दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा विभत्स हत्या गरिएका किशोर-किशोरी हत्याकाण्ड अनुसन्धान गर्न पक्राउ परेका केहीमाथि पोलिग्राफ परीक्षण गरिने भएको छ।
स्थानीय १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्य स्थानीय जंगलको चिरोमा हत्यापछि शव माटोले पुरेको अवस्थामा असोज ३० गते फेला परेका थिए।
कात्तिक १ गते उनीहरूको शव तुलसीपुर–१२ सितलपुरस्थित बबई नदी घाटमा एकैसाथ अन्त्येष्टि गरिएको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले पक्राउ परेकाहरूमध्ये दुई जनामाथि बुधबार पोलिग्राफ टेष्ट गर्न थालिएको जानकारी दिए। प्रहरीले मंगलबार नै पोलिग्राफ ल्याइसकेको थियो।
रोशनी र शरदको शव फेला परेको दिन असोज ३० गते पक्राउ परेका हेटौंडाका टिपर चालक र उनको बयानका आधारमा पक्राउ परेका सल्याका उनका साथीमाथि पोलिग्राफ टेष्ट गरिने प्रहरीले बताएको छ।
पोलिग्राफ टेष्टको प्रयोगपछि उनीहरूले झूट बोले-नबोलेको पत्ता लगाउनु सहज हुने प्रहरी अधिकारीको विश्वास छ।
शरदका साथी पक्राउ
प्रहरीले बुधबार बिहान हत्या गरिएकामध्ये शरदका मिल्ने साथीलाई पक्राउ गरेको छ।
पछिल्लो समय पक्राउ परेका शरदका साथी र उनले एउटै फेसबुक आइडी चलाउने गरेको तथ्य खुलेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
‘शरद र आज हामीले नियन्त्रणमा लिएका उनका साथीले एउटै फेसबुक आइडी प्रयोग गर्ने गरेको तथ्य फेला पर्यो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘कतै दुई व्यक्तिले एउटै फेसबुक आइडी चलाउँदा उनैले शरदका सूचना त लिक गरे कि ? भन्ने आशंका उब्जिएको छ।’
यद्यपि प्रहरीले कुकुरको सहयोगमा मंगलबार स्थानीय जंगलमा फेला पारिएका रोशनी र शरदले प्रयोग गर्ने मोबाइल अनुसन्धानका लागि काठमाडौं पठाएको जानकारी दिएको छ।
‘हामीले हिजो नै फेला परेका मोबाइल काठमाडौं पठाइसक्यौं,’ एक प्रहरी अधिकारीले भने, ‘आज ती मोबाइल खोलेर हेरेपछि घटना अनुसन्धानका लागि केही थप सुराक मिल्ने आशा गरेका छौं।’
घटना अनुसन्धनमा सहयोग पुगोस् भनेर बाँकेको कोहलपुरबाट असोज ३० गते तालिम प्राप्त कुकुर तुलसीपुरमा ल्याइएको छ।
रोशनी र शरद २७ गते राति बेपत्ता भएका थिए। शरदकी मावली हजुरआमाले २८ गते स्थानीय दमारगाउँ प्रहरी चौकीमा नाति हराएकोबारे निवेदन दिएकी थिइन्।
उनीहरूको शव तीन दिनपछि असोज ३० गते एकै ठाउँमा चिरोमा फालेको अवस्थमा फेला परेको थियो।
सम्बन्धित समाचार:
रोशनी र शरदको एकै साथ अन्त्येष्टि, कुकुरले भेटाएको थियो फोन
एकै ठाउँमा जल्ने भए रोशनी र शरदका चिता
फरेन्सिक विज्ञ झिकाएर रोशनी र शरदको शव पोष्टमर्टम गरिने
रोशनी–शरद हत्याकाण्ड: टिपर चालकको बयानका आधारमा प्रहरी अनुसन्धान केन्द्रित
मृत फेला परेका किशोर-किशोरीको टाउकोमा गहिरो चोट
दाङमा किशोर-किशोरीको शव फेला: शंकास्पद एक पक्राउ
दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला