दमक र उर्लाबारीलाई छुट्याउँदै बग्ने मावा खोलाले झापा र मोरङको सीमालाई छुट्याउँछ। तर, भौगोलिक अवस्थिति यस्तो छ कि मावावारी (झापातिरबाट पारि) पनि झापाको भू-भाग छ। दमक नगरपालिका १० को केही भाग वारिपट्टि छ। त्यहीँका बासिन्दा हुन्, धनबहादुर श्रेष्ठ।
दुई जिल्ला छुट्याउने मावा खोलाको किनार आइतबार साँझदेखि धपक्कै बलेको थियो। छठ पर्वको उल्लासमा रमाइरहेका श्रद्धालुहरूले लगाएका झिलिमिली बत्तीले खोला किनार उज्यालो थियो। छठको त्यही उज्यालोमा रमाउन साथीहरूसँग गएका थिए धनबहादुरका एक्ला छोरा दियुष श्रेष्ठ।
तर, धनबहादुर र उनकी पत्नी शुभद्राका लागि खोला किनारको उज्यालोकै बीचबाट अन्धकारतुल्य खबर आयो। छठ पूजा आसपास उनीहरूका १४ वर्षका छोरा दियुषलाई छुरा हानिएको खबर अपत्यारिलो थियो। अधिक रक्तस्राव र गहिरो चोटका कारण उपचारकै क्रममा सोमबार बिहान उनको निधन भयो। यतिबेला दमक १० को श्रेष्ठ निवासमा बा–आमा मुर्छित अवस्थामा छन्। उनका दुई जना दिदीहरू उस्तै हालतमा छन्।
‘यहाँ कसैका आँखा ओभाना छैनन्’, दमक १० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले भने, ‘त्यति कलिलो बच्चालाई छुरा हानेर मारिएको अपत्यारिलो घटनाले हामी सबै स्तब्ध छौं।’
यो घटनामा स्तब्ध पार्ने अर्को पाटो पनि छ, मोरङ प्रहरीले सोमबार घटनामा संलग्नहरूलाई पक्राउ गरेको छ।
पक्राउ गरेका पाँचै जना १७ वर्ष र त्यसभन्दा मुनिका किशोर छन्। प्रहरीले दियुषमाथि छुरा प्रहार हुनुको कारणबारे ‘पुरानो रिसइबी’ रहेको बताएको छ।
उनीहरू मृतक दियुषका साथी हुन् कि होइनन् खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।
१४ वर्षे बालकको पुरानो रिसइबी? ‘हो, त्यस्तै देखिन्छ’, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने ‘प्रारम्भिक अनुसन्धानबाट त्यही देखियो। विस्तृत के रहेछ, खुल्दै जानेछ।’
पक्राउ परेकाहरू को हुन् भन्नेबारे परिवार पनि बेखबर जस्तै छ।
‘प्रहरीले हामीलाई पक्राउ परेका मान्छेबारे केही भनेकै छैन’, मृतक दियुषका ठूलोबुवा रामकुमार श्रेष्ठले भने, ‘त्यसैले ती साथी हुन् कि को हुन् केही थाहा भएको छैन।’
रामकुमारका अनुसार मृतक दियुष मोरङको लक्ष्मीमार्गमा दिदीसँग बसेर कक्षा ८ मा पढिरहेका थिए। दुई दिदीका एक्ला भाइ उनलाई ठूली दिदी टीकाले आफूसँगै राखेर पढाइरहेकी थिइन्। घरमा बुबाआमासँग कान्छी दिदी दिया थिइन्।
भाइटीका मनाउन टीका भाइलाई लिएर माइतीघर पुगेकी थिइन्। भाइटीका सकेर टीका घर फर्कने बेलामा भाइलाई पनि ‘हिँड घर जाऊँ’ भनेको ठूलो बुवा रामकुमार सम्झन्छन्।
‘दिदीले जाऊँ भन्दा म छठ सकेरमात्रै आउँछु भनेको रहेछ’, रामकुमारले भने, ‘दिदीसँगै गइदिएको भए यस्तो हुन्थेन कि!’
आइतबार साँझ खाना खाइसकेपछि दियुष साथीहरूसँग छठपूजा घुम्न जाने भनेर साढे सात बजे निस्केका थिए। राति साढे १० तिर उनीमाथि छुरा प्रहार भएको खबर आएपछि श्रेष्ठ परिवारलाई झट्का लाग्यो। घाइते दियुषलाई तत्कालै उर्लाबारीको गोदावरी अस्पताल पुर्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगियो। त्यहाँ उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको थियो।