जुम्लामा अवरूद्ध विद्युत सेवा दुई सातापछि सञ्चालनमा आएको छ।
गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले बिगारेका संरचना पुनः निर्माण गरिएपछि सेवा सञ्चालन भएको हो।
बाढीपहिराका कारण बिजुली बिग्रिदा जुम्लाका झण्डै तीन हजार ग्राहक अन्धकारमा बस्न बाध्य भएका थिए।
पहिराले कर्णाली राजमार्ग बन्द हुनुका साथै विद्युत सेवासमेत अवरूद्ध भएको थियो। कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन जोडिएको छ।
जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल ढलेका थिए। बिजुलीको तार लथालिंग अवस्थामा थिए।
जसकारण विद्युत् आपूर्ति हुन सकेको थिएन। नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले भने, ‘निरन्तरको कामले बिजुली बाल्न सफल भएका छौं। ढिलै भए पनि प्राधिकरणको बत्ती बलेको उपभोक्ता खुसी छन्। क्षति भएको स्थानमा मर्मत सकिएपछि अहिले जुम्लामा सबै स्थानमा विद्युत आपूर्ति भएको छ।’
बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति पुर्याएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवी साना जलविद्युत आयोजनाको बिजुलीले जुम्ला सदरमुकाम खलंगामा काम चलाइँदै आएको थियो।