सल्यानको कपुरकोटमा पहिरोले केही घर पुरेको छ। जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ सल्लाममा चार घर पहिरोले पुरेको स्थानीयले बताएका छन्।
स्थानीय सञ्चारकर्मी सन्तोष घर्तीले चार परिवारको घर पहिरोले पुरेको जानकारी दिए।
‘म अहिले घटनास्थलमा छु र प्रहरी पनि आएको छ,’ उनले भने, ‘पहिरोले बगाएका घर देखिँदैनन्। हामी अलिअलि काठपात पन्छाउँदै छौं।’
इलाका प्रहरी कार्यालय कपुरकोटका एक जना प्रहरी अधिकारीले आफूहरू भर्खरै घटनास्थल आएको हुँदा कति घर पहिरोले पुरेको हो भनेर भन्न सक्ने अवस्था नरहेको बताए।
‘यहाँ ठूलो पहिरो गएको रहेछ र बगाएका घर कति हो भनेर पत्ता लगाउनै कठिन छ,’ उनले भने, ‘पानी एक तमासले परिरहेको हुँदा अझै यकिनका साथ भन्न कठिन छ।’
जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले कपुरकोटमा पहिरोले घर पुरेको खबर आएलगत्तै घटनास्थलमा उद्धार तथा खोजीको लागि इप्रका कपुरकोटबाट प्रहरी खटाइएको जानकारी दिए।
जिल्ला प्रहरी प्रवक्ता सन्तोष खनालले पहिरोले केही घर पुरेको खबर आए पनि मानवीय क्षति नभएको भन्ने सूचना प्राप्त भएको बताए।
‘मानिसहरू पहिलै भाग्न सफल भएछन्,’ उनले भने, ‘घटनास्थलमा पुगेका प्रहरीले भर्खरै मलाई मानवीय क्षति नभएको भन्ने सूचना दिएका छन्।’
बिहान झरेको पहिरोका कारण सल्लाम गाउँका थप २० घर परिवार जोखिममा परेको स्थानीय सञ्चारकर्मी घर्तीले सेतोपाटीलाई जानकारी दिए। घर्तीले मानवीय क्षति भए नभएको कुरा अहिल्यै भन्न नसकिने बताए।
डिएसपी केसीले जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ शंखे पिपल गाउँमा स्थानीय तेजबहादुर घर्ती मगरको घर अविरल वर्षाका कारण धप्किएको जानकारी दिए।