बाँकेकी १८ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानका एक युवकलाई पक्राउ गरेको छ।
बन्गाड कुपिन्डे नगरपालिका वडा नम्बर ३ का २० वर्षीय रेवन्त बुढा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
बुढाले बाँकेकी किशोरीलाई बिहेको प्रलोभनमा सल्यान पुर्याएर जंगलमा बलात्कारपछि हत्याको प्रयास गरेको खुलेको छ।
प्रहरीका अनुसार ३ महिनाअघि उनीहरूबीच सामाजिक सञ्जालबाट चिनजान र भेटघाट भएको थियो। त्यसपछि उनीहरूबीच फोनमा कुराकानी हुन थालेको थियो।
गत शनिबार बाँके पुगेका बुढाले किशोरीलाई आफ्नो गाउँ हेर्न जाऔं भन्दै किशोरीलाई सल्यानतर्फ लगेका थिए। उनले शनिबार मध्यरातमा जंगलमा लगेर किशोरीलाई बलात्कार गरेपछि हत्या गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोत बताउँछ।
बुढाले किशोरीलाई कुटपिट पनि गरेका थिए। किशोरीको अनुहारलगायत शरिरका विभिन्न भागमा चोट लागेको छ।
‘किशोरीमाथि कुटपिट पनि भएको रहेछ। निर्घात कुटेपछि किशोरी बेहोस भएको र मरेको भन्ने ठानेर झाडीमा फालेर बुढा फरार भएका रहेछन्,’ ती प्रहरी अधिकृतले भने।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सन्तोष खनालले गत कात्तिक १२ गते राति करिब ११ बजेतिर बुढाले ती किशोरीलाई बन्गाड कुपिन्डे नगरपालिका-१ माल्पे जंगलमा लगेर बलात्कार र कुटपिट गरेको अनुसन्धानबाट खुलेको बताए।
‘बलात्कार र कुटपिटपछि किशोरी मरेको भन्ने ठानेर उसले झाडीमा फालेर भागेको रहेछ। आइतबार बिहान किशोरीको होस खुलेपछि केही तल एक महिलाको घरमा पुगेर गुहार मागिन्,’ उनले भने।
ती महिलाले किशोरीको परिवारलाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। तत्कालै प्रहरी पुगेर उनको उद्धार गरेको थियो।
किशोरीलाई प्रारम्भिक उपचारपछि थप उपचार गर्न अस्पताल पठाइएको छ। बुढाविरूद्ध सोमबार जिल्ला प्रहरी कार्यालयमा किशोरीका परिवारका सदस्यले जाहेरी दिएका थिए। बुढाविरूद्ध बलात्कार र ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
घटना बुढाले योजनावद्ध रूपमा घटाएको देखिएको प्रहरीको भनाइ छ। आरोपित बुढालाई बन्गाड कुपिन्डे १ सल्लीबजारबाट प्रहरीले आइतबार पक्राउ गरेको थियो। उनी बसको टिकट काटेर काठमाडौं जान लागेका थिए। उनलाई प्रहरीले सोमबार जिल्ला अदालत सल्यान उपस्थित गराएको छ। उनलाई ५ दिन थुनामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।