विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले छठ पर्वको तयारीबारे जानकारी लिन घाट निर्माण हुने नहर र खोलाको अनुगमन गरेका छन्।
प्रमुख कोइरालाको नेतृत्वमा आज बिहान उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले महानगरले गरेको सरसफाइ, घाटको तयारीलगायतको अनुगमन गरेको हो।
टोलीले विराटनगरको रानी नहर, शुक्रबारे नहर, पिचरा नहर, केसलिया नहरसहित सिङ्घिया खोलाको अनुगमन गरेको थियो। सो क्रममा रानी नहरमा बगाएर ल्याएको फोहोर तत्काल हटाउन प्रमुख कोइरालाले विभागीय कर्मचारीलाई निर्देशन दिएका थिए।
अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सरसफाइ गरिएका कारण छठ पूजा गर्न सहज भएको बताएका थिए। उनीहरूले हरेक वर्ष यसरी नै सफाइ गरिदिन आग्रहसमेत गरेका थिए।
स्थानीयले महानगरले छठलाई उच्च महत्व दिएर नहर र खोलाको सरसफाइ गरेकामा धन्यवादसमेत दिएका थिए। प्रमुख कोइरालाले महानगरले छठ पर्वलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताए।