा पर्न जान्छ,’ निर्माणसम्बन्धी विज्ञ जैसीले भने, ‘पर्खालले मात्र पन्ध्र फिट अग्लो माटोको प्रेसर धान्न सक्दैन। यसले पूरै सुरूङ जोखिममा परेको छ।’
उनले अगाडि भने, ‘महानगरले जमिन खनेर छाडेको डिलमा कुनै सपोर्ट राखेको छैन। जमिन खन्दा सुरक्षा नियम पनि पालना गरिएको छैन। यदि डिल भत्किएर छेउछाउमा रहेका सडक, फुटपाथ वा घरहरू भत्किए भने महानगरले नै त्यसको जिम्मेवारी लिँदै सम्बन्धित व्यक्तिहरूलाई क्षतिपूर्ति दिनुपर्छ।’
इञ्जिनियरिङपछि कुरा गरौं, समयको।
बर्खाको अन्तिममा आएर जमिन खन्नु समयका हिसाबले पनि गलत निर्णय भएको जैसी बताउँछन्।
‘निर्माण इञ्जिनियरहरूले जुन महिनादेखि सेप्टेम्बरसम्मलाई बर्खे मौसम मान्छन्। खासगरी नदीनाला नजिक गर्नुपर्ने कामहरू यो बेला सकभर गर्दैनन्,’ उनले भने, ‘अहिले जमिनको सतहको माटो बर्खाको पानीले टम्म भरिएको छ। माटोको वजन सामान्य समयको भन्दा धेरै हुन्छ।’
भन्नुको मतलब, टुकुचा सुरूङको आर्च भत्किएर दायाँबायाँ पर्खालमाथि जुन भार थपिएको छ, त्यो सामान्य समयको भन्दा निकै बढी हुन्छ। यसले पनि सुरूङमा थप क्षति पुग्ने र छेउछाउको जमिन भासिने खतरा बढेको उनी बताउँछन्।
उनले भर्खरै धोएको लुगाको उदाहरण दिए।
धोएको लुगाको वजन ओभानो लुगाभन्दा बढी हुन्छ। घाममा राखेर लुगाको पानी जम्मै सुकाएपछि मात्र त्यो वास्तविक वजनमा फर्किन्छ।
‘माटोको प्रकृति पनि त्यस्तै हो। पानीमा भिजेपछि माटो गह्रुंगो हुन्छ। यही गह्रुंगो माटोको अतिरिक्त भार सुरूङमाथि थपिएको छ,’ उनले भने, ‘एउटा इञ्जिनियरले अहिलेको समयमा यस्तो काम गर्न हुन्छ कि हुँदैन भन्ने सामान्य कुरा पनि हेक्का नराखी हचुवा भरमा निर्णय लिएको देखिन्छ।’
यस्तो संरचना कसरी खन्ने त? यहाँ जैसीले महानगरबाट भएको तेस्रो गल्तीको चर्चा गरे।
‘काठमाडौं महानगर सुरक्षा दृष्टिले पनि संवेदनशील भएको पाइँदैन,’ जैसीले भने, ‘कुनै पनि भूमिगत संरचना खन्नुभन्दा पहिला छेउछाउमा टेकाहरू दिएर सुरक्षा उपाय अपनाउनुपर्छ। गहिरो खाडल खन्दा त झन् टेका नलगाई हुन्न। खाल्डो खन्दै जाँदा कुनै पनि बेला डिल भासिन सक्छ। जो व्यक्ति खन्दै तल झर्छ, माटोले पुरिएर उसको ज्यान जान सक्छ। यस्तो दुर्घटनाका थुप्रै उदाहरण हामीले सुन्ने गरेका छौं।’
उनका अनुसार घना बस्ती बीचको टुकुचामा कम्तिमा १५ फिट खन्नु भनेको निकै गहिरो खाडल हो। मान्छेहरू बसोबास गर्ने घर लगायत अन्य भौतिक संरचना भएको ठाउँमा यति गहिरो खाडल खन्दा झन् बढी संवेदनशील हुनुपर्ने उनी बताउँछन्।
‘महानगरका मेयर बालेन शाह स्ट्रक्चरल इञ्जिनियर पनि हुनुहुन्छ। उहाँलाई त यो जोखिमबारे अझ बढी ज्ञान हुनुपर्ने हो,' उनले भने, ‘उहाँ टुकुचा उत्खननमा प्राविधिक र सुरक्षा दृष्टिले समेत चुक्नुभएको छ।’
खासमा जयनेपालबाट सुरूङभित्र हालिएको टुकुचा कुन-कुन ठाउँ हुँदै बग्छ भन्ने थाहा पाउन जमिन खन्दै सुरूङ कोपर्न जरूरी पनि थिएन। अहिले नेपालमै उपलब्ध प्रविधिले जमिनमुनि ५० मिटरसम्म भएका इँटा, ढुंगा, धातु, काठ लगायत वस्तु थाहा पाउन सकिन्छ। पुरातात्विक उत्खननमा नेपालमै यस्तो प्रविधि प्रयोग गर्ने गरिएको छ। यो प्रविधिले टुकुचा हालिएको इँटाको यति ठूलो सुरूङ कहाँ कहाँबाट जान्छ भनी थाहा नपाउने कुरै थिएन।
पुरातत्व विभागले लुम्बिनी, तिलौराकोट लगायत क्षेत्र उत्खनन गर्नुअघि जमिनको सतहमा त्यस्तो उपकरण चलाएर मुनिको संरचना अध्ययन गरेको थियो। ‘म्याग्नोमिटर’ भनिने उपकरणले जमिनको जिओफिजिकल सर्वेक्षण गर्छ। जमिनमुनि कहीँ इँटा वा ढुंगाका संरचना दबिएर बसेको छ भने बाहिर सतहबाटै थाहा पाइन्छ। यसै आधारमा पछिल्लो समय ठूल्ठूला पुरातात्विक खोज र अन्वेषणहरू हुँदै आएका छन्।
मैले केही समयअघि लुम्बिनी र तिलौराकोट भ्रमण क्रममा बेलायतको डुरहाम विश्वविद्यालयका प्राध्यापक रोबिन कनिंघमसँग जमिन उत्खननको विधिबारे कुराकानी गरेको थिएँ।
आधुनिक प्रविधिका कारण पुरातात्विक उत्खनन सहज हुँदै गएको बताउँदै उनले भनेका थिए, ‘पहिला हामीले जमिनको सतहमा रहेका ढिस्को हेरेर अनुमानका भरमा खन्नुपर्थ्यो। यसरी अनुमानका भरमा जमिन खन्नु भनेको विनाश हो। अहिले आधुनिक प्रविधि र उपकरणहरूका कारण हामीले विनाश गर्नुपर्दैन। म्याग्नोमिटरको मद्दतले बाहिरी सतहबाटै तल के छ भन्ने थाहा पाउन सकिन्छ।’
यस्तो उपकरणले जमिनको सतहबाट ५० मिटरसम्मको गहिराइमा भएका चिजहरू देखिने उनले बताएका थिए।
महानगरबाट भएको प्राविधिक त्रुटि पुरातत्व विभागका अधिकारीले पनि औंल्याएका छन्।
पुरातत्वले महानगरले चलाएको डोजरबाट राणाकालीन भूमिगत सुरूङमा के–कस्ता भौतिक क्षति पुगेको छ भन्ने अध्ययन गरिरहेको छ। अध्ययनमा संलग्न पुरातत्वविद् भाष्कर ज्ञवालीले डोजरका बलिया नंग्राले कोपर्दा कम्तिमा १३० वर्षअघि बनेको सुरूङको भौतिक संरचनामा क्षति पुग्नुका साथै त्यसको कालिगढी र इञ्जिनियरिङलाई प्राविधिक रूपले खल्बल्याउने काम गरेको बताए।
‘महानगरले अस्तव्यस्त तरिकाले भत्काएको छ। उनीहरूले यहाँ हात हाल्नुभन्दा अगाडि पुरातत्वसँग सोध्नुपर्थ्यो र समन्वय गर्नुपर्थ्यो,’ ज्ञवालीले भने, ‘भूमिगत रूपमा बग्ने टुकुचालाई जमिनको सतहमा ल्याउने नाममा जथाभाबी डोजर चलाउँदा संरचनामा असर परेको छ।’
यस्तो अस्तव्यस्त उत्खननले आगामी दिनमा थप भौतिक र मानवीय क्षति निम्त्याउने जोखिम रहेको उनले बताए।
हामीले यसबारे सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग पनि कुरा गर्यौं।
उनले बर्खा याममा जमिन खन्दा वरिपरिको क्षेत्र भासिने डर हुने पुष्टि गरे।
‘सामान्यतया बर्खामा जमिन खन्दा यस्तो जोखिम हुन्छ,’ उनले भने, ‘त्यही भएर हामी बर्खा बेला सकभर यस्तो काम गर्दैनौं। खानेपानीको निम्ति सडक खन्ने अनुमति पनि दिँदैनौं।’
उनका अनुसार बर्खामा गहिरो खाडल खन्दा पानी भरिने र वरिपरिको ढिस्को कमजोर भई माटो खस्ने सम्भावना बढी हुन्छ। यसरी माटो खस्दै जाँदा वरिपरिको जमिन र संरचनामा असर पर्न सक्छ।
‘कहिलेकाहीँ त पूरै ढिस्को भासिने डर हुन्छ,’ उनले भने, ‘पानीमा भिजेको माटो त्यसै पनि गह्रुंगो हुन्छ। नजिकै खाल्डो खन्नेबित्तिकै भिजेको माटोको वजनले जमिनको सतह तल भासिन सक्छ।’
अब के गर्ने त?
महानगरको टुकुचा उत्खनन अहिले बन्द छ। उच्च अदालत पाटनले असोज २६ सम्मका लागि डोजर नचलाउनू भनेर अन्तरिम आदेश दिएको छ। असोज २६ गते दुवै पक्ष डाकेर छलफल गरेपछि थप निर्णय हुनेछ।
यसबीच महानगरले खनेर छाडेका खाल्डाहरू ह्वांगै छन्। जयनेपाल हलको आँगनदेखि कमलादीसम्म आधा दर्जन ठाउँमा डोजर चलाइएको थियो। तीमध्ये तीन ठाउँमा भूमिगत सुरूङको तहसम्म खनिएको छ जहाँ टुकुचा बगिरहेको देखिन्छ। अन्य ठाउँमा भने सुरूङको संरचना भेटिएन। कहीँ कहीँ डोजरले खोस्रेर मात्र छाडिएको छ।
खनिएका ठाउँहरू ह्वांगै छाड्दा टुकुचामा बग्ने ढलको दुर्गन्ध फैलिनुका साथै जयनेपाल हल छेउको सडकपेटीजस्तै अन्य ठाउँ पनि भासिनसक्ने खतरा बढेको स्थानीय किरण साख बताउँछन्।
‘वर्षौंदेखि केही नभएको भूमिगत संरचनालाई महानगरको डोजरले चलाउने काम गर्यो। यसले आज जयनेपाल हल छेउको फुटपाथ भासियो, भोलि हाम्रो जग्गा र घरसमेत भासिन सक्छ,’ साखले भने, ‘यसको जिम्मेवारी महानगरले लिनुपर्छ।’
थप क्षति रोक्न के गर्ने भन्ने चिन्ता पनि अहिले स्थानीय बासिन्दालाई छ।
जोखिम कम गर्न भनेर स्थानीय आफैंले टुकुचा सुरूङ पुरपार पार्न मिल्दैन। सय वर्ष पुरानो पुरातात्विक सम्पदा भएकाले मौलिक स्वरूपमै संरक्षण गर्नुपर्ने पुरातत्वविद् भाष्कर ज्ञवालीले बताएका छन्। यो काम पुरातत्व विभागकै निगरानीमा हुनुपर्छ। पुरातत्व र महानगरको समन्वयमा जतिसक्दो छिटो जिर्णोद्धार गरिनुपर्ने जैसी बताउँछन्।
उनले तत्कालै अपनाउनुपर्ने केही सुरक्षा उपायबारे सुझाव पनि दिएका छन्।
‘थप क्षति हुनुभन्दा अगाडि नै महानगरले खनिएका खाल्डामा काठको टेको लगाइहाल्नुपर्छ, ताकि डिलहरू भटाभट भत्किने नौबत नआओस्,’ उनले भने, ‘यसका लागि खाल्डो वरिपरिका भित्तामा काठहरू तह मिलाएर राख्नुपर्छ र त्यसमाथि एउटा डिलबाट अर्को डिलसम्म काठको थाम तेर्सो पारेर राख्नुपर्छ।’
‘टुकुचा उघारेपछि अब सर्वसाधारणको सुरक्षाका लागि पनि त्यसै ह्वांग छाड्न मिल्दैन,’ उनले भने।
थप पढ्नुहोस्: