दाङमा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना बेपत्ता छन्।
खैरेनी खोलामा आएको बाढीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ धमकापुरका ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार डाँगी बुधबार राति दस बजेतिर सोही वडाको खैरेनी खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए।
बगेको ठाउँदेखि झन्डै ३५ मिटर दक्षिणमा बिहाबार बिहान डाँगीको शव फेला परेको मल्लले बताए। स्थानीयका अनुसार डाँगी मामाघरमा दसैंको टीका थाप्न गएका छोराछोरीलाई ल्याउन भनेर घरबाट गएका थिए।
गुर्जेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका घोराही उपमहानगरपालिका वडा नम्बर १० का ५४ वर्षीय कल्लु चौधरीको अवस्था भने अझै अज्ञात छ।
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चौधरीलाई गुर्जे खोलामा आएको बाढीले बुधबार दिउँसो बगाएको थियो। उनको खोजी कार्य जारी भए पनि हालसम्म अवस्था अज्ञात छ।
त्यस्तै घोराहीमा पानी जमेको खाडलमा डबेर एक जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका ४५ वर्षीय धिरज घिमिरेको घरनजिकै खाडलमा डबुेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक दामु पुनले सेतोपाटीलाई बताए।
घर परिवारले राति ११ बजेतिर घिमिरेको डुबेर मृत्यु भएको खबर प्रहरीलाई गरेको पुनले बताए।
‘हामीले बुझ्दा उहाँ मदिरा सेवनपछि खाडलमा लडेको र टाउको पानीमा डुबेपछि मृत्यु भएको भन्ने छ,’ प्रहरी निरीक्षक पुनले भने, ‘शव पोस्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ।’
पहिरोका कारण दाङ सल्यान र रोल्पा सडक खण्ड अवरूद्ध
जिल्ला प्रहरी प्रमुख एसपी वलीका अनुसार अविरल वर्षापछिको झरेको पहिरोका कारण दाङ– रोल्पा सडक खण्ड अवरूद्ध भएको छ। सडक खण्डको दुई खोली नजिकै झरेको पहिरोका कारण सडकखण्ड अवरूद्ध भएको हो। बुधबारदेखि नै पटकपटक पहिरो पन्छाए पनि वर्षा नरोकिएका कारण पहिरो झरिरहँदा सड खोल्ने प्रयास सम्भव नभएको एसपी वलीले जानकारी दिए।
‘पानी थामिएको छैन,’ उनले भने, ‘जेसिबी लगेर जति पहिरो पन्छाए पनि फेरि झरिरहने समस्या देखिएको छ।’
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसी मल्लका अनुसार राप्ती राजमार्ग अन्तरगत दाङ–सल्यान सडकखण्ड पनि अवरूद्ध भएको छ। दाङ खण्डमा झरेको पहिरो पन्छाए पनि सल्यानको कपुरकोटभन्दा उत्तरतर्फ ठाउँठाउँमा पहिरो झरेका कारण अवरूद्ध बनेको उनले बताए।
यही राजमार्ग अन्तरगत तुलसीपुर–अमेरिला सडकखण्डको भञ्ज्याङमा झरेको पहिरो पन्छाएर मध्यरातिदेखि एक तर्फी सडक खोलिएको डिएसपी मल्लले जानकारी दिए।
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको १३ स्थित बबई नदीमा आएको बाढीका कारण बखरिया क्षेत्रमा अलपत्र परेका सर्वसाधारणलाई भने राति अबेरसम्म टिपर र जेसिबीमा राखेर उद्धार गरिएको एसपी वलीले बताए।
त्यस्तै तुलसीपुर–सल्यान सडकखण्डको हर्नेटी लगायतका ठाउँमा पहिरो जाँदा रोकिएका यात्रुलाई पनि राति अबेरसम्म उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
दाङ–रोल्पा होलेरी जोड्ने सहिद मार्गमा दसैंको टीका थाप्न जान हिँडेका अलपत्र यात्रुलाई पनि समन्वय गरी रातभर उद्धार गरिएको उनले जानकारी दिए। दसैंको बिदा परेको समयमै बस चालक फेला नपर्नु, पेट्रोल पम्पहरू बन्द हुँदा इन्धनको समस्या हुनु जस्ता कारणले उद्धारमा समय लागेको उनले बताए।
एसपी वलीका अनुसार राप्ती नदीमा बाढीले बिहीबार बिहानै पनि खतराको तह पार गरिसकेको छ। खतराको घन्टी बजाई प्रहरी खटाएर जोखिमयुक्त नदी तटीय क्षेत्रका सर्वसाधारणलाई सचेत गराइएको एसपी वलीले बताए। हालसम्म राप्तीको बाढीका कारण १५ घर डुबानमा परेको र केही पशुचौपाया, कुखरा लगायत बगेर मरेको भन्ने सूचना प्राप्त भएको उनले जानकारी दिए।
त्यस्तै नदीको बाढीले जोखिम पार गरिसक्दा पनि स्थानीय सर्वसाधारण दाउरा लिन जाने हुँदा थप जोखिम बढेको छ।
‘सम्भव भएसम्मका ठाउँमा प्रहरी खटाएर दाउरा खोज्नेहरूलाई बन्देज लगाएका छौं,’ उनले भने, ‘जोखिम मोलेर दाउराको पछि नलाग्न प्रहरी सबैलाई आग्रह पनि गरिरहेको छ।’
बबई नदीमा बाढीको सतह घटेको हुँदा बिहीबार बिहानदेखि केही साम्य भएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिए।
तुलसीपुर– ११ बगरपुरस्थित टापुमा बस्दै आएका झन्डै ८ घर परिवारलाई राति नै उद्धार गर्नुपर्ने अवस्था रहे पनि अहिले त्यो स्थिति नरहेको उनले बताए। वर्षा जारी भएकाले फेरि बगरपुरको टापूमा बस्दै आएकालाई उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।
इप्रका तुलसीपुरका प्रमुख डिएसपी मल्लले अहिले आफू बगरपुरको अवस्था बुझ्न घटनास्थल जान थालेको जानकारी दिए। जिल्लामा तीन दिनदेखि लगातार वर्षा जारी छ जसले गर्दा नदी, खोलाहरूमा पानीको बहाव उच्च बढेको छ।