गएराति सल्यानमा जीप दुर्घटना भएको छ।
जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा राति करिब सवा १ बजेतिर गाडी दुर्घटना भएको अनुमान गरिएको छ।
दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्रिगरि रा १ ज ५६३ नम्बरको डबल क्याप जीप सल्यानतर्फ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका सञ्चार शाखामा कार्यरत सन्तोष बुढाथोकीले जानकारी दिए।
दुर्घटनामा परि केहीको हताहती भएको भन्ने खबर प्राप्त भए पनि यकिन भइनसकेको इलाका प्रहरी कार्यालय लुहाम सल्यानका प्रहरी निरीक्षक प्रेमबहादुर बोहराले बताए।
‘हामी घटनास्थलतर्फ जाँदै छौं। तर, बाटोमा पहिरोका कारण बिचमै थुनियौं,’ बोहराले भने, ‘जेसिबी मागेका छौं, पहिरो पन्छाएपछि घटनास्थल पुग्न सकिने छ।’
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दामोदर केसी आफैं घटनास्थलतर्फ जान लागेको र घटनास्थल पुगेपछि मात्रै थप भन्न मिल्ने बताए।
जिल्ला प्रहरी प्रवक्ता सन्तोष खनालले केहीको हताहती भएको खबर आए पनि पुष्टि हुन बाँकी रहेको बताए।
मध्यरातमा दुर्घटना हुनु र घटनाबारे कसैले थाहाँ नपाउँदा घाइतेलाई समयमै उपचारका लागि अस्पताल लैजान नसक्दा छटपटाएर मृत्यु भएको आशंका गरिएको छ।
जीप करिब ७० मिटर जति तल खसेको स्थानीयले बताएका छन्। स्थानीय एक जनाले दुर्घटनाम परि ६ जनाको मृत्यु भएको जानकारी दिए। तर, यो कुरा प्रहरी प्रशासनले भने पुष्टि गर्न बाँकी छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरको संचार शाखामा कार्यरत बुढाथोकीका अनुसार उनीहरु नेपालगंजबाट दाङ हुँदै सल्यानतर्फ जान लागेको भन्ने खुलेको छ।