अविरल वर्षापछिको डुबानले दाङको देउखुरीमा झन्डै चार हजार घर डुबानमा परेका छन्। त्यस्तै दुई सय वटाभन्दा धेरै घर भत्किएका छन्।
दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार घरहरू डुबानमा पर्दा हजारौं मानिस विस्थापित भएका छन्।
दाङ उपत्यका अन्तर्गतको छुट्टै देउखुरी उपत्यकाको चार पालिकाहरू; राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा तीन दिनको अविरल वर्षापछि आएको बाढी र डुबानका कारण सर्वसाधारणको बिचल्ली भएको छ।
गए राति दस बजेसम्म बाढीका कारण जोखिममा परेका दुई सय ४० जनालाई रबरबोटको सहायताले उद्धार गरिएको थियो। सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलीले लमही–८ धनपुरुवा, राप्ती र गढवाका विभिन्न स्थानबाट उनीहरूलाई उद्धार गरेको थियो।
घोराही–लमही सडक खण्डको विभिन्न ठाउँमा झरेको पहिरो आफैं खटेर राति साढे १ बजे खोलिएको एसपी वलीले बताए। फेरि सोही सडक खण्डमा बिहान पहिरो झरेको र पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको पनि उनले जानकारी दिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार देउखुरी क्षेत्रमा गए रातिदेखि पानी पर्न कम भएको छ। राप्ती लगायत आसपासका खहरे खोलाहरूमा पनि पानीको बहाव कम हुँदै गएको छ। अब जनजीवन विस्तारै सामान्य बन्ने अपेक्षा गरिएको प्रहरी उनले बताए। यद्यपि डुबानमा परेका सबै क्षेत्रमा अहिलेसम्म पनि प्रहरी जान नसकेको उनको भनाइ छ।
दाङ जिल्ला विपद व्यवस्थापन समितिका सूचना अधिकारी विनायक पौडेलका अनुसार वर्षा र डुवानले गर्दा जिल्लाको देउखुरी क्षेत्रमा मात्रै २ हजार ९ सय ५२ घर डुबानमा परेका छन्। त्यस्तै २ सय ३ घर भत्किएका छन्।
गढवा गाउँपालिकामा ६ सय ६० घर डुबानमा परेको र ८० घर भत्किएको, राप्ती गाउँपालिकामा ६ सय १० घर डुबानमा परेको र ६५ घर भत्किएको, लमही नगरपालिकामा ४ सय ६१ घर डुबानमा परेको र ४३ घर भत्किएको र राजपुर गाउँपालिकामा २ सय २१ घर डुबानमा परेको र १५ घर भत्किएको पौडेलले जानकारी दिए।
पानी पर्ने क्रम रोकिएसँगै बिस्तारै नदी र खोलाहरूको बहाव घट्दै गएकाले क्रमिक रूपमा जनजीवन सहज बन्ने अपेक्षा गरिएको पौडेलले बताए।