जाजरकोटको बारेकोट गाउँपालिकाका गोविन्द सिंहसँग झण्डै ५ सय गुलेली छन्। वन्यजन्तु र चराचुरूंगीको संरक्षण गर्न रूचाउने गोविन्दले यी गुलेली किन राखे होलान्?
'यो पनि चराहरूको संरक्षणका खातिर हो। मानिसहरू गुलेली किनेर चरा नमारून् भनेर मैले आफ्नो गाउँतिरका पसलमा भेटे जति गुलेली किन्छु र आफैंले राख्छु,' उनले भने।
उनको यस्तो व्यवहार उनका गाउँलेलाई अनौठो लाग्छ। कतिपयले दाताबाट पैसा ल्याएर जंगल घुम्छ भन्छन्। कतिपयले त बिदाको समयमा घरको काम नगरेर जंगल घुम्नेवाला बहुलाहा, कुकुरले टोकेको मान्छे समेत भनिदिन्छन्।
समाजको दृष्टिकोण यस्तो नकारात्मक भए पनि उनी निराश छैनन्। उनी आफ्नै लगानी र इच्छाले वन्यजन्तु तथा चराचुरूंगीको उद्धार गर्छन्। व्यक्तिगत खर्च गरेरै पनि चोरी शिकार नियन्त्रणमा लागेका छन्।
पेशाले भेटेरेनरीतर्फका सरकारी अधिकृत हुन् उनी। बारेकोट गाउँपालिकामै कार्यरत छन्। उनी वन्यजन्तु र चराचुरूंगीको खोजी र उद्धार गर्न थालेको एक दशक हुनै लाग्यो। दश वर्षअघि के भएको थियो जसले गर्दा गोविन्द जंगल जंगल डुल्न थाले भन्ने कुरा एकछिनपछि गरौंला। पहिले उनले कसरी गर्छन् संरक्षण भन्नेबारे कुरा गरौं।
गोविन्द आफ्नो जिल्लाको जंगल घुमेर वन्यजन्तु र चराचुरूंगीका तस्वीर खिच्छन्। कतै चोरी शिकार गर्नेहरूले मृग मार्न पासो थापेका रहेछन् भने निकाल्छन्। पासोमा परेर घाइते भएका जनावर उपचार गर्छन्। लामो उपचार चाहिने भए घरै लैजान्छन्।
गाउँलेहरूलाई गुलेली नबनाउन र नबोक्न अनुरोध गर्छन्। पसलहरूमा पुगेर समेत गुलेली नबेच्न आग्रह गर्छन्। कसैले बेच्न राखेको रहेछ भने आफैँ किनिदिन्छन्।
गोविन्दका अनुसार अहिलेसम्म उनले ४७० वटा गुलेली जम्मा पारेका छन्। जंगलबाट २६० वटा पासो निकालेका छन्।
जंगलमा मृग मार्न फलामको पासो थापिएको हुन्छ। मोटरसाइकलको चेनबाट पनि पासो बनाइएको हुन्छ। उनी पासो भेटेसम्म आफैं निकाल्छन्। कहिलेकाहीँ पारिश्रमिक दिएर पनि पासो खोज्न कसैलाई पठाउँछन्।
‘भेटाएसम्म आफैं (पासो) उठाउँछु, नत्र अरू मानिसलाई व्यक्तिगत रूपमा पैसा दिएर पनि जंगल पठाउँछु,’ गोविन्द भन्छन्, ‘एउटा पासो निकालेको २५० देखि ४५० रुपैयाँसम्म दिने गरेको छु।’
यसरी जंगल पसेकाले ल्याएको पासो गनेर पैसा दिन्छन्। चोरी शिकारीबाट जंगली जनावर जोगाउन जंगलबाट पासो उठाउने गरेको उनले बताए।
वन्यजन्तु संरक्षणसँगै नयाँ वन्यजन्तु र चरा खोजी गर्नु गोविन्दको उद्देश्य हो। उनी जंगलमै बास पनि बस्छन्। आफू लगातार १५ दिनसम्म पनि जंगलमा बसेको उनले बताए।
जंगलमा उनी सुरक्षित ओडारमा बास बस्छन्। सातु, चिउरा, दालमोठ, बदामजस्ता खानेकुरा बोकेर जान्छन्। गोविन्द हाल सर्प, गिद्ध र पुतलीको अध्ययनमा छन्।
‘आफ्नो जिल्लामा दुर्लभ वन्यजन्तु केके छन् भनेर खोजी गर्ने अभियान पनि हो। जंगलमा भेटिएका घाइते वन्यजन्तुको उद्धार गरी घरमै उपचार गर्ने गरेको छु,’ उनी भन्छन्, ‘हाम्रोतिर चोरी शिकारी धेरै छ। वन्यजन्तु अकालमा मर्नबाट जोगाउने मेरो उद्देश्य हो।’
जाजरकोटको पूर्वी भेगका जंगल घुम्ने क्रममा आफूले चार जातका हिमाली गिद्धका ३४ वटा गुँड भेटाएको गोविन्दले बताए।
उनका अनुसार नेपालमा तीस वर्षदेखि नभेटिएको दुर्लभ वन्यजन्तु कालो ओत (युरेसियन ओटर) बारेकोटको जंगलमा भेटेका छन्। यसलाई उनले आफ्नो अध्ययनको निकै महत्वपूर्ण उपलब्धी मानेका छन्।
गोविन्द कहिलेकाहीँ त कार्यालयमा बिदा लिएर पनि जंगल घुम्ने गरेका छन्। सार्वजनिक बिदाको दिन त उनी जंगलमै हुन्छन्। कार्यालय समयपछि पनि सकेसम्म कुनै न कुनै जंगलमा पुग्छन्।
विश्वका दुर्लभ वन्यजन्तुमध्ये रातो पान्डा, कस्तुरी, ब्वाँसो, सुन गिद्ध, सेतो गिद्ध, चिर कालिज जाजरकोटका जंगलमा भेटेको उनले बताए।
उनले आफूले भेटेका जनावरको फोटो खिच्ने गरेका छन्।
गोविन्दका अनुसार उनले यस्तो काम आफ्नै रुचिमा गरेका हुन्। यसमा लाग्ने खर्च पनि उनको निजी नै हो। खर्चको विषयमा मानिसहरू उनको कुरा पत्याउँदैनन्। भित्र-भित्रै कुनै दाताको पैसामा चलेको शंका गर्छन्।
‘जंगलमा गएर मैले वन्यजन्तु र चराचुरूंगीको उद्धार गर्दा मानिसहरू डोनर (दाता) बाट पैसा ल्याएर गरेको भन्छन्। पैसा कमाउँछ भन्छन्,’ गोविन्दले भने, ‘कतिले त आफ्नो तलब खर्च गरेर जंगल घुम्न बहुलाहा कुकुरले टोकेको छ र पनि भन्छन्। मलाई यसमा कुनै गुनासो छैन। मेरो अभियान जारी रहन्छ।’
उनी जाजरकोटमा मात्रै सीमित छैनन्। सुर्खेत, दैलेख, सल्यान, रूकुम, डोल्पा, जुम्ला, कालिकोट, हुम्ला, बाँके र बर्दियाका पनि जंगल घुमेका छन्।
गोविन्दले २०४४ सालमा सरकारी सेवा सुरू गरेका हुन्। जुम्लामा बाह्र वर्ष बसे। जाजरकोट बसेको बीस वर्षभन्दा बढी भयो। अन्यत्र पनि बसे।
बारेकोट गाउँपालिकामा दुई वर्ष प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे। त्यस बेला जंगल पस्न पाएनन्।
उनले भने, ‘प्रमुख जिम्मेवारीमा भएकाले जंगलतिर जान खासै समय मिलेन, प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी छोडेँ।’
उमेरअनुसार उनको सेवा अवधि पाँच वर्ष बाँकी छ। यतिन्जेल आफ्नो अभियान जारी रहने उनले बताए। आफ्नो अभियानमा हालसम्म निजी रूपमा करिब दस लाख रुपैयाँ खर्च भएको बताए।
उनलाई सेवा निवृत्त भएपछि आफ्नो अभियान के होला भन्ने चिन्ता लाग्न थालेको छ। भन्छन्, ‘अहिले पो तलब आउँछ र खर्च गर्न पाउँछु। जागिर छोडेपछि त पैसाको समस्या हुन्छ।’
आफूले गरेको अध्ययन दस्तावेजका रूपमा विकास गर्ने उनको योजना छ। उनका अनुसार हालसम्म नेपालमा ८८७ प्रजातिका चरा पाइएको रेकर्ड छ। उनले तीन सय प्रजातिका चराको फोटो खिचेका छन्।
‘मैले वन्यजन्तु र चराचुरूंगीका तस्वीरहरू जानकारीसहित दस्तावेजका रूपमा राख्न सकेँ भने पछिल्लो पिँढीलाई पनि सजिलो हुन्छ भन्ने लागेको छ,’ उनले भने।
गोविन्दका अनुसार जाजरकोटको बारेकोट क्षेत्र दुर्लभ रातो पान्डा पाइने ठाउँ हो। त्यस क्षेत्रमा बर्सेनि ती पान्डाका छालासहित मानिसहरू पक्राउ पर्ने गरेको उनले बताए। दुर्लभ जनावरको संरक्षणका लागि उचित व्यवस्था नभएको उनको भनाइ छ।
जंगल घुम्नु सजिलो काम होइन, अझ एक्लै त झन् गाह्रो। कयौंपटक हिंस्रक जनावरका सामुन्नेमा पनि परेका छन् तर अप्रिय केही भएको छैन।
‘जाजरकोटको पश्चिम क्षेत्रको जंगलमा एक्लै थिएँ। चितुवा फेला पर्यो, दस मिटरजति पर थियो। त्यो त मतिरै आउन खोज्यो,’ उनले छ वर्षअघिको एउटा घटना सुनाए, ‘बीचमा रूखबाट एउटा लंगुर हाम फाल्यो, लंगुर ओरालो दौडियो। चितुवा त्यसैलाई लखेट्दै गयो, म बचेँ।’
एकपटक उनी जाजरकोटको सबभन्दा अग्लो ठाउँ कराइँचुली हिमाल क्षेत्रमा पुगे। त्यहाँ भालुसँग जम्काभेट भयो। उनले घटना सुनाए, ‘भालुले झम्टिन खोज्यो। म ठूलो स्वरमा कराएँ। भालु आफ्नो बाटो लाग्यो, म आफ्नो बाटो लागेँ।’
गोविन्दलाई जंगलमा घुमेर वन्यजन्तु र चराचुरूंगीको अध्ययन र उद्धारमा लाग्नुका पछाडि एउटा रोचक कारण छ।
कुरा २०७० सालमा भएको सेवाकालीन एउटा तालिमका सन्दर्भको हो।
तालिमका लागि उनी काठमाडौं गएका थिए। तालिम बबरमहलमा थियो, सहभागी थिए ७० जना। त्यहाँ वन्यजन्तु र चराचुरूंगीका फोटो अवलोकन गराइएको थियो।
सहभागी प्रशिक्षार्थीहरूले आ-आफ्नो जिल्लामा पाइने वन्यजन्तुका बारेमा प्रस्तुति गर्नुपर्ने थियो।
गोविन्दले आफूले जानेसम्म जाजरकोटमा पाइने दुर्लभ वन्यजन्तु र चराको कुरा गरे। कतिले त विश्वास नै गरेनन्।
‘जाजरकोटमा दुर्लभ वन्यजन्तु त के के पाइन्छन् थाहा भएन तर एक चिज चाहिँ अवश्य पाइन्छ,’ एक जना सहभागीले भनेछन्।
गोविन्द अलिक अचम्ममा परेछन्। उनले ‘ल भन्नुस् त के पाइन्छ’ भनेछन्।
ती सहभागीले फ्याट्ट भनिदिए, ‘झाडापखाला।’ हलमा हाँसो फैलियो। गोविन्द दुःखी भए। उनले जाजरकोटको उपहास भएको ठाने। जाजरकोटमा २०६६ सालमा झाडापखाला फैलिएर ३५० जनाभन्दा बढीको मृत्यु भएको थियो।
तालिमको त्यही घटनापछि गोविन्दले वन्यजन्तु र चराचुरूंगीको अध्ययन थालेका हुुन्।
‘तालिममा त्यस्तो बेइज्जत गरेपछि मलाई पीर पर्यो। एक जना पत्रकारलाई सुनाएँ। उनले झाडापखालापछि जाजरकोटका सांसदलाई त संसद छिर्न दिएका थिएन रे भनेर सुनाए,’ गोविन्दले भने, ‘अब म खोजेर देखाउँछु भन्ने अठोट लिएर जंगल पसेको हुँ।’
गोविन्दका अनुसार उनी कुनै दाताले पैसा देला वा थेसिस लेखौंला भनेर जंगल घुमेका होइनन्। आफूले फेला पारेका नयाँ तथ्य र खिचेका फोटा दस्ताबेजका रूपमा सुरक्षित गर्नेसम्म उनको लक्ष्य छ। बस्, यति नै हो। गोविन्द एक्लै जंगल घुम्छन्। यसमा उनका परिवारजनलाई चिन्ता हुन्छ। उनले सकेसम्म विश्वास दिलाएका छन्।
‘सबै मानिस बिदामा घर बस्छन्, घरको काम गर्छन्, तपाईं एक्लै जंगल घुम्नुहुन्छ भनेर परिवारले भनिरहन्छन्,’ उनी भन्छन्, ‘आमाले बढी चिन्ता मान्नुहुन्छ। जंगलमा बिरामी भइस् भने कसैलाई थाहा हुँदैन भन्नुहुन्छ।’
गोविन्द चाँडै हुम्लाको लिमी क्षेत्रमा पर्ने जंगल घुम्ने योजनामा छन्।
गोविन्द आफ्नो परिवारको पारिवारिक खर्च धान्नुपर्ने एक्लो रोजगार व्यक्ति हुन्। उनलाई बारेकोट गाउँपालिकाका पूर्वअध्यक्ष महेन्द्र शाह निकै राम्ररी जान्दछन्।
‘उहाँ (गोविन्द) आफ्ना छोराछोरी मात्र होइन, भाइहरूको परिवारको पनि खर्च धान्नुपर्ने जिम्मेवारी भएको व्यक्ति हो। उहाँ आफ्नो तलब खर्च गरेर सामाजिक काम गर्नुहुन्छ,’ शाहले भने, ‘उहाँले वन्यजन्तु अध्ययन र संरक्षणमा जति काम गर्नु भएको छ त्यो सबै व्यक्तिगत खर्चमा हो।’
शाह गाउँपालिका अध्यक्ष हुँदा गोविन्द प्रमुख प्रशासकीय अधिकृत थिए। शाहका अनुसार गोविन्द कार्यालयप्रति पनि उत्तिकै गम्भीर छन्।
‘उहाँ जंगल जाने भनेको कार्यालयको काम सकिएपछि हो, कर्मचारीले पाउने बिदामा पनि जानुहुन्छ,’ शाहले भने, ‘सामाजिक काम उहाँको आफ्नो रुचिको हो। कार्यालयको काममा कहिल्यै समस्या हुन दिनुभएन।’
गोविन्द पशुपंक्षी तथा वन्यजन्तुका प्रिय साथी हुन्। ती अबोध जनावरको संरक्षणप्रति उनको लगनशीलता देखेर मान्छेहरू अचम्म पर्ने गर्छन्।