विदेशीका लागि मात्र होइन, नेपालीका लागि पनि मर्दी हिमाल पदमार्ग अहिले पनि लोकप्रिय छ। हिँड्न सक्ने मान्छे मर्दी हिमाल बेसक्याम्प पोखराबाट एकै दिनमा पुग्न सक्छन्। हिमाल र हिउँका अनुभव लिन सक्छन्।
लालीगुराँसका जंगल बाटो भएर हिमालसम्म पुग्ने सबैभन्दा छोटो पदमार्गका रूपमा मर्दी पदमार्ग स्थापित हुँदै थियो। केही वर्षयता पदयात्रीको घुइँचोले मर्दी हिमाललाई गुलजार गर्दै थियो। यसको अगुवाइ गरेका थिए, पर्यटनकर्मी सुदीप गौतमले।
करिब १० वर्षअघि स्नातकोत्तर गर्न स्विट्जरल्याण्ड जाने योजना बनाएका सुदीपले त्रिभुवन विश्वविद्यालयबाट प्राप्ताङ्कले पुगेन। जसले स्नातकोत्तर गर्न स्विट्जरल्याण्ड जाने सुदीपको सपना तुहाइदियो।
विश्वविद्यालयले परीक्षाको नतिजामा प्राविधिक कमजोरी भएको भन्दै फेरि नतिजा प्रकाशन गर्यो।
कहिल्यै दोस्रो नभएका सुदीप स्नातकमा राम्रो अंकसहित उत्तीर्ण भए। यतिबेलासम्म उनको स्विट्जरल्याण्ड सपना मरिसकेको थियो।
मर्दी पदमार्गमा त्यतिबेला केही विदेशी पर्यटक खाने, बस्ने सबै व्यवस्थासहित क्याम्पिङ जान्थे। पदमार्गका ठाउँ-ठाउँमा भेंडा लगायत गौप्राणीका गोठ थिए। त्यही गोठमा पर्यटकले आश्राम लिएको देख्दा सुदीप अनौठो मान्थे।
त्रिभुवन विश्वविद्यालयले गरेको कमजोरीका कारण स्विट्जरल्याण्ड सपना त्यागेर सुदीपले ३ हजार ६०० मिटर उचाइमा रहेको हाइक्याम्पमा चिया पसल खोल्ने निधो गरे। १० वर्षअघिसम्म त्यहाँ गाउँलेले गोठ बनाएका थिए।
हिउँदमा बेसी झार्ने र बर्खामा हिमालतर्फ भेंडा, भैंसी लगायत गौप्राणी चराउन लैजाने प्रचलन अहिले पनि हिमाली क्षेत्रमा यथावत छ। गोठमा चियापसल खोलेपछि सुदीपले सुरूआतमा ८ कोठाको ‘ट्रेकर्स प्याराडाइज’ होटल खोले।
पदमार्गको कुनै पनि ठाउँमा होटल नभएको अवस्थामा उनले उच्च स्थानमा पहिलो पटक होटल संचालनमा ल्याए।
त्यतिबेला मर्दीमा होटल खोल्न बैंक तथा वित्तीय संस्थाले उनलाई पत्याएनन्। उनका बुवाले मलेसिया गएर कमाएको ४४ हजार रुपैयाँ होटलमा लगानी गर्न उनले परिवारलाई विश्वास दिलाए।
सबै सामग्री पोखराबाट मान्छे र खच्चडले बोकेर लैजान त्यति पैसाले पुगेन। परिवारको विश्वास जितेर पहिलो पटक २९ लाख रुपैयाँ खर्चेर उनले हाइक्याम्पमा होटल खोले।
स्नातक सकेर बसेका युवा सहर बजार वा विदेशतिर थप अध्ययन र रोजगारीमा जाने चलन अहिले पनि विद्यमान छ। त्यतिबेला सुदीप उल्टै मानवविहीन हिमालमा होटल चलाउँछु भन्दा उनका परिवारमात्र होइन, गाउँले पनि आश्चर्यमा परेका थिए।
सुदीप भने होटल खोलेर मर्दी पदमार्गको प्रवर्द्धनमा दत्तचित्त थिए।
‘त्यतिबेला सुदीप काठमाडौंको ठमेल र दरबारमार्गका पाँच तारे होटल अगाडि मर्दी पदमार्गको ब्रोसर बाँडेर बस्थे,’ ‘माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरूङले भने, ‘मर्दी पदमार्ग प्रवर्द्धनको सुरूआत नै सुदीपले गरेका थिए।’
वडाध्यक्ष गुरूङ घलेल गाउँमा पोखरा क्यानोनिङ चलाउँछन्। उनले २ वर्षयता मर्दी पदमार्गको फरेष्ट क्याम्पमा होटल संचालन गरिरहेका छन्। जहाँ जाँदा पनि मर्दी पदमार्गको प्रवर्द्धनमा सुदीप लागिपरेको गुरूङले बताए।
सुदीपले पहिलोपटक हाइक्याम्पमा होटल खोलेपछि खाना बनाउने कुकदेखि खानेकुरा, बास बस्ने टेन्ट बोकेर जाने विदेशी पर्यटक पनि खुसी भए। उनीहरू सुदीपका होटलमा बास बस्न थाले। यसले हौसिएका सुदीप पदमार्गका अन्य ठाउँमा पनि होटल खोल्न अन्य युवाहरूलाई हौस्याए।
मर्दी पदमार्ग प्रवर्द्धनमा लागेपछि सुदीप आफैंले पर्यटक गाइड तालिम लिएका थिए। त्यतिबेलादेखि नै उनका साथी थिए, मनशान्त घिमिरे।
‘हामीले पर्यटक गाइड तालिम सँगै लिएका हौं,’ घिमिरेले भने, ‘मर्दी पदमार्गलाई कसरी स्थापित गर्न सकिन्छ भनेर तालिममै उहाँले भन्नुभयो, हामीले त्यसपछि २७ जना पर्यटक गाइड लिएर मर्दी पदमार्गको प्रवर्द्धनमा गएका थियौं।’
त्यतिबेला मर्दी पदमार्ग आउने पदयात्रीले बाटो नबिराओस् भनेर आफूहरू २८ ठाउँमा पदमार्गको सूचना दिएको बोर्ड राखिएको घिमिरेले बताए।
हाइक्याम्पमा पहिलो पटक होटल खोलेका सुदीपले गाउँका अन्य युवालाई पनि पदमार्गमा होटल संचालन गर्न प्रेरित गरे। जसको परिणाम अहिले पदमार्गका अधिकांश ठाउँमा होटल खुलेका छन्।
मर्दी पदमार्ग पर्यटन व्यवसायी तथा व्यवस्थापन समिति गठन गरेर संस्थापक अध्यक्ष बनेका सुदीपले हाइक्याम्पमै आफ्नो होटल नजिकै अन्य युवालाई पनि होटल चलाउन प्रेरित गरे। जसले पर्यटकलाई बस्न खानको सुविधा दियो।
यसरी सुदीपको पहलकदमीमा दस वर्षमै मर्दी पदमार्ग नेपाली र विदेशीका लागि सबभन्दा लोकप्रिय पदमार्गका रूपमा स्थापित हुन पुग्यो।
अहिले पनि अन्नपूर्ण क्षेत्रका दर्जनौं पदमार्गमध्ये सबैभन्दा धेरै पदयात्री मर्दी पदमार्गमा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ।
मर्दीमा होटल खोलेर पदमार्ग स्थापित गरेर मात्र उनी बसेनन्। मर्दी हिमाल आरोहण गर्न पदयात्रीलाई पनि प्रेरित गर्नुपर्ने उनले ठाने।
नेपाल पर्वतारोहण संघ गण्डकीका सचिवसमेत रहेका सुदीपले कोभिड– १९ महामारीका बेला हिमाल आरोहणका नयाँ रूट पत्ता लगाए।
मर्दी पदमार्गमा जाने पदयात्रीलाई होचा हिमाल आरोहणमा आकर्षित गर्नुपर्ने सुदीपका योजना थियो। त्यसका लागि अमेरिकामा आरोहण प्रशिक्षण दिइरहेका जगन्नाथ लामिछानेदेखि पोखराका अन्य आरोहीले पनि उनलाई साथ दिए।
गत वर्ष मात्र विश्वकै चर्चित खेल स्कीको तालिम मर्दी पदमार्गमा गरिएको थियो। उक्त तालिममा बेलायती प्रशिक्षक सहभागी थिए।
मर्दी पदमार्गलाई स्थापित गर्ने मात्र होइन, पदयात्रीलाई हिमाल आरोहणमा आकर्षित गर्ने र विश्वकै महँगो खेल मानिएको स्कीलाई नेपालको पर्यटन बजारमा भित्राउने उनको योजना थियो।
माछापुच्छ्रे गाउँपालिका ९ सिदिङका सुदीपले गाउँलेको सेवामा पनि उत्तिकै चासो दिएका थिए।
कास्कीको दुर्गम गाउँ मानिएको सिदिङमा उनले खोलेको हिमाल फाउण्डेसनमार्फत् सामुदायिक स्वास्थ्य सेवा केन्द्र खोलेका थिए। अहिले पनि उक्त स्वास्थ्य केन्द्रमा सिदिङ, घलेल, कालीमाटी लगायत गाउँका बासिन्दाले सेवा पाउँछन्।
पदमार्गका पर्यटक, व्यवसायी र गाउँलेको सेवामा जुनसुकै समयमा खट्ने सुदीपले मर्दी पदमार्गलाई हिमालसम्बन्धी विभिन्न गतिविधिका केन्द्र बनाउन चाहेका थिए।
‘मर्दीलाई पर्वतारोहण एकेडेमी बनाउनुपर्छ भनेर लाग्नुभएको थियो, त्यसका लागि हिमाल आरोहण तालिमदेखि स्कीसम्मका गतिविधि थालेका थिए,’ माछापुच्छ्रे ८ का वडाध्यक्ष गुरूङले भने, ‘उहाँको सपना पूरा गर्न सक्ने अर्को व्यक्ति अहिले देखिँदैन।’
विश्व पर्यटन दिवस मनाउन पोखरा झरेका सुदीप बिहीबार मात्र हाइक्याम्प फर्केका थिए।
हाइक्याम्पका होटलमा पानी आउन छाडेपछि मर्मत गर्न करिब एक घण्टा टाढा पर्ने पानीको मुहानमा उनी पुगेका थिए।
मुहान जाँदै गर्दा बाटोमै चिप्लिएर करिब ५० मिटर तल खसे। उनीसँगै गएका साथीले हाइक्याम्पका अन्य साथीहरू बोलाएर उद्धार गरे।
शुक्रबार साँझ उद्धार गरेर सुदीपलाई होटलसम्म ल्याए। हाइक्याम्पमा उपचारका कुनै पनि व्यवस्था थिए। हिँडेर पोखरा ल्याउन पनि सम्भव भएन।
शनिबार बिहान हेलिकप्टरबाट पोखरा ल्याउँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले उनलाई मृत घोषणा गरिदिए। मर्दी पदमार्गको दीयो निभेको वडाध्यक्ष गुरूङले बताए।
हाइक्याम्पमा होटल खोलेर भारी आफैं बोक्ने, पर्यटक गाइड पनि आफैं र होटलका काम पनि आफैं गरेका सुदीपले अध्ययन पनि छाडेनन्। मर्दी हाइक्याम्पमै बसेर स्वअध्ययनका माध्यमबाट उनले दर्शनशास्त्रमा स्नातकोत्तर गरे।
विश्वमै सबैभन्दा धेरै हिमाल नेपालमा भएर पनि हिमाली गतिविधिमा पछाडि परेको भन्दै उनले चिन्ता जनाइरहन्थे।
हिमाली क्षेत्रलाई आर्थिक क्षेत्रका रूपमा विकास गर्न उनले स्की खेलदेखि हाइ अल्टिच्युड दौड, साइक्लिनिङ लगायतका गतिविधिमा विश्वलाई आकर्षित गर्नुपर्ने धारणा राख्ने गरेको पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त घिमिरेले बताए।
‘नेपालका हिमाल काल होइन, आर्थिक क्षेत्र हो भनेर सरकारले बुझ्न सकेन भनेर सधैं भन्नुहुन्थ्यो,’ घिमिरेले भने, ‘हिमालका माध्यमबाट आयआर्जन गर्नतिर सरकारले ध्यान दिनुपर्ने उहाँको धारणा हुन्थ्यो।’
मर्दी पदमार्ग स्थापित गरेका सुदीपले संरक्षणका काम पनि उत्तिकै चासो राख्थे।
पोखरा बोर्ड सोसाइटीका आजीवन सदस्य रहेका ३५ वर्षका सुदीपले हिमाली क्षेत्रमा डढेलो लगाउने, जथाभावी डोजर चलाउने र प्लाष्टिकजन्य फोहोर जथाभावी नफाल्न सचेत गराउँथे।
उनकै अग्रसरतामा पनि पटक/पटक मर्दी हाइक्याम्प पदमार्गका प्लाष्टिकजन्य पदार्थ संकलन गरेर पोखरा ल्याउने काम गरेको स्थानीय पर्यटन व्यवसायी बताउँछन्।
राजनीतिले सही बाटो लिनुपर्ने भन्दै नेपाली कांग्रेसको गत महाधिवेशनमार्फत् कास्की जिल्ला सदस्य जितेका सुदीप पार्टीभित्र र बाहिर हिमाली क्षेत्रका प्रवर्द्धनमा जोड दिने गरेका थिए।
मर्दी पदमार्गका पायोनियर सुदीपको शनिबार सेदी र मर्दी नदीको दोभानमा अन्त्येष्टि गरिएको छ। उनको अन्त्येष्टिमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, पूर्वमन्त्री एवं कांग्रेस नेता यज्ञबहादुर थापा लगायत सहभागी थिए।
नेपाली कांग्रेस कास्कीको बैठकमै सुदीपले पर्यटन क्षेत्र धराशायी भएकाले पार्टीले ध्यान दिनुपर्ने कुरा उठाउने गरेको जिल्ला सभापति किशोरदत्त बरालले बताए।
‘हिमाली क्षेत्रको पर्यटनबाट युवाले रोजगारी पाउँछन्, राज्यलाई फाइदा पुग्छ भनेर अन्त्यन्त चिन्तापूर्ण सवाल उठाउनुहुन्थ्यो,’ सभापति बरालले भने, ‘उहाँले कहिल्यै आफ्नो व्यक्तिगत कुरा लिएर आउनुभएन।’