जब दसैंको फूलपाती लाग्छ पूर्वी तराईको सन्थाल समुदायका पुरूषहरू अरूबेलाभन्दा व्यस्त हुन्छन्।
वर्षभरी आ–आफ्नो काममा व्यस्त रहने उनीहरूलाई फूलपातीदेखि ५ दिन भने घरैघरै पुगेर नाच्ने व्यस्तताले छोप्छ। एकै पोशाकमा सजिएका पुरूषहरू लहरै उभिएर घरी अघि र पछि गर्दै बाजाको तालमा नाचिरहेका छन्।
शरदको घाममा तर्तरी पसिना चुहाउँदै उनीहरू घरघरै पुगेर दसैं सुरू भएको संकेत दिइरहेका छन्।
पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने आदिबासी जनजाति सन्थालहरूले दसैंको फूलपातीदेखि टीकाको भोलिपल्टसम्म नाच्ने ‘दसैं नाच’ सुरू भएको छ। झापा मेचीनगर क्षेत्रमा आइतबार दसैं नाच देखाउँदै हिँडेका एक हुल सन्थाल युवा घरैघरै छिरेर तिहारको देउसी शैलीमा नाच देखाउँदै हिँडेका थिए।
‘आजदेखि हामी पाँच दिनसम्म हामी घरैघरै नाच देखाउँदै हिँड्छौं,’ मेचीनगर १५ का बुधराम हेमरमले सेतोपाटीसँग भने, ‘हाम्रो पुर्खाले सुरू गरेको चलन अनुसार हामी दसैं नाच नाच्दै हिँड्छौं।’
उनका अनुसार यसबेला उनीहरूलाई मन्दिरहरूबाट बोलावट हुन्छ। त्यहाँ गएर यही जातीय नृत्य देखाउँछन्। यसबाहेक विभिन्न राजनीतिक दलहरूको आमसभामा पनि उनीहरूलाई झाँकी प्रदर्शनका लागि उनीहरूलाई बोलाइन्छ।
सन्थाल नृत्यको मुख्य विशेषता भन्नु नै लहर मिलाएर एकै शैलीमा आकर्षक नाच प्रदर्शन गर्नु हो। तीन जना अगुवामध्ये एक जनाले ढोल बोकेका हुन्छन्।
शिरमा मयुरको प्वाँख जडेको गजुर ठड्याएका हुन्छन्। उस्तै पोशाकमा सजिएका अर्को एक जनाको हातमा ‘ड्रम’ हुन्छ भने कसैले मुरली बोकेका हुन्छन्।
बाजा बजाउँदै झण्डै ‘साम्बा’ शैलीमा नाच्ने उनीहरूलाई नगद, चामलसहितको दक्षिणा दिने चलन छ।
‘यो दक्षिणा हामी सामूहिक काममा लगाउँछौं,’ बुधरामले भने, ‘समाजमा चाहिने सामग्री जोड्न, हाम्रो सामूहिक पूजा गर्नमा उपयोग गर्छौं।’
सन्थाल समुदायको बसोबास रहेको क्षेत्रका अन्य समुदायका बासिन्दाहरू सन्थाल नाचले दसैंको रमाइलो बढाउने बताउँछन्।
‘उहाँहरूले नाच लिएर घरघरै आएपछि बल्ल दसैं सुरू भए जस्तो लाग्छ,’ मेचीनगर १५ का दिपेन लुइँटेलले भने, ‘लामो प्रशिक्षण लिए जसरी सबैले एकै तालमा नाचेको हेर्न निकै आकर्षक लाग्छ।’
रंगीन कमिज पञ्ची धोती जस्तो कपडा शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाइ, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा नाचिने यो नाच पूर्वी तराईको एउटा मुख्य साँस्कृतिक आकर्षण पनि हो।
सन्थालहरूको बसोबार नेपाल, भारत, बंगलादेश र भुटानमा पनि छ।
सरल, मिलसार र मेहेनती स्वभावका उनीहरू पूर्वी तराईका मोरङ र झापाका विभिन्न ठाउँमा बसोबास गरेका छन्। फुसको छाना भएका एकतले झुप्रा घरहरू भएको झुरूप्प बाक्लै बस्तीमा रहने उनीहरू लिसैलो माटोको लिउनले चिल्लो देखिने घरमा बस्छन्।
आँगनमा बाबरी फुलको बोट हुनु र घर छेउछाउ बडहर, कदम र बयरका रूख (विरुवा उनीहरूले लगाउने गरेका छन्। २०६८ को जनगणना अनुसार नेपालमा सन्थालहरूको जनसंख्या ५१ हजार ७३५ छ। २०७८ मा भएको राष्ट्रिय जनगणनाको अन्तिम परिणाम अझै आइसकेको छैन।
तस्बिरहरू: