गण्डकी प्रदेशका मन्त्रीहरूसहित सरकारी अधिकारी र पोखराका पर्यटन व्यवसायी मंगलबार लावालस्कर लगाएर विमानस्थल पुगे। हवाइजहाजमार्फत् पोखरा झरेका पर्यटकलाई उनीहरूले बाजा बजाएर स्वागत गरे।
पर्यटकलाई स्वागत गर्न गएको जम्बो टोलीको तुलनामा पर्यटकको संख्या अत्यन्त न्यून थियो। उनीहरूले ३ जना विदेशी पर्यटकलाई मात्र स्वागत गर्न पाए। गण्डकीका सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले विमानस्थलमा ओर्लनेबित्तिकै भारतीय पर्यटक भारती पाण्डे र स्पेनका पर्यटकद्वय इर्न अर्टिज रोवियो र जेन्से कार्कोसलाई स्वागत गर्न पाए।
कोभिड-१९ अघिजस्तो नेपालमा नेपालमा पर्यटक अझै आएका छैनन्। नेपाली पर्यटन बजारमा सबैभन्दा उत्कृष्ट सिजन सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई मानिन्छ। यस सिजन पदयात्रा र हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ। कोभिड-१९ अघि काठमाडौंबाट पोखरा आउने जहाज र पोखराका डाँडाकाँडा र पदमार्गहरूमा विदेशी पर्यटकका घुइँचो लाग्थे। उपयुक्त सिजनमै पोखराको पर्यटन बजार अझै कोभिड-१९ अघिजस्तो गुलजार हुन नसकेको व्यवसायीहरू बताउँछन्।
कोभिड-१९ अघि नेपालमा आएका झन्डै १२ लाख पर्यटकमध्ये आधाजसो पोखरा आउँथे। अहिले नेपालमै पर्यटक कम आएको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विप्लव पौडेलले बताए।
‘कोभिड-१९ पछि संसारभर आर्थिक मन्दी छायो, यसको मार पर्यटन बजारमा परेको छ,’ उनले भने, ‘रूस-युक्रेन युद्धले अर्को मार थपियो।’
बाराही ग्रुपका अध्यक्षसमेत रहेका पौडेलले कोभिड-१९ अघि नेपालमा पर्यटक ल्याउन गरिएका प्रयास अब पर्याप्त नहुने बताए। विश्वका विभिन्न देशले पर्यटन प्रवर्द्धनमा नयाँ-नयाँ ‘प्रडक्ट’ दिएको भन्दै नेपालले आफूप्रति आकर्षण गर्न नयाँ योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए।
‘पुरानो तरिकाले अब पर्यटन प्रवर्द्धन गर्न सकिँदैन, हामीले नयाँ प्रडक्ट दिन सक्नुपर्छ,’ पौडेलले भने, ‘सरकारले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नयाँ योजनासहित प्रवर्द्धन गर्न आवश्यक भइसकेको छ।’
चीन, जापान लगायतका देशले आफ्ना नागरिकलाई बाहिर घुम्न जान नदिएको असर पनि नेपालको पर्यटनमा परेको उनको भनाइ छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विदेशी पर्यटक सोझै पोखरा आउन सक्ने ढोका खुल्दैछ। आगामी जनवरी १ अर्थात् पुस १७ गते विमानस्थल सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ। विमास्थल सञ्चालनमा आएपछि पर्यटकको आगमन बढ्ने भन्दै पोखराका व्यवसायी आशावादी छन्।
विमानस्थलको प्रवर्द्धनमा सरकारले अझै चासो दिएको छैन। अन्तर्राष्ट्रिय पर्यटन बजारमा सिधै पोखरा जान सकिन्छ भनेर जानकारी हुनुपर्ने पर्यटन व्यवसायी पौडेलले बताए।
‘हामी निजी क्षेत्रले पर्यटकीय पूर्वाधार बनाउने हो, सेवा दिने हो, हामीले त्यो काम गरिराखेका छौं,’ उनले भने, ‘एयरपोर्ट चलाउन सरकारले गर्नुपर्ने प्रवर्द्धन अझै गरेको छैन।’
पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले छुट्टै संयन्त्र खडा गर्नुपर्ने उनको माग छ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समितिका संयोजक विक्रम गौतमले विमानस्थल निर्माणका काम ९८ प्रतिशत पूरा भएको बताए। तोकिएकै मितिमा विमानस्थल सञ्चालनम ल्याउन प्राधिकरण लागिपरेको भन्दै तीनै तहका सरकार र निजी क्षेत्रले विमानस्थलको प्रवर्द्धन गर्न सक्नुपर्ने उनले बताए।
‘विमानस्थल बनेर मात्र पर्यटक आउँदैनन्, हामीले विमानस्थल बनाइसकेका छौं, छिट्टै सञ्चालनमा आउँदैछ,’ उनले भने, ‘नियमित विमानस्थल चलाउन गण्डकीको पर्यटन विश्व बजारमा पुग्नुपर्छ, पर्यटक किन सोझै पोखरा आउने भनेर विश्वास दिलाउन सक्नुपर्छ।’
विमानस्थल पूर्वको रिठ्ठेपानी डाँडा कटानको काम सुरू भइसकेको गौतमले बताए। यस्तै, पोखरा महानगरका मेयर धनराज आचार्यले विमानस्थल सञ्चालनमा अवरोध पुग्ने ल्याण्डफिल साइट छिट्टै परिवर्तन गर्ने बताए।
विमानस्थल सञ्चालनमा आए पनि पर्याप्त यात्रु नभएसम्म एयरलायन्स कम्पनीहरूले उडान भर्न नसक्ने कम्पनीका प्रतिनिधिहरूले बताएका छन्। बोर्ड अफ एयरलायन्स रिप्रिजेन्टेटिभ अफ नेपाल (बान) का उपाध्यक्ष भोलाविक्रम थापाले पनि सरकारले आवश्यक मात्रामा एयरपोर्टको प्रवर्द्धन गर्न नसकेको बताए।
गण्डकी सरकार, पर्यटन बोर्ड र व्यवसायीले पोखरा विमानस्थलमा स्वागत गरेर विभिन्न एयरलायन्स कम्पनीका प्रतिनिधिलाई अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गराउन लगेका थिए। नेपालमा अहिले रहेका अन्य विमानस्थलभन्दा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उत्कृष्ट बनेको एयरलायन्स कम्पनीका प्रतिनिधिहरूले बताएका छन्।
विमानस्थल जति राम्रो भए पनि यात्रु नहुँदासम्म एयरलान्यस कम्पनीहरूले उडान भर्न नसक्ने बानका उपाध्यक्ष थापाले बताए।
‘एयरलायन्स कम्पनीहरूले व्यापार हेरेर उडान भर्छन्,’ उनले भने, ‘एयरपोर्ट बन्दैमा यात्रु भएनन् भने विमान चल्दैनन्।’
भैरहवामा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल जजिरा एयरलायन्सले मात्र अन्तर्राट्रिय उडान भरिराखेको छ। खाडी मुलुकमा जाने नेपाली कामदारलाई ल्याउने र लैजानेमा मात्र उक्त उडान सिमित छ। पोखरा विमानस्थलले भने पर्यटकलाई लक्षित गरेर प्रवर्द्धन गर्न सक्नुपर्ने उनले बताए।
उनका अनुसार विदेशबाट अउने जहाज काठमाडौं आउनभन्दा पोखरा आउन महंगो पर्नेछ। काठमाडौंबाट पोखरा आउन लाग्ने २५ मिनेट उडानको तेल खर्चका कारण पोखराको अन्तर्राष्ट्रिय उडान महंगो पर्न जाने थापाले बताए।
भारतबाट नेपाल छिर्ने विमानहरू सिमरा नाकाबाट मात्र छिर्न पाउँछन्। अन्य रूटमा भने भारतले अहिलेसम्म अनुमति दिएको छैन। जसले गर्दा अन्तर्राष्ट्रिय उडान भरेका विमानस्थल सिमराको घुमाउरो बाटो पोखरा आउनुपर्ने एयरलायन्स कम्पनीका प्रतिनिधिहरूले बताएका छन्।
‘काठमाडौंमा भन्दा महंगो टिकट काटेर पर्यटक किन पोखरा आउने भनेर सरकारले जवाफ दिन सक्नुपर्छ,’ उनले भने, ‘विमानस्थलको प्रवर्द्धन गर्न सरकारका विभिन्न निकाय र निजी क्षेत्र मिलेर काम नगरेसम्म अन्तर्राष्ट्रिय उडान गर्न गाह्रो छ।’
पोखराले साहसिक पर्यटनलाई केन्द्रित गरेर प्रवर्द्धन गर्न सक्ने उनको सुझाव छ। ‘अन्नपूर्ण क्षेत्र पदयात्राका लागि चर्चित छ, यसलाई अब नयाँ तरिकाले अघि बढाउनुपर्छ,’ उनले भने।
चीन सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर बनाएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ विदेशमन्त्री वाङ यीले गत चैत १२ गते नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। विमानस्थलमा आवश्यक संरचना तयार भइसकेका छन् भने उपकरण जडानको काम पनि सकिएको विमानस्थलले जनाएको छ।
सरकारले रिठ्ठेपानी डाँडा कटान र पोखरा महानगरले ल्याण्डफिल साइट सार्न ढिलाइ गरेकाले विमानस्थल सञ्चालनमा ढिलाइ भइरहेको विमानस्थलका अधिकारीहरू बताउँछन्।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले भारत, चीन, थाइल्याण्ड, कतार लगायतका देशबाट विमानस्थलले उडान भर्नेगरी प्रवर्द्धन गर्नुपर्ने बताए। यसका लागि नेपाल पर्यटन बोर्डले सहयोग गर्ने उनको भनाइ छ।
विमानस्थल सञ्चालन हुन नसके सरकारले चीनसँग लिएको २२ अर्ब ऋणको बोझ थपिने भन्दै उनले अहिले पोखरा आइरहेका विदेशी पर्यटक विमानबाट आउने अवस्था निर्माण गर्न जरूरी भएको बताए।
‘पोखरा आउने अधिकांश पर्यटक चीन र भारतका छन्, उनीहरूले पोखरा विमानस्थलबाट आउने गरी प्रवर्द्धन गनुपर्छ,’ उनले भने, ‘अमेरिका, युरोपजस्ता देशका पर्यटक कतार, थाइल्याण्डजस्ता देशबाट ट्रान्जिट भएर आउँछन्, त्यहाँ पनि हामीले सिधै पोखरा गएर पदयात्रा जान सकिन्छ भनेर जानकारी गराउनुपर्छ।’
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा सिङ्गो गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान हुने बताए। उनले विमानस्थलसँगै व्यवसायीले पोखरा र आसपासमा पर्यटन पूर्वाधारमा लगानी बढाएको बताए।
‘अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि व्यवसायीले अर्बौं रुपैयाँ लगानी थपेका छन्,’ उनले भने, ‘लगानी डुब्न नदिन पनि विमानस्थल सञ्चालनमा ढिलाइ गर्न हुँदैन।’