मोटरसाइकल दुर्घटनामा परी दाङमा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।
राप्ती गाउँपालिका वडा नम्बर ६ लठवाका ३६ वर्षीय सुलेश चौधरी र लमही नगरपालिका वडा नम्बर १ का ३५ बर्षीय लाहानु चौधरीको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले सेतोपाटीलाई बताए।
उनीहरू दुवै जना सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ भालुवाङ दाङमा कार्यरत थिए। सुलेश सशस्त्र प्रहरी हवल्दार हुन् भने लाहानु सशस्त्र प्रहरी सहायक हवल्दार हुन्।
मोटरसाइकलको पछाडि सवार लाहानुको उपचारका क्रममा स्थानीय मेडिकलमै गए राति पौने ११ बजेतिर मृत्यु भएको र चालक सुलेशको बाँकेस्थित नेपालगन्ज मेडिकल कलेजमा शनिबार बिहान पाँच बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता राजन गौतमले जानकारी दिए।
पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु ४० प ४९२२ नम्बरको मोटरसाइकल राति दस बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी प्रवक्ता गौतमले बताए।
ज्वालामाई गणका प्रमुख एसपी बिनोद केसीले बाढीमा फसेकाहरूको उद्धारमा खटिएका उनीहरू गणतर्फ आउने क्रममा दुर्घटनामा परेको सेतोपाटीलाई बताए।
‘उहाँहरू बिहानैदेखि सिसहनिया लगायतका क्षेत्रमा डुबानमा परेका व्यक्तिको उद्धारका लागि खटिनुभएको थियो,’ उनले भने, ‘बिडम्बना गणमा आउँदै गर्दा राति दुर्घटनामा परेर मृत्यु भयो ’
निरन्तर वर्षाका कारण चिफ्लो बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको र बाहिरीभन्दा पनि भित्री चोट खेपेका कारण मृत्यु भएको एसपी केसीले बताए।