बुधबारदेखि लगातारको परिरहेको अविरल वर्षाका कारण सुदूरपश्चिममा जनजीवन प्रभावित बनेको छ।
प्रदेशका पहाडी जिल्लामा ग्रामिण सडक, विद्युत अवरूद्ध भएको छ भने जोखिम ठाउँमा पहिरो समेत खसिरहेको छ।
सडक अवरूद्ध हुँदा दसैंका लागि गाउँघर गएकाहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा फर्किन समस्या भएको बताइएको छ।
लगातारको वर्षाका कारण बाजुरा र अछामको मध्य भाग भएर बग्ने बुढीगंगा नदीको वरिपरिबाट पहिरो खसिरहेको छ। जसकारण बुढीगंगा नदी थुनिने खतरा बढेको सो क्षेत्रका स्थानीयहरू बताउँछन्।
बुढीगंगा थुनियो र बाढी आयो भने बाजुरा र अछाममा मात्रै नभएर कर्णाली तटीय क्षेत्रमा पनि क्षति हुनसक्ने जिल्ला प्रशासनले जनाएको छ।
जोखिम बस्तीमा बसोवास गर्नेहरूलाई समयमै सुरक्षित रहन प्रशासनले अनुरोध गरेको छ। यद्यपि अहिलेसम्म पहाडी क्षेत्रमा क्षति भएको भन्ने खबर आएको छैन।
प्रदेशको तराईका जिल्ला कैलाली र कञ्चनपुरका अधिकांस ठाउँ डुबानमा परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने झोलुंगे पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको छ। त्यहाँ जोखिम हुनसक्ने भन्दै सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ।
धनगढीका अधिकांश बस्तीहरू डुबानमा परेका छन्। अकासे पानी जमेर उपमहानगरपालिकाको वडा नम्बर १ देखि ८ सम्मका सयौं घरमा पानी पसेको छ। घरभित्रै पानी भरिन थालेपछि नगर प्रहरी, सफाइ कर्मचारी र मेयर गोपाल हमालको सचिवालयको टिम सहयोगका लागि खटिएको छ।
धनगढी डुबानमा पर्नुका कारण अनेकौं छन्। खोलानाला मिचेर पर्खाल, घर लगायतका संरचना बनाइनुले पानी बग्न नपाएर डुबान हुने गरेको धेरैको तर्क छ। यस्तै नयाँ सडकहरू पुराना घरको सतहभन्दा बढी नै अग्ला छन्। अग्ला सडकका किनारमा बनेका नाली साना र फोहोर थुप्रिएर जाम हुनाले विगतदेखि नै आफ्नो घर डुबानमा पर्ने गरेको धनगढी बसपार्क पछाडि बस्ने पदम जोराको भनाइ छ।
धनगढीमा अव्यवस्थित तरिकाले बनेका घरहरू पनि डुबानमा परिरहेका छन्। यस्तै अकासे पानी भण्डार हुने तालतलैयाहरू वर्षाैं पहिलेदेखि मिचेर संरचना बनाइएकाले पनि पानी घरतिर बग्ने गरेको छ।
'नाला अतिक्रमण तोड्नुपर्यो। सुरूदेखि निकाससम्म मेयरले ध्यान दिनुपर्यो। अरू नेता पनि भोट माग्न आउनेले अहिले हेर्न आउनुपर्यो। सर्प र कीराको डर, एकतले घरमा पानी जमेर खाना पकाउन सकिने अवस्था छैन,' जोराले भने।
अहिलेको मात्रै होइन, बर्सेनिका समस्याका रूपमा डुबान नियन्त्रण गर्ने मुद्दा धनगढी उपमहानगरले कहिलेसम्म पूरा गरिसक्छ भन्ने पर्खाइमा छन् नगरबासी।
कैलाली जिल्लाभित्र वर्षाका कारण भएको क्षतिको विवरण पाउन स्थानीय प्रशासनलाई सकस भइरहेको छ।
कैलाली प्रशासनले जिल्लाका १३ वटै पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत विपद व्यवस्थापनको क्षेत्रमा कार्यरत पदाधिकारीलाई क्षतिको विवरण पठाउन आग्रह गर्दै आए पनि कहीँकतैबाट वितरण पाउन नसकेको जिल्ला प्रशासन कार्यालय सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।