दाङमा खोलामा आएको बाढीमा बगेर एक जना बेपत्ता भएका छन्। हिजो रातिदेखिको अविरल वर्षाको कारण घोराही उपमहानगरपालिका वडा नम्बर १० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५४ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले सेतोपाटीलाई बताए।
चौधरी दिउँसो खोला तर्ने क्रममा बगेको र खोजी गर्दा अहिलेसम्म फेला पार्न नसकिएको एसपी वलीले जानकारी दिए।
तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत पर्ने गुर्जे लगायत विभिन्न खोलामा आएको बाढीका कारण साना सवारीसाधन सञ्चालनमा आउन नसकेको एसपी वलीले बताए। त्यसले गर्दा दसैंको दिन आवतजावत गर्ने सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।
एसपी वलीका अनुसार यो सडकभन्दा उत्तरको वैकल्पिक 'भाइरल मार्ग' प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
अविरल वर्षाका कारण बबई र राप्ती नदीमा बाढीको सतहले जोखिम पार गरेको छ। राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरिया जोड्ने बबई पुलको दक्षिण तर्फ पनि बाढी आएकाले यातायात अवरूद्ध भएको छ। डुबानको जोखिम बढेको हुँदा स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
सोही सडकखण्डको जंगल क्षेत्र भञ्ज्याङमा पहिरो झरेका कारण पनि सडक अवरूद्ध भएको एसपी वलीले बताए। नेपालगञ्जबाट दाङ हुँदै पहाडी जिल्लाहरू जाने आउने सर्वसाधारण बीचमा अड्किएकाले पहिरो पन्छाएर सडक खोल्ने प्रयास जारी छ।
त्यस्तै दाङको देउखुरी क्षेत्रमा राप्ती नदीमा आएको बाढीले नदी तटीय क्षेत्र जलमग्न भएको छ।
एसपी वलीका अनुसार आसपासका केही घरहरू डुबानमा परेको र केहीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
दाङ–रोल्पा हालेरी जोड्ने सहिद मार्ग पनि पहिरोका कारण अवरूद्ध भएको छ। दिउँसो यो सडकखण्ड अन्तर्गतको दुई खोलीमा झरेको पहिरो पन्छाइए पनि फेरि बेलुकीपख पहिरो झरेकाले अवरूद्ध बनेको छ। पहिरो पन्छाउन डोजर पठाउने काम भइरहेको उनले बताए।
विशेष गरी बबई र राप्ती नदीको तटीय क्षेत्र जलमग्न भएकाले प्रहरी 'अर्लट' भएर बसेको तथा सर्वसाधारणलाई पनि सावधानी अपनाउन आग्रह गरिएको उनले जानकारी दिए।
दिउँसो बखरिया क्षेत्रमा तुलसीपुरका मेयर टीकाराम खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल लगायतको टोली बबई नदीमा पुगेर पुलपारिको भँगालोमा अड्किएका यात्रुलाई टिपर र जेसिबीद्वारा उद्धार प्रयास गरेका थिए। त्यो सम्भव नभए पनि उनीहरूका लागि खाना र बस्ने व्यवस्थापन गरिने मेयर खड्काले बताएका थिए।
त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले केही बेरअगाडि राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्डको हर्नेटीमा पहिरो झरेर अवरूद्ध भएको जानकारी दिएका छन्। पहिरो पन्छाउन जेसिबी पठाउने तयारी भइरहेको उनले बताए।
उनी आफू भने बबईमा पुलपारि अड्किएका सर्वसाधारणलाई उद्धार गरी तुलसीपुरतर्फ पठाउने कार्यमा खटिएको जानकारी दिए।