पश्चिम नवलपरासीको सुस्तामा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ।
सुस्ता गाउँपालिका-४ नर्सही गोकुलनगरका स्थानीय युवाहरू पिकनिक खाएर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन्।
सुस्ताको वडा नम्बर ३ र ४ को बीचमा पर्ने थुम्कोमा सोमबार दिउँसो पिकनिक खान गएका सात जना युवाहरू डुंगा चढेर फर्किँदै थिए। सोही क्रममा बिगेट घोला (कुलोभन्दा ठूलो र खोलाभन्दा सानो पानी जमेको ठाउँ) मा डुंगा पल्टिएर दुर्घटनामा परेको सुस्ता गाउँपालिकाका निवर्तमान अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।
पिकनिक खान गएका सात जनामध्ये दुई जना पैदलै फर्किएको र पाँच जना डुंगा चढेर फर्किने क्रममा दुर्घटनामा परेको उनले बताए।
घोलामा डुंगा अनियन्त्रित भई पल्टिदा पाँचै जना डुबेकामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन्। पाण्डेका अनुसार उनीहरूको अवस्था गम्भीर छ।
घाइतेहरूको बर्दघाटस्थित चौपत्ता अस्पतालमा उपचार भइरहेको पाण्डेले जानकारी दिए। घाइते र मृतक युवाहरू १८ देखि २० वर्ष उमेरका छन् भने उनीहरूको नामथर खुल्न सकेको छैन।