दसैं भर्खरै सकिएको छ। चाडवाडसँगै वर्षायाममा लगाएको धानबाली पाकेर भित्र्याउने बेला हुँदै गर्दा किसानहरूमा यति बेला अर्को उत्साह थपिएको छ।
धानबाली पाकेर पहेँलै खेत हुँदा मौसमले भने किसानहरूलाई खासै साथ दिएको छैन। पाकेको धान काटेर भित्र्याउने बेला झरी पर्दा बाली खेतमा लत्रेको छ। मौसमकै कारण किसानहरूमा धान सम्हाल्ने चटारो थपिएको छ।
तैपनि कतिपयले ओभानो ठाउँको धान उठाउन थालेको देखिन्छ।
ललितपुरको भैंसेपाटी नजिकै रहेको खेतमा सोमबार यस्तै दृश्य देखियो। फाँटहरू पाकेको धानले सुन्दर देखिएका थिए।
किसानहरू पहेँलो धानखेतका बीचमा थिए। कोही धान काट्दै त कोही ढलेको धान हिलोबाट बचाउन उठाउँदै गरेका।
केही किसान ओभानो ठाउँको धान झाट्दै थिए भने कोही केलाउँदै। केही किसान धान बोकेर घर लैजाँदै थिए। कोही भने धानको बाला सम्हाल्दै।
हेरौं केही तस्बिरहरूः