थाइल्यान्डमा साना बालबालिकाको हेरचाह गर्ने प्रि-स्कुल चाइल्ड डे केयर सेन्टरमा एक पूर्व प्रहरी अधिकारीले गोली चलाउँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ।
थाइल्यान्डको उत्तर-पूर्वी क्षेत्रस्थित नान्ग बुआ लाम्फू भन्ने ठाउँमा भएको हमलापछि बन्दुकधारी पूर्वप्रहरी अधिकारी फरार रहेको बिबिसीले जनाएको छ।
प्रहरीका अनुसार मारिने व्यक्तिहरूमा डे केयर सेन्टरका कम्तिमा २३ जना केटाकेटी र केही वयस्क व्यक्ति छन्।
आक्रमणकारीले बच्चा र वयस्कहरूमाथि गोली चलाउनुका साथै चक्कूसमेत प्रहार गरेका थिए। हमलाको कारण भने नखुलेको प्रहरीले जनाएको छ।
बन्दुकधारी पूर्वप्रहरी अधिकारीलाई गत वर्ष नै प्रहरी बलबाट निलम्बन गरिएको थियो। प्रहरीले आक्रमणकारीको तस्बिर सार्वजनिक गरेको छ।
स्थानीय प्रहरी कर्नल जक्कापाता विजित्राइथायाले स्थानीय सञ्चारमाध्यमलाई बन्दुकधकारीको नाम पान्या कामराब भएको बताएका छन्। उनलाई गत वर्ष लागुपदार्थ प्रयोग गरेका कारण निलम्बन गरिएको थियो।
प्रहरीका अनुसार आक्रमणअघि उनलाई लागुपदार्थसँग जोडिएको आरोपमा सुनुवाइ निम्ति अदालत पेस गरिएको थियो।
आक्रमणलगत्तै बन्दुकधारीले आफ्नो पनि ज्यान लिएको थाइल्यान्डका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनको शव फेला परेको छ। प्रहरीले भने यसको पुष्टि गरेको छैन।
आक्रमणकारीले आफ्नी पत्नी र बच्चाको पनि हत्या गरेको स्थानीय सञ्चारमाध्यमले बताएको छ।
प्रहरीका अनुसार जब बन्दुकधारी आक्रमणकारी नर्सरी पुगे, तब उनको आफ्नो बच्चा त्यहाँ थिएन। यही कारणले उनी क्रोधित भए। उनले बन्दुक झिकेर जथाभाबी गोली चलाउनुका साथै आफूले चलाएर आएको गाडीले त्यहाँ उपस्थित मान्छेहरूलाई कुल्चे।
यो घटनापछि उनी आफ्नो घर गए र आफ्नी पत्नी र बच्चाको हत्या गरे।
घटनाका प्रत्यक्षदर्शी पुरीचानले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार आक्रमणपछि जब ती बन्दुकधारी तीव्र गतिमा गाडी हाँक्दै थिए, तब उनको सामना ती बन्दुकधारीसँग भएको थियो।
'उनी सडकमा हिँडिरहेका मान्छेलाई ठक्कर दिँदै, कुल्चँदै गाडी हाँकिरहेका थिए,' पुरीचानले भनेका छन्, 'उनले एउटा मोटरसाइकललाई ठक्कर दिए। यसले मोटरसाइकलमा सवार दुई जना घाइते भए। मैले बल्लबल्ल आफ्नो ज्यान जोगाएँ।'
उनका अनुसार आक्रमणकारीलाई स्थानीयहरू लागुपदार्थको दुर्व्यसनीका रूपमा चिन्छन्।
थाइल्यान्डमा यसअघि सन् २०२० मा पनि एक सैनिक अधिकारीले यसरी नै २१ जनाको हत्या गरेका थिए।