हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार आउन अब एक सातामात्रै बाँकी छ। तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ।
बोलाछेँ, ठिमी, ब्यासी, पोटरी स्क्वायरलगायत स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा, पालाचा (पाला) बनाइँदै गरेको देख्न सकिन्छ।
काठमाडौं उपत्यकामा माटोका सामानको लागि प्रख्यात भक्तपुरको पोट्री स्क्वायरका कुमालेहरूलाई भ्याइनभ्याई हुन थालेको छ।
पालाको व्यापार तिहारमा अत्यधिक हुने र तिहारपछि अत्यन्त न्यून हुने भएकोले पोट्री स्क्वायरका प्रायः सबै कुमाले भाँडा बनाउन व्यस्त छन्।
दीयोको प्रयोग तिहारमा मात्र हुने होइन। बाह्रै महिना खपत भइरहन्छ, तिहारमा अलिकति माग बढ्नेमात्र हो। त्यही भएर बजारमा जतिसुकै झिलिमिली बत्ती आए पनि दीयोको माग नघट्ने व्यवसायीहरू बताउँछन्।
तिहारमा मात्र एक जनाले राम्रोसँग पाला बनाएर बेचे ५०-६० हजारसम्म कमाउने गरेको व्यवसायीको अनुभव छ। तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै बिक्री हुने गरेको छ।
पाला बनाउन झ्याउ हुने र पैसा कम आउने भएकोले धेरै कुमालेहरूले पालाभन्दा अरू चिज बनाउनतर्फ लागिसकेका छन्।
माटोको भाँडो बनाउन झन्झटिलो हुने भएकाले पछिल्ला पुस्ताले बिस्तारै यो पेसा छोड्दै गएका छन्।
व्यवसायीहरूका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्यधिक हुने गरेको छ।
दीपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भए पनि विगतका केही वर्षयता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रममा बढेको छ ।
सुरक्षाको दृष्टिकोणले समेत पाला उत्तम मानिने गरिन्छ। आगलागी नहुने भएकाले माग बढेको जानकारहरू बताउँछन्।
तिहारका लागि माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामग्रीको माग उच्च हुने गरेको छ।