मोटरसाइकल दुर्घटना परी अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा परी सन्धिखर्क नगरपालिका वडा नं. १ का २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजालले सेतोपाटीलाई बताए।
डिएसपी रिजालका अनुसार घटना बिहीबार राती ११ बजेतिरको हो। मृत्यु भएका दुबै जना प्रदेश नम्बर २-०३८ प ५०३२ नम्बरको मोटरसाइकलमा सवार थिए।
सँगै दुर्घटनामा परेको बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क-२ का ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइते दुबै जनाको बुटवलस्थित मर्सिटी हस्पिटलमा उपचार जारी रहेको छ। घाइतेमध्ये पराजुलीको अवस्था सामान्य रहेको डिएसपी रिजालले बताए।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको धावन मार्गबाट दुई मोटरसाइकल झन्डै एक सय मिटर तल खसेको अवस्थामा फेला परेको डिएसपी रिजालले जानकारी दिए।
तीव्र गतिका मोटरसाइकल रातीमा बाटो बिराएर खसेको हुन सक्ने अनुमान भइरहेको डिएसपी रिजालले बताए।
‘एउटा मोटरसाइकल गुडेकै बाटोमा अर्को मोटरसाइकल सँगसँगै गएको र दुबै मोटरसाइकल एक सय मिटर तल खस्न पुगेको जस्तो देखिएको छ,’ डिएसपी रिजालले भने, ‘चालकले मदिरा सेवन गरेको हुन सक्ने आशंका भइरहेको छ।’
मृतक दुबै जनाको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको उनले जानकारी दिए।